सन्दर्भ ः पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस ‘दिव्योपदेश’

पुष्करराज रेग्मी
गोरखाका राजा नरभुपाल शाहका जेष्ठ सुपुत्र पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ पौष २७ गते भएको थियो । वि.सं. १७९९ चैत्र २५ गते उनी गोरखाका राजा भएका थिए र एकीकरणको अभियानमा वि.सं. १८२५ इन्द्रजात्राको दिन काठमाडौं उपत्यका हात पारेपछि उनी विशाल नेपालका राजा भएका थिए ।
टुक्रिएको नेपाललाई एकीकरण गरी सम्पूर्ण नेपालीलाई एकताको माला भित्र समेटेकाले उनलाई हामी बडा महाराजधिराज पृथ्वीनारायण शाह भन्दछौ । हुनत २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनले नेपालमा राजतन्त्रको अन्त्य गरिसकेको छ, तर पनि राष्ट्रिय एकताको सवालमा हरेक वर्ष पौष २७ गतेका दिन हामी पृथ्वीनारायण शाहलाई सम्झन्छौ । वि.सं. १८३१ माघ १ गतेका दिन पृथ्वीनारायण शाहको देहावसन भयो ।

सोही वर्षको पौष महिनामा नुवाकोटमा रोगले थला पर्दा पृथ्वीनारायण शाहले आफ्ना आफन्त र भारदारहरुलाई बेलाएर महत्वपूर्ण अर्ति उपदेश दिएका थिए । जसलाई हामी दिव्योपदेश भन्दछौ जसको सार संक्षेप निम्नानुसार रहेको पाइन्छ ।

१. गाई, ब्राहमण, अतिथि, फकिर, देविदेवताको मान्यता राख्नाले सरस्वतीको बरदान प्राप्त हुन्छ र जय अवश्य हुने छ ।
२. लमजु· भनेको भ्यागुतो हो र गोरखा भनेको सर्प हो । हाम्री तीनमाता बाट हामी पाँच पाण्डव अवतारको जन्म भएको हो ।
३. बाहुनको सवार बयल पातक हुन्छ । ठकुरीको सवार सिंह पछाडी दगा रहन्छ । मगरको सवार टाँगन घोडा ढिलो हुन्छ । खसको सवार तुर्की घोडा चाँडो हुन्छ । यसर्थ सैन्य शक्तिमा विचार गर्नु ।
४. तिम्रो मनपेटमा बसेको गोप्य कुरो अरुले बोलिदियो भने उसलाई नजिक बनाई काम फत्ते गर्नु ।
५. दुनियाँहरु जोदेखि खुसी रहन्छन् उसैलाई कार्यसम्पादनको जिम्मेवारी दिने गर्नु ।
६. संकल्पको समयमा साइत जुराई हिड्नु ।
७. ककनी र शिवपुरीमा ठाना हाली मोर्चालाई राखेथ्यौं । (अर्थ ः पूर्व तयारीका साथ बस्नुपर्दछ)
८. नेपाल राज्य दुई ढुङ्गाको तरुल हो । यसर्थ चीन बादशाह सँग पनि सम्बन्ध राख्नु, दक्षिण समुद्र बादशाहसँग पनि सम्बन्ध राख्नु तर दक्षिणकासँग बडो होसियार रहनु ।
९. राजा रामशाहले बसालेको स्थिति, जयस्थिति मल्ल र महेन्द्र मल्लले बसालेको स्थिति परिवर्तन गरी नयाँस्थिती बाँध्ने अभिलाषा थियो ।
(तर अधुरै रहने भयो भन्ने गुनासो)
१०. आ–आफ्ना जातविशेषका कर्मगर्न दिएर लोकस्थितीको रक्षा गर्नु ।
११. यी तीन शहर (काठमाडौं, ललितपुर, भक्तपुर) भनेको चिसो ढुङ्गो हुन् खेलखाल मात्रै ठूलो छ, बुद्धि छैन ।
१२. विदेशका महाजनलाई स्वदेशी नाका गढ मास्तिर आउन नदिनु, विदेशका महाजनहरु हाम्रा मुलुकमा आए भने दुनियाँलाई कङ्गाल गरी छाड् छन् ।
१३. विदेशका कपडा लगाउन मनाही गरिनु, आफ्ना देशमा कपडा बुन्न जान्नेलाई नमूना दिई सघाउनु, यसो भएमा नगदै विदेशमा जाँदैन ।
१४. आफ्नो देशको जिनिस जडिबुटी विदेश लैजानु र नगद आर्जन गर्नु । प्रजा (जनता) मोटा (धनी) भए दरबार (सरकार) बलियो रहन्छ ।
१५. ठेक्काका कर उठाउन कसैलाई नदिनु ।
१६. राजा (सरकार)का भण्डारहरु भनेका रैतान (जनता) हरु हुन् ।
१७. सिपाही, भाई भारदारलाई सोखमा बस्न नदिनु, यस्तो भएमा सर्वनाश हुनेछ ।
१८. यो मुलुक छोटा बडा सबै जातको साझा फूलबारी हो ।
१९. आफ्नो कूलधर्म नछोड्नु, छत्तिसै जातको यो असल हिन्दुस्थान
(नविटुलिएका हिन्दुहरुको देश) हो ।
२०. नूनको कदर गर्नेलाई शाखासन्तान सम्म हेरिदिनु ।
२१. आफ्नो नून गुनका सोझा सेवकले भुलचुकविराम गरेतापनि आफुले सजाय नदिनु, अन्तै झोसिदिनु जिउ जोगाए ठिकै छ, मरिगए बेसै हुन्छ ।
२२. राजाले ठूलो नियानिसाफ हेर्नु, अन्याय मुलुकमा हुनै नदिनु ।
२३. नियानिसाफ बिगार्ने भनेका घुस दिने र घुसलिने हुन् । यी दुवैको धन र जीउ हरि लिएपनि पाप हुदँैन । यी राजा (देश)का महाशत्रु हुन् ।
२४. सिपाहीलाई पायक पर्ने खान पुग्ने गरी जग्गा दिनु ।
२५. लडाइमा जस पाएकालाई माथि उकालिदिनु (अर्थात कर्मचारीहरु कार्यसम्पादनको आधारमा बढुवा गरिदिनु)
२६. (लडाईमा) म¥यो भने छोरा खुँडा हान्ने भएपछि जागीरमा राख्नु ।
२७. राजा चतुर भई सिपाही र रैतिलाई हातहात गरी राख्नु जसबाट हुलदंगा हुन पाउँदैन ।
२८. पूर्व पश्चिमका खस बाहुन–बाहिरियाहरु) लाई दरबारमा पस्न नदिनु, किनकी उनीहरुले बेथिति गराउछन् ।
२९. पुराना सेवकलाई हर्दम साथ लिई राख्नु ।
३०. रुपैयाँ पैसाको कारोबार शुद्ध चलाउनु ।
३१. न्याय शास्त्र बमोजिम अदालत चलाउनु न्यायलयबाट आएको आम्दानी धर्मकर्ममा लगाउनु ।
३२. खानी भएका ठाउँमा गाउँ भएपनि, गाउँ अन्तै सारेर खानी चलाउनु, गह्रो बन्ने जग्गामा घर भएपनि घर अन्तै सारी कूलो काटी खेत बनाई आवादी गर्नु ।
३३. विदेशी नाचगानको बहिस्कार गर्नु विदेशीको भर नपर्नु किनकी हरि यले दगा गर्दछ । बरु तीनै शहर नेपालका नेवारहरुको नाचगान हेर्नु, यिनीहरुमा खर्चेका सोख सयल, साम, दाम दण्ड भेद आफ्नै देशमा रहन्छ ।
यसो भए आफ्नो देशमा अगम
(सुरक्षित) रहन्छ ।
आज भन्दा करिब २ सय ४४ वर्ष पहिले दिइएको यो दिव्योपदेश नेपालको लागि अहिले पनि त्यत्तिकै काम लाग्दो छ । राजनीति, कुटनीति, परराष्ट्र नीति, अर्थनीति, सामाजिक नीति, सँस्कारनीति लगायतका सबैक्षेत्रमा दिव्योपदेश अति उपयोगी रहेको छ । यसलाई विना पूर्वाग्रही अहिलेका जननेताहरुले मनन गरी सोही अनुसार कार्यसम्पादन गरेमा पक्कै पनि स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, स्वर्णिम र समृद्व नेपालको निर्माण हुनेछ । राष्ट्रिय एकताका प्रतिक पृथ्वी तिमीलाई शब्द श्रद्धा सुमन अर्पण गर्दछु ।
(रेग्मी साहित्यकार, प्राध्यापक, मानव अधिकारकर्मी र सामाजिक व्यक्तित्व समेत हुन् ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *