रामतुलसीको स्वर्ण जयन्ती : समापन गर्न प्रचण्ड आउने

इमानसिं राना
पाल्पा (रामपुर) मंसिर २१/
जिल्लाको पूर्वी क्षेत्रमै पहिलो माध्यमिक विद्यालयको रुप स्थापित रामतुलसी माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाउने तयारी गरेको छ । विद्यालयले यहि मंसिर २४ देखि पुस १ गते सम्म स्वर्ण महोत्सव मनाउन लागेको हो । स्वर्ण जयन्तीलाई सफल पार्न विद्यालयले आफ्नो तयारीलाई तिव्रता दिएको छ । विद्यालयले मिति नजिकिदै जाँदा आफ्ना गतिविधिलाई थप क्रियाशिल बनाएको छ । भवन रङ्ग, रोगन, स्वर्ण स्मारक निर्माण संगै स्मारिका प्रकाशन, मञ्च व्यवस्थापन, शैक्षिक गतिविधि प्रदर्शन, झाँकी प्रर्दशनको तयारीलाई सशक्त बनाउँदै लगेको छ । साथै विद्यालयले सरोकारवाला निकाय र स्थानीय समुदाय सँगको समन्वय एवं छलफलाई अघि बढाएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिए । उनले रामतुलसी माध्यमिक विद्यालय पूर्वी क्षेत्रकै पहिलो हाईस्कुलको रुपमा रहेकाले सभ्य र भव्य रुपमा सफल पार्न लागि परेको बताए । विद्यालयले स्वर्ण जयन्तीलाई शैक्षिक उन्नयनको लागि अवसरको रुपमा लिएको उनले बताए । स्वर्ण जयन्तीको तयारीका लागि विद्यालयले विभिन्न उपसमिति गठन गरेर परिचालन गरेको छ । विद्यालयले मंसिर २४ गते वैदिक विधी पूर्वक स्वर्ण जयन्तीको शुभारम्भ गरी मंसिर २५ देखि २९ गते सम्म अन्तर विद्यालय स्तरिय विविध प्रतियोगिता गर्ने जनाएको छ । पुस १ गते समापनको दिन पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको उपस्थितिमा भव्य समारोह आयोजना गर्ने जनाएको छ । मुलुकको परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेका दहाललाई रामपुर क्षेत्रमा पहिलो पटक ल्याउन लागिएको हो । दाहालको आगमनले रामपुर क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने आशा लिइएको छ । विद्यालयले आफ्नो तयारी संगै प्रचार प्रसारलाई पनि तिव्रता दिएको प्रचार प्रचारप्रसार उपसमितिका संयोजक लेखनाथ शर्मा मरासिनीले बताए । वि.सं. २०२५ सालमा स्थापित विद्यालयले हाल सम्म हजारौ दजशक्ति उत्पादन गरिसकेको छ । विद्यालयले हाल कक्षा १ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा र कक्षा ११÷१२ मा विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकी संकायका कक्षा सञ्चालन गर्दै आएको छ । साथै प्रविधिक धारको ३ वर्षे कृषि बाली विज्ञान अध्यापन हुँदै आएको छ । हाल विद्यालयमा पूर्व देखि पश्चिम सम्मका दुई हजार विद्यार्थी अध्ययन गर्दै आएको छन् ।

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *