रानीमहल ईकोपार्क निर्माणको कार्य अन्तिम चरणमा

कृष्ण पोखरेल
तानसेन, असार २६/प्रेमको प्रतिक रानीमहलमा घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी ईकोपार्क निर्माण भइरहेको छ । रानीमहल क्षेत्रमा हरियाली बगैचा सहित विभिन्न किसिमका फूल सहित ईकोपार्क निर्माणको काम भइरहेको हो । डिभिजन वन कार्यालय पाल्पाले ईकोपार्क निर्माण कार्यलाई अन्तिम रुप दिएको छ । पार्कमा हरियाली बनाउन नर्सरीको काम बाहेक अन्य भौतिक निर्माणको सम्पूर्ण काम सकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

रानीमहलको जग छेउमा खोलाबाटै पर्खाल उठाएर करीव २ रोपनी क्षेत्रफलमा माटो भर्ने काम पूरा भईसकेको छ । फूलहरुको लागि आवश्यक पर्ने मलिलो माटो भर्ने काम अन्तिम चरणमा पुगेको छ । नर्सरी तथा फलफुल विज्ञको सुझाव तथा मार्ग निर्देशनमा ईकोपार्कमा विरुवा लगाईने छ । पार्कमा नर्सनी राख्नका लागि गुप्त नर्सरी बुटवलले जिम्मा लिएको छ । यसले एक हप्ता भित्रमा नर्सरीको काम सक्ने जनाइएको छ । रानीमहलको सुन्दता बढाउदै, घुम्न आउने आन्तरिक तथा बाÞय पर्यटकहरुका लागि मन भुलाउने, बगैचामा उभिएर फोटो खिच्न ईकोपार्क महत्वपूर्ण रहने भएको छ । सुन्दर बगैचाको रुपमा विकास गर्न प्रदेश सरकारले ईकोपार्क निर्माणमा सहयोग गरेको हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश पाँचबाट स्विकृत कार्यक्रम डिभिजन वन कार्यालय पाल्पा मार्फत ईको पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

२० लाख रुपैयाँ बजेटमा प्रदेश सरकारको १६ लाख र उपभोक्ता समितिको ४ लाख रुपैयाँमा पार्क निर्माणको काम भएको डिभिजन वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेलले बताए । रानीमहल क्षेत्रको पर्यटकीय सम्भाव्यता र सडक पूर्वाधारबारे प्रदेश पाँचका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री लीला गिरी सहित भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रदेश सभा अन्तर्गतको उद्योग पर्यटन विकास समिति सभापति दधिराम न्यौपाने लगायतको टोलीले गत मंसिरमा स्थलगत अवलोकन गरेका थिए । उनीहरुले सडक अभावले पर्यटकको आकर्षण हुँदा–हुँदै कमी आएकाले यसको अनुगमन गरेका थिए ।

जनरल खड्ग शमशेरले आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा रानीमहल बनाएको इतिहासमा छ । दरबारको एकातर्फ बुर्जाको जग काली गण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, मन्दिर, बगैचा आदि रहेका छन् । ५६ फिट चौडाई, १ सय १२ फिट उचाइ भएको चारतले भवन १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवा सहितको निर्माण कार्य पूरा भएको थियो ।

महल जीर्ण भएपछि ०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पुरातत्व विभागले २ करोड ७२ लाख ३७ हजार २ सय ४७ रुपैयाँ लागतमा रानीमहलको पुनर्निर्माण गरेको थियो । पुनर्निर्माणपछि अहिले रानीमहल आकर्षक भएको छ । अहिले यहाँ दैनिक एक हजार भन्दा बढी पर्यटकहरु पुग्ने गरेका छन् । ईकोपार्क निर्माण पूरा भएपछि रानीमहलको सुन्दरतामा गहना थपिने छ । रानीमहलको सुन्दता बढाउन, गुरुयोजना अनुसारका अन्य पूर्वाधार निर्माणका कामहरु पनि सँग–सँगै लैजानुपर्ने जरुरी देखिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *