माथागढी गाउँपालिकाद्वारा कृषकलाई अनुदानमा कृषि सामग्री

पाल्पा(माथागढी),जेठ ३१/माथागढी गाउँपालिकाले कृषकहरुलाई कृषि सामग्रीहरु वितरण गरेको छ । गाउँपालिकाले कृषकहरुलाई कृषिबाटै आत्मानिर्भर बनाउने उद्देश्यले अनुदानस्वरुप कृषि सामग्रीहरु वितरण गरेको हो । गाउँपालिकाले ८ वटै वडाका कृषकलाई एक कार्यक्रमका बीच हातेट्याक्टर, कुटानी पिसानी मेसिन, घासँ काट्ने मेसिन,चल्ला उत्पादन गर्ने मेसिन र मिर्नर एनलाईजर गरी ४६ वटा मेसिन वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा उक्त उपकरणहरु वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार नेपालीले जानकारी दिए । उनका अनुसार गाउँपालिका भित्र रहेका कृषक समुह मार्फत कृषकहरुलाई मेसिन उपलब्ध गराइएको हो ।

कृषकलाई अनुदानमा ३६ वटा हातेट्याक्टर,४ वटा कुटानी पिसानी,३ वटा घाँस काट्ने, २ वटा चल्ला उत्पादन गर्ने मेसिन, १ वटा मिर्नर एनलाईजर मेसिन वितरण गरिएको छ । मेसिन वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले सामग्री वितरणले कृषि उत्पादनमा वृद्धि गरी कृषकहरुलाई आत्मानिर्भर बनाउनुको साथै आर्थिक समृद्वि हासिल गर्न कृषकहरुलाई प्रोत्साहन मिल्ने बताए । आधुनिक सामग्रीले कृषकको समय बचत हुने र कम परिश्रममा धेरै उत्पादन गर्न सक्ने अध्यक्ष थापाले विश्वास व्यक्त गरे । उनले भने‘जनताको समृद्धि नै गाउँपालिकको समृद्धि भएकाले कृषकलाई आर्थिक रुपमा सक्षम र सवल बनाउन गाउँपालिका लागि परेको छ ।’मेसिनको सहि उपयोग गरी व्यवसायिक बन्न अध्यक्ष थापाले कृषकहरुलाई आग्रह गरे । गाउँपालिकाको २२ लाख र कृषकको २२ लाख रकममा सामग्री खरिद गरिएको गाउँपालिकाले जनाएको छ । कृषि समग्री पाएपछि कृषकहरु खुसी भएका छन् । गाउँपालिकाका अध्यक्ष सन्तोष थापाको अध्यक्षता, पशु शाखा प्रमुख सन्तोष कुमार ठाकुरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •