रविन स्मृति क्रिकेट प्रतियोगिताको उपाधी वालिङलाई

इमान सिं राना
पाल्पा(रामपुर),पुस १५/
रामपुर नगरपालिका ५ मटेरी ठूलो टारमा भएको तेस्रो रविन स्मृति खुल्ला क्रिकेट प्रतियोगिताको उपाधी रक एक्सआई वालिङले जितेको छ । युथ युनियन मटेरीको आयोजनामा गत विहिबारबाट भएको प्रतियोगिता अन्तर्गत फाईनल खेलमा राङ्गभाङ्ग ब्वाईज रामपुर ५ लाई १३ रनले पराजित गर्दै वालिङले उपाधी जितेको हो । टस जितेर व्याटिङ्ग गरेको वालिङ १५ ओभरको खेलमा १ सय ३ रन जोड्दै २ बल बाँकी छँदा अल आउट भएको थियो । १ सय ४ रनको लक्ष्य हासिलको प्रयासमा रहेको राङ्गभाङ्ग व्बाईज ९ विकेट गुमाउँदै ९० रनमा सिमित हुन पुगेको थियो । प्रतियोगिताको विजेता र उपविजेता समुहले क्रमश नगद २० हजार र १० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हातपारेको छ । पाल्पा र स्याङ्जाका १२ समुहको सहभागीता रहेको प्रतियोगिता अवधि वेस्ट बलर वालिङका प्रतिक गैरे, वेस्ट व्याटस् म्यान राङ्गभाङ्गका शरण मल्ल र म्यान अफ दि सिरीज वालिङका विशाल कोईराला भए । विजयी समुहलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । विजयी समुहलाई पुरस्कार वितरण गर्दै स्वर्गीय रविन गैरेका बुुवा ज्ञानेन्द्र गैरेले छोराको स्मृतिमा प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिदै खेलकुदको विकासको लागि यस्ता प्रतियोगिताले सहयोग गर्ने बताए । त्यस्तै कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँण, जिल्ला खेलकुद विकास समितिका सदस्य कमल सेन, रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर केसी पुरुषोत्तम, समाजसेवी बल बहादुर जिसी र इलाका प्रहरी कार्यालय रामपुर प्रहरी सहायक निरिक्षक सोम बहादुर सारुले स्थानीय स्तरमा हुने प्रतियोगिताले प्रतिभाको पहिचान र उत्थानको लागि ठूलो योगदान हुने बताए । क्लवका अध्यक्ष अमिर रानाको अध्यक्षतामा भएको कार्यक्रम सदस्य शर्मिला श्रेष्ठको स्वागत र कोषाध्यक्ष कमल रानाको सञ्चालनमा भएको थियो ।

  • 208
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    208
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *