रामपुर नगर सरकारद्वारा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था पुरस्कृत

इमान सिं राना
पाल्पा(रामपुर), जेठ २३/
रामपुर नगरसरकारको स्वास्थ्य शाखाले खोप अभियानमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुलाई पुरस्कृत गरेको छ । विहिबार सम्पन्न पूर्णखोप सुनिश्चित नगरपालिका प्रमाणिकरण र घोषणा कार्यक्रमका बीच रामपुर नगरपालिकाका २ वटा स्वस्थ्य संस्था र ५ जना स्वस्थ्यकर्मीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुमा रामपुर नगरपालिकाका ९ स्वास्थ्य संस्था मध्ये गाँडाकोट स्वास्थ्य चौकी र गेझा स्वास्थ्य चौकी रहेका छन् । कर्मचारी तर्फ गाँडाकोट स्वास्थ चौकीका निशा सारु, दर्छा स्वास्थ्य चौकीका कृष्ण प्रसाद वाग्ले, रामपुर अस्पतालका धन बहादुर सारु, खालीवन स्वास्थ्य चौकीका अनिता कुमारी खड्का र गेझा स्वास्थ्य चौकीका श्रीकान्ति भण्डारी रहेका छन् ।

उनीहरुलाई पुरस्कृत गर्दै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य युवराज खनालले सरकारले स्वास्थ्यमा लगानी गरेपनि जनशक्तिको अभावका कारण स्वास्थ्य क्षेत्र अझै पछि परेको बताए । उनले मुलुक संघियता सुरुवाती चरणमा रहेकाले पनि सोचे अनुसारको व्यवस्थापन हुन नसकेको बताए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहेकाले गर्भअवस्था देखि नै खोप र पोषणमा ध्यान दिनु आवश्यक रहेको बताए । उनले स्वास्थ्य विनाको विकासको कुनै औचित्य नरहेको भन्दै नगरपालिकाले स्वस्थ्य क्षेत्रमा बजेटको कुनै कमी आउन नदिने बताए । साथै नगरलाई पूर्ण खोप सुनिश्चित कायम राख्न खट्ने कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दै जनचेतनाको लागि अझ सशक्त भएर लाग्न आग्रह गरे । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्य, रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकाल, रामपुर नगरपालिका विशेष समन्वय समितिका सदस्य राजु प्रसाद श्रेष्ठले रामपुर नगरपालिका स्वास्थ्यमा पछि परेको भन्दै त्यसको लागि सरोकारवालाहरु योजना बनाएर लाग्नु आवश्यक रहेको बताए । कार्यक्रममा गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले स्वस्थ्यकर्मीको समस्या र चुनौती सहित आफ्ना अनुभव राखेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत ओम प्रकाश पन्थीले नेपालले जिल्लाको समग्र खोपको अवस्थाको बारेमा जानकारी दिदै २०७० साल फागुन १३ गते पाल्पा जिल्ला पूर्णखोप सुनिश्चत घोषणा भए पनि विभिन्न कारणले छुट्न सक्ने भन्दै निरन्तरताको लागि कार्यक्रम गरिएको बताए । रामपुर नगरपालिका भित्रका स्वस्थ्य संस्थाहरुले पनि गत बैशाखमा विविध कारणले खोपमा नियमितता नभएका शिशुहरुको लगत संकलन गरी स्वास्थ्य स्वयम सेविकाको सहयोगमा छुटेको खोप प्रदान गरेका थिए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुङ्गानाको स्वागत र उपसंयोजक गिरिराज घिमिरेको सञ्चालनमा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *