श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु, डाक्टरको सुझाव– ‘अस्वस्थ मानिस व्रत नबस्नु’

रामचन्द्र रायमाझी
पाल्पा, माघ ७/प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु भएको छ ।
स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वासका साथ प्रत्येक वर्ष घर–घरमा हिन्दु धर्मग्रन्थ स्वस्थानीको कथा सुनाउने गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । एक महिनासम्म नारीहरूले अत्यन्त श्रद्धापूर्वक गर्ने स्वस्थानीको व्रत सत्ययुगमा हिमालयकी छोरी पार्वतीले महादेवसंग विवाह गर्न पाउँ भनेर बालुवाको शिवलि· बनाएर भोकभोकै तपस्या गरेपछि त्यसबाट प्रवावित भई भगवान विष्णु उत्पन्न भएर पार्वतीको मनोकांक्षा पूरा भएको विश्वासमा अहिले पनि हिन्दु नारीहरुले एक महिनासम्म स्वस्थानी ब्रत बस्ने गरेको तानसेनका पण्डित होमनाथ न्यौपानेले बताए ।

उनका अनुसार ‘एक महिनासम्म यो विधिबाट व्रत बसी माघ शुक्ल पूर्णिमाका दिन १ सय ८ जनै, १ सय ८ सुपारी, १ सय ८ पान, १ सय ८ फूल, १ सय ८ रोटी, १ सय ८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।’ व्रतको सुरु दिन व्रतालुहरुले नदि किनारमा गएर नुहाइधुवाई गरेपछि हात खुट्टाका नङ काटेर शुद्ध हुने गर्छन् । अनि नदि किनारको बालुवाले शिवको मुर्ति स्थापना गरी नजिकैको जलले सन्ध्याकालिनमा पुजा गर्ने प्रचलन रहेको पण्डित न्यौपानेले जानकारी दिए ।
आइतबार नै व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिएका छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्ग सेवन गर्छन् । व्रतालु माघ शुक्ल पूर्णिमासम्म व्रत बसि नजिकका तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् । महिनाभर एक छाकमात्र खाएर ब्रत बस्नुपर्ने हुँदा ब्रतालुले आफ्नो स्वास्थ्यको भने ख्याल गर्न सुझाव दिन्छन् डाक्टरकहरु । अस्वस्थ मानिसले व्रत बस्दा झन् समस्या हुने भएकाले सुगर, ब्लडप्रेसर, ग्याष्टिकका रोगीहरुले व्रत बस्नै नहुने मिसन अस्पतालमा कार्यरत डा.रमेश कार्कीले बताए । उनले भने ‘मानिसको शरीरमा गुल्कोज र पानीको मात्रा कम भएमा समस्या उत्पन्न हुने भएकाले सकभर यस्ता खालका विरामीहरु व्रत बस्न उचित हुँदैन ।’ एकतीसअध्यायरहेको यस व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको छ । श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगब्याधी नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराज जस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *