युवाहरुलाई बेरोजगार भत्ता दिने योजनाका साथ सरकार अगाडि बढेको छ : मन्त्री विष्ट

इमानज सिं राना
पाल्पा,(रामपुर) २७/
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकार गरिब बेरोजगार युवाहरुलाई बेरोजगार भत्ता दिने योजनाका साथ अघि बढेको बताएका छन् । शुक्रबार पाल्पाको रामपुरमा दोस्रो रामपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले तोकिएका मापदण्ड भित्रका युवाहरुलाई बेरोजगार भत्ता वितरण गर्नका लागि सरकार अघि बढिरहेको बताएका हुन् । मन्त्री विष्टले भने, ‘गरिब परिवारका युवाहरुले रोजगारी प्राप्त गर्न सकेन, काम गर्न चाहादा पनि काम प्राप्त गर्न नसक्ने युवाहरुलाई तोकिएको मापदण्ड भित्रका बेरोजगार भत्ता दिने योजनाका साथ सरकार अघि बढिरहेको छ । अबका केही समय पछि सरकाले या त रोजगारी दिने छ । या त तोकिएका मापदण्ड भित्रका युवाहरुलाई बेरोजगार भत्ता वितरण गर्नका लागि सरकार अघि बढिरहेको छ ।’उनले मुलुकका सात सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र सरकारले स्थापना गर्न लागेको बताउँदै ति केन्द्रहरुबाट युवाहरुको लगत संकलन गरिने बताए । गरिवी, बेरोजगारीले हजारौँ युवा खाडी मुलुकमा विदेशिन बाध्य भएकाले सरकारको चाहना गरिवी, बेरोजगारी समस्याले आक्रान्त भएको मुलुकलाई माथी उठाउनु रहेको बताए । मन्त्री विष्टले अहिलेको सरकार १ वर्ष २ वर्षको मात्र नभई ५ वर्षको स्थायी सरकार भएको र आम नेपाली जनताको भावनालाई समेट्दै अघि बढ्ने सरकार रहेको धारण व्यक्त गरे । सरकारको पहिलो वर्ष संघीय संरचना संगै नियम कानुनहरु बनाउनमा वितेको बताउँदै अब निर्वाचनका समयमा गरेका प्रतिवद्धता पुरा गर्न तर्फ लागेको बताए । उनले आगामी असार भित्रमा जेष्ठ नागरिक, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता बढाउने जानकारी दिए । कार्यक्रममा प्रदेश सभा सदस्य नरायण आचार्य, युवराज खनाल, संविधान सभा सदस्य राधाकृष्ण कंडेल, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, प्रमुख जिल्ला अधिकारी महोहर प्रसाद खनाल, नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकाल लगायतले प्रचुर सम्भावना रहेको रामपुरको विकासको लागि प्रदेश र केन्द्र सरकारको सहयोग अपरिहार्य रहेको बताए ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले कालीगण्डकी बेशीको विकासको लागि उद्योग वाणिज्य संघ सम्पूर्ण संस्था संग समन्यव गरी अघि बढ्न तयार रहेको जानकारी दिए ।

मेला उद्घाटनको अवसरमा विभिन्न क्लव, विद्यालय, संघ, संस्था र समुह गरी ६१ वटा झाँकी प्रदर्शन गरिएको थियो । महोत्सव उद्घाटनपूर्व रामपुर उद्योग वाणिज्य संघको कार्यालय नहर अफिस बाट बेझाँडबजार हुँदै स्थानीय संस्कृती झल्काउने लोपन्मुख धर्मोदय दशावतार बालन, मगरी संस्कृती झल्काउने झ्याउरे र मारुनी, विश्वकर्मा समुदायको नचरी, लोकभजन, जतिय पहिचान झल्काउने भेषभुषा, नेपाल एकिकरणको समयको झल्को दिने ठकुरी समाजको झाँकी, उत्पादित तरकारी सहितका कृषक तथा आमा समुह, विद्यार्थी, खेलाडीहरुको सहभागीता रहेको थियो ।

कृषि, उद्योगको प्रवद्र्धन, कला संस्कृति, ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको संरक्षण गरी रामपुर सहित गण्डकी बेशी क्षेत्रको पहिचान कायम राख्ने, संघको संस्थागत दिगोपन संगै भवन निर्माणको लागि सहयोग जुटाउन उद्देश्यका साथ सुरु भएको मेलामा कृषि उपज तथा घरेलु उद्योगबाट उत्पादित स्थानीय उत्पादन, प्रतिष्ठित उद्योगबाट उत्पादित स्तरिय वस्तु, अटोमोबाईल सहितको २ सय ५० भन्दा बढी स्थलहरु रहेको छ । मेलोका पहिलो दिन राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनी, माधव भण्डारी लगाएतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

मेलाको पहिलो दिन १० हजार भन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गरेका छन् । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रम उद्योग उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको स्वागत, वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईको धन्यवाद र महासचिव खिम बहादुर क्षेत्रीको सञ्चालनमा भएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *