विषादी परीक्षण सञ्चालनमा

हाम्रा संवाददाता
बुटवल, असार २६/देशभर बिषादी परीक्षणले चर्चा पाइरहेका बेला बुटवलमा भने विषादी परीक्षण सञ्चालनमा आएको छ । कर्मचारी अभावका कारण बन्द भएको बुटवलको विषादी परीक्षण एकाई (प्रयोगशाला)बुधबारदेखि सञ्चालनमा आएको हो । कृषि मन्त्रालयको सक्रियतामा तरकारी तथा फलफूलको नमूना जाँच्न सुरु गरिएको छ ।

संघीय संरचना अन्र्तगतको नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतमा रहेको कार्यालय एक वर्ष पहिला सञ्चालनमा आए पनि कर्मचारी समायोजनमा कर्मचारीहरु अन्यत्र गएपछि बन्द रहेको थियो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका वरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्री काजमा कार्यालय प्रमुखको रुपमा आएर तरकारी तथा फलफुलको नमूना परीक्षण थालिएको हो ।

खत्रीले फलफुल तथा तरकारीको नमुना संकलन गरी परिक्षण सुरु गरिएको जानकारी दिए । उनले आफु एक जना र कार्यालय सहयोग मात्रै रहेको कार्यालयमा कार्य गर्नको लागि कठीन रहेको समेत बताए । बुटवलमा सञ्चालनमा आएको विषादी परीक्षण प्रयोगशालाले नियमित रुपमा फलफूल तथा तरकारीको नमूना संकलन गरी त्यसको रिपोर्ट केन्द्र सरकारलाई बुझाउने छ । अहिले उक्त इकाइमा खत्री र एकजना कार्यालय सहयोगी मात्रै कर्मचारी छन् । जसले गर्दा काम गर्न कठिन रहेको खत्रीले बताए ।

‘एक जना मात्रै कर्मचारीले कसरी काम गर्नु, असाध्यै गाह्रो भएको छ, तैपनि सरकारले खटाएपछि काममा आएको छु,’ खत्रीले भने, ‘सहज रुपमा काम गर्न कम्तीमा पनि तीनजना प्राविधिक सहायक र नायब प्राविधिक सहायक आवश्यक पर्छ ।’ संघीय सरकारले आयातित तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएपनि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले भने बुटवल र नेपालगञ्जमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । सोही अनुसार पहिलो चरण्मा बुटवलको प्रयोगशाला पुनः सञ्चालनमा ल्याइएको र नेपालगञ्जको प्रयोगशाला समेत छिटै सञ्चालनमा ल्याउने तयारी गरिएको प्रदेश सरकारकी मन्त्री आरती पौडेलले बताइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *