विमानस्थल निर्माणका लागि तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका बीच सहकार्य हुने

पाल्पा, जेठ २९/विमानस्थल निर्माणका लागि तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका बीच सहकार्य हुने भएको छ । बुधबार तानसेनमा बसेको नगरपालिका र गाउँपालिको संयुक्त बैंठकले विमानस्थल निर्माणका लागि समन्वय गरेर जाने निर्णय गरेको हो । बैठकले जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि सरोकारवालाहरुको सहयोग लिई भौतिक पूर्वाधार र सम्पदा संरक्षणका लागि सहकार्य गरेर जाने निर्णय गरेको छ । तानसेनको मौलिक उत्पादन पाल्पाली ढाका, करुवा,बगनासे साँचो, घोरबन्दमा रहेका कुमाल समुदायलको पेशाको रुपमा रहेको माटोका भाडाँ संरक्षण तथा प्रवद्र्धनमा नगरपालिका र गाउँपालिका बीच सहकार्य हुने छ । नगर र गाउँपालिका भित्रको शैक्षिक गुणस्तर वृद्धिका लागि विशेष खालका कार्यक्रमहरु सञ्चालन गरिने, बढ्दो शहरीकरण र बसाईसराईलाई व्यवस्थित गर्न आवश्यक पूर्वधारको निर्माण तथा विकास गर्ने, आवश्यकता अनुसार स्थानीय तहहरुबीच संयुक्त अन्तरपालिका बैंठक तथा सहकार्यमा जोड दिइने नगर प्रमुख अशोक कुमार शाही र गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालद्वारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । बैंठकले अन्तरपालिकास्तरमा समन्वयका लागि तानसेन नगरपालिकाका प्रमुख उपप्रमुख, प्रवक्ता,बगनासकाली गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता दुवै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र थप १/१ जना दुवै तहका प्रमुखले मनोनित गरेको विज्ञ समेत समावेश हुने गरी संयुक्त कार्यदल गठन गरेको छ । बैंठक नगर प्रमुख शाहीको अध्यक्षतामा बसेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •