रामपुरमा अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला सेवा सुरु

इमान सिं राना
पाल्पा(रामपुर), चैत २४/
शहर उन्मुख जिल्लाको रामपुरमा अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । एशियन डाईग्नोष्टिक ल्याब्रोटोरी प्रालिले विश्व स्वास्थ्य दिवसको अवसरमा रामपुरमा शाखा विस्तार गरी अत्याधुनिक प्रविधि र प्राविधिकको साथमा सेवा शुभारम्भ गरेको हो । २०७४ साल देखि बुटवल ६ तिलोत्तमापथबाट प्रयोगशाला सेवा प्रदान गर्दै आएको ल्याब्रोटोरीले पहिलो शाखाको रुपमा रामपुर ५ हुलाकटोलमा शाखा विस्तार गरेको हो । शाखाको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले उच्चस्तरको प्रयोगशाला नहुँदा स्थानीयहरुमा ल्याव परिक्षण नगरेरै सिधै औषधि सेवन गर्न बाध्य रहेको बताए । उनले ल्याव टेस्टको महत्व नबुझ्दा जथाभावि औषधी प्रयोग बढेको भन्दै त्यसको बारेमा सचेत गराउनु आवश्यक रहेको बताए । उनले अत्याधुनिक सुविधा सहितको सेवा रामपुरमै आउनु गौरवको कुरा भएको भन्दै अन्य स्वस्थ्य संस्था सँग मिलेर स्तरीय सेवा प्रदान गर्न आग्रह गरे । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव शान्ताबहादुर श्रेष्ठले स्वास्थ्य क्षेत्र भनेको व्यवसायसंगै सामाजिक उत्तरदायित्व बहन गर्ने क्षेत्र भएको बताए ।
रामपुरमा ५० शैयाको अस्पताल भवन निर्माणको क्रममा रहेको बताउँदै आगामी दिन यसले अस्पताल सञ्चालनको लागि थप टेवा दिने बताए । त्यस्तै समाजसेवी राजुप्रसाद श्रेष्ठले रामपुरमा स्वस्थ्य क्षेत्रमा धेरै प्रयास भए पनि सुधार उन्मुख प्रतिस्पर्धा हुन नसक्दा टिकाउ हुन नसकेको बताउँदै प्रयोगशाला अत्याधुनिक सुविधा सहित आएकाले पनि सफल हुने बताए । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई र नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्रप्रसाद भट्टराईले सामान्य परीक्षण बाहेक अन्य प्रयोगशाला सेवा लिन बुटवल, पोखरा लगाएतका शहरमा जान बाध्य गण्डकी बेसी क्षेत्रका जनतामा सहजता ल्याएको बताउँदै सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा एशियन डाईग्नोष्टिक ल्याब्रोटोरी प्रालिका सञ्चालक सदस्य तोमलाल गिरिले प्रविधिलाई गाउँका जनताको पहुँच सम्म पु¥याउनु पर्छ भन्ने मान्यताका साथ शाखा सञ्चालनमा ल्याएको बताए । उनले सामान्य रोग देखि क्यान्सर मार्कर टेष्ट सम्मको सेवा प्रदान गरिने जानकारी दिए । एशियन डाईग्नोष्टिक ल्याब्रोटोरी प्रालिका सञ्चालक सदस्य विनित रेग्मीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रम डिल्लेश्वर श्रेष्ठले गरेका थिए । यस्तै शिविर शुभारम्भको अवसर बैशाख पहिलो हप्ता सम्म विशेष छुटमा परिक्षणको व्यवस्था गरिएको एशियन डाईग्नोष्टिक ल्याब्रोटोरी प्रालिले जनाएको छ । निशुल्क सुगर र किड्नीको जाँच सेवा, ४ सय ५० रुपैयाँमा थाइराइडको जाँच, होलबडी चेकअप, क्यान्सर मार्कर टेष्ट लगाएतका सेवा ५० प्रतिशत छुटमा प्रदान गरिने व्यवस्था गरिएको एशियन डाईग्नोष्टिक ल्याब्रोटोरी प्रालिका सञ्चालक राजकुमार श्रेष्ठले बताए ।

  • 172
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    172
    Shares