बिना जमिन छतमा पनि तरकारी खेती

पाल्पा, जमिन छैन, तर उनले ७० किलो तरकारी उत्पादन गरी बेचे । श्रम, ज्ञान र सीपको प्रयोग गरेर पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२, पोखराथोकका एक किसानले घरको छतमा राखिएका ड्रममा गरिएको तरकारी उत्पादन जमिन बिना पनि उत्पादन सफल हुँदोरहेछ भन्ने एक नमूना हो ।
तरकारी खेती गर्नका लागि प्रशस्त जमिन चाहिन्छ भन्ने मान्यतालाई उनले गलत साबित गरे । पाल्पा पोखराथोकका ५७ वर्षीय कवि नेपालले प्लास्टिकका ड्रममा तरकारी खेती गरी सफलता पाएपछि श्रम र पसिना पोखेको अवस्थामा प्रशस्त जमिनको अभावमा पनि तरकारी खेती गरी आम्दानी गर्न सकिने बताए । एउटा सिङ्गो ड्रमलाई काटेर उनले दुईओटा भाँडा बनाएका छन् । माटोले भरिएका ड्रमका दुईओटा भाडामा सिमी ४० किलो, लसुन १५ किलो, प्याज १५ किलो र बोडीसमेत उत्पादन भएको नेपालले बताए । बारीमा झैँ बाँसका झिक्रामा झाल बेरिएर सीमी फलेका छन् । मुटुको बाइपास सर्जरी गरेका बिरामी नेपाल बिहान बेलुका छतमा चढ्छन् कहिले तरकारी खेतीमा चाहिने पानी हाल्छन् त कहिले ड्रममा झार गोडछन् । यसरी घरमा नै विषादीविहीन तरकारी उत्पादनमा उनी केन्द्रित छन् । यो समयमा उनले रु १५ हजार आम्दानी गर्नसमेत सफल भएका छन् । जमिन नभएकोमा चिन्ता लिनु पर्दैन । नेपालले घरको छतमा तरकारी खेती गरेर बूढेसकालमा समयको सदुपयोग गरी शरीरलाई नियमित कसरत गर्ने र भान्छामा विषादी विहीन तरकारी पकाउने उनलाई दोहोरो फाइदा भएको छ । यो उनको समय बिताउने काम मात्र होइन, दुई/चार रुपैयाँ पनि कमाउने र शरीरलाई स्वच्छ र स्वस्थ राख्न समेत सफल हुने विधि पनि हो । उनको दुईतले पक्की घरको छतमा ड्रममा गरिएको तरकारी खेती वन्यजन्तुबाट पनि सुरक्षित रहेको उनी बताउँछन् । सिमी, बोडी, प्याज, लसुन लगायतका तरकारीले घरको सौन्दर्यसमेत बढाएको छ । ग्रामीण तथा शहरी क्षेत्रमा बसोबास गर्ने जो कोहीले पनि जमिनको अभावमा घरमा नै तरकारी खेती गरेर आत्मनिर्भर बन्दै दुई÷चार पैसा कमाउन सकिने सम्भावना उनले देखाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *