शर्माको ‘नाचिरहन्छ कोही’ कृति सार्वजनिक

पाल्पा, असार ९/विगत ३३ वर्षदेखि स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मी रुक्मागत शर्माले लेखन क्षेत्रमा समेत अभिरुचि देखाएका छन् । शर्माले शनिबार आफ्नो दोस्रो साहित्यिक कृतिको रूपमा ‘नाचिहरन्छ कोही’ लघुकथा सङ्ग्रहको एक भव्य समारोहको आयोजना गरी सार्वजनिक गरेका छन् ।

कृतिको लोकार्पण गर्दै वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार नवराज लम्सालले शर्माको लघुकथामा समाज मनोविज्ञान, सामाजिक बहुलता, सामाजिक जटिलता, नारी स्वतन्त्रता, प्रेम कुण्ठा, मानव अधिकार लगायतका विविध विषय समेटिएको औंल्याए । ‘वर्तमान नेपाली साहित्यिक सिर्जनामा मस्तिष्क बढी खेलेको र हृदय कम खेलेको भेटिन्छ’, लम्सालले भने, ‘साहित्यमा देश, भुगोल, जाति, संस्कृति लेखिएन भने नेपाली मौलिकता जोखिममा पर्दै जानेछ ।’ यौन, गाली, गरिवी मात्र नलेखेर कवि समाजप्रति जिम्मेवार हुनुपर्नेमा लम्सालले जोड दिए । कृतिको समीक्षात्मक मन्तव्य राख्दै साहित्यकार पुष्कर आचार्यले मानवीय चिन्तन र सोंच अभिव्यक्त गर्न लघुकथा सफल भएको जनाए । उनले कृतिमा घटनाको बैठानमा समस्या, शीर्षकको पुुनरावृत्ती, व्यवस्थापनमा केही प्राविधिक कमजोरी रहेको पनि औंल्याए । समीक्षक आचार्यले शर्माको कृति लघुकथा लेखनमा लाग्नेहरूका लागि उत्प्रेरक भएको भन्दै सर्जकले साहित्यको माध्यमबाट सामाजिक चरित्रको एक्सरे गरेको जनाए ।
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले लेखकका कृतिमा समाजका विम्ब झल्किने भएकाले कृतिकारमा परिपक्वता र निखारता झल्किनुपर्ने धारणा राखे । उनले व्यक्तिको विम्ब पनि कृतिले झल्काउने भएकोले मूल प्रवाहको लेखन र सामाजिक सचेतना जगाउने कृतिहरू लेखिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष डुलबहादुर कुँवर, साहित्यकार मन गहिरे, लुम्बिनी मेडिकल कलेज पाल्पाका कार्यकारी अध्यक्ष गोपाल पोखरेल, औषधी व्यवसायी संघ ५ नं. प्रदेश अध्यक्ष शिव ज्ञवाली, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा लगायतले शर्माको कृतिले नवसर्जकलाई लेखनमा उत्प्रेरणा जगाउने जनाए । धवल पुस्तकालयको प्रकाशन र साहित्यकार डा. शंकर गैरेको सम्पादन रहेको १३६ पृष्ठको कृतिमा ८० वटा लघुकथा सङ्ग्रहित छन् । धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्यालको अध्यक्षता, सचिव टंक पन्थको स्वागत र महासचिव राजेशकुमार अर्यालको सञ्चालनका कार्यक्रम चलेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *