भट्टराईले मागे दाहालको राजीनामा

काठमाडौं, माघ ४ : एमाओवादी नेता बाबुराम भट्टराईले जिन्दगीभर पार्टी चलाउने जिम्मा कसैलाई नदिएको भन्दै अध्यक्ष पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् ।

पुस्ता हस्तान्तरणको पक्षमा रहेका भट्टराईले केन्द्रीय समितिको शनिबारको बैठकमा बोल्दै नयाँ पुस्तालाई नेतृत्व दिने उपयुक्त समय आएको बताए । ‘जिन्दगीभर पार्टी चलाउने जिम्मा कसैलाई दिएको छैन,’ भट्टराईको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले ईकान्तिपुरसित भने, ‘वैचारिक र पार्टी सत्ताको नेतृत्व एउटै व्यक्तिले सधैं गर्न सक्दैन ।’Maoist_20140118072839

भट्टराईले नाम नलिएरै घूमाउरो भाषामा अध्यक्ष पुष्पकमल दाहालको राजीनामा माग गरे, त्यो पनि एकपटक होइन, दोहोर्‍याई तेहेर्‍याई । ‘हिजो युद्धको आवश्यकता छ भनेर दिइयो, शान्तिकालमा भर्खर आएकाले आवश्यकता महसुस गरियो, चुनावको मुखमा त्यहि नेतृत्वको महसुस भयो,’ भट्टराईले दाहालको नेतृत्वप्रति फेरि प्रहार गरे, ‘अहिले पार्टी पनि हारेर पिँधमै पुगेको छ । उपयुक्त बेला यही हो ।’

भट्टराईले परम्परागत कम्युनिष्ट पार्टीमाजस्तो नमरुन्जेल नेतृत्वमा रहने परम्परा ठीक नभएको भन्दै नयाँ अभ्यासको सुरुवात आफ्नै पार्टीबाट गर्नुपर्ने बताए । उनले जनवादी केन्द्रीयताको कुरा औपचारिकताले मात्रै नपुग्ने बताए ।

कार्यदिशालाई परिभाषित गर्नुपर्नेमा जोड दिंदै भट्टराईले परम्परागत मार्क्सवाद, माओवाद र लेनिनवादलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने बताए ।

भट्टराईपक्षीय केन्द्रीय सदस्य हेमराज भण्डारीले मुल नेतृत्व -दाहाल, भट्टराई र नारायणकाजी श्रेष्ठ)ले नै नयाँ पुस्तालाई पार्टी जिम्मा लगाउनुपर्ने धारणा राखे ।

‘मुल नेतृत्वबाट एउटाले होइन, तीनै जनाले छाड्नुपर्छ,’ बैठकमा उनले भने, ‘तपाईंहरुको टिम रहेसम्म गुटबन्दी रहिरहन्छ । संकट पर्नेवित्तिकै गुट ब्युँताउनुहुन्छ ।’

अर्का केन्द्रीय सदस्य महेश्वर गहतराजले गल्ती स्वीकार्ने तर नसच्याउने परिपाटी पार्टीमा परम्पराकोरुपमा स्थापित भएको बताए ।

‘लिखितम्, बकितम् र गरितम् बीच ठूलो अन्तर छ,’ उनले भने, ‘बोली र व्यवहारको अन्तर कहिलेसम्म पार्टीमा ररिरहने हो ?’

केन्द्रीय सदस्य नवराज सुवेदीले अध्यक्ष पुष्पकमल दाहाल बाहृय शक्तिको प्रभावमा रहेको र नेता भट्टराई आत्मगत भएको  टिप्पणी गरे ।

सोनामसिंह स्याङ्तान र मुक्साहाङ मेन्याङ्बोले पार्टी पहिचानको मुद्दा छाड्नेतिर गएको भन्दै आशंका व्यक्त गरे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •