योजना पारदर्शी बनाउन उपभोक्तालाई प्रशिक्षण दिदैं गाउँपालिका

पाल्पा (माथागढी) कार्तिक १९/जिल्लाका कतिपय स्थानीय तहहरु पारदर्शी, गुणस्तरी र सूचनामैत्री नभएको व्यापक गुनासाहरु आईरहेका बेला माथागढी गाउँपालिकाले भने स्थानीय तहमा हुने योजना निर्माण र कार्यान्वयको पाटोलाई पादरर्शी र गुणस्तरी बनाउने कार्यमा सक्रियता देखाएको छ । गाउँपालिकाले वडास्तर देखि पालिका सम्ममा गठित उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्बन्धी जानकारी र प्रशिक्षण दिदैं योजना पारदर्शी र गुणस्तरी बनाउने काममा सक्रियता देखाएको हो । स्थानीय तहमा हुने विकास निर्माणका काम र योजनाहरु सूचना मैत्री र पारदर्शी हुनुपर्ने संविधानमा उल्लेख भए पनि जिल्लाका केही स्थानीय तहहरुले सूचना लुकाउने र योजनाहरु पारदर्शी नभएका गुनासाहरु व्यापक उठ्ने गरेका छन् ।

अन्य स्थानीय तहहरुमा जनताबाट यस्ता गुनासाहरु आए पछि गाउँपालिकाले उपभोक्ताहरुलाई योजना सम्बन्धी प्रशिक्षण दिएको छ । गाउँपालिकामा हुने हरेक योजनाहरुमा अत्याधिक जनसहभागिता जुटाई योजनाहरु सञ्चालन गर्दै आएको र र अझ ती योजनाहरुलाई गुणस्तरी र पारदर्शीरुपमा सञ्चालन गर्न स्थानीय तहमा गठित उपभोक्ताहरुलाई प्रशिक्षण दिदैं आएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए ।


गाउँपालिकाले छ वटा वडामा उपभोक्ता समितिहरुलाई प्रशिक्षण दिई सकेको र अन्य वडाहरुमा पनि प्रशिक्षण कार्यलाई तीव्रता दिईएको अध्यक्ष थापाले जानकारी दिए । उनले भने ‘स्थानीय तहमा विनियोजन गरेको रकमलाई सही ठाँउमा प्रयोग गर्न सबै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई आग्रह गरेको छु ।’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक कुमार नेपाली, सह लेखापाल श्रीकृष्ण न्यौपाने, योजना शाखाका ईश्वरी ज्ञवाली लगायतको टोलीले तालिममा सहभागिहरुलाई प्रशिक्षण दिर्दै आएका छन् ।

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *