बास्केट बल, भलिबल र ब्याटमिन्टन कोर्टको उद्घाटन

इमान सिं राना

पाल्पा (रामपुर), वैशाख ९/भूपू सैनिक राइजिङ्ग इङ्गलिस सेकेण्डरी स्कुल रामपुरमा बास्केट बल, भलिबल र ब्याटमिन्टन कोर्टको उद्घाटन गरिएको छ । शेयर सदस्य, अभिभावक, समाजसेवी व्यक्तित्वहरुद्धारा विद्यालय प्राङ्गणमा निर्मित कोर्टको पेन्सन वितरण कार्यालय पोखराका अफिसर कमान्डेन्ट लेफ्टिनेन्ट कर्णेल प्रतिक शर्माले उद्घाटन गरेका हुन् । कोर्टको उद्घाटन गर्दै शर्माले भूत पूर्व सैनिकहरुले अनुशासन पूर्वक आफ्नो कर्तव्य पालना गरी फर्केर पनि शिक्षा क्षेत्रमा दिएको योगदानको प्रशंसा गरे । उनले समाजलाई गतिदिने मुख्य आधार शिक्षा भएको बताउँदै भारत सरकारले पनि आफ्नो तर्फबाट सहयोग गरिरहेको बताए ।

कार्यक्रममा आदर्श भूपू सैनिक संस्थाका प्रधान संरक्षक अनेरी क्याप्टेन धन बहादुर रानाले स्वस्थ्यको लागि खेलकुदले महत्वपूर्ण भूमीका खेल्ने बताएका थिए । आदर्श भूपू सैनिक संस्थाका प्रबन्ध निर्देशक अनेरी क्याप्टेन रोमनबहादुर रानाले विद्यालयलाई छात्रवासको आवश्यकता रहेको भन्दै त्यसको लागि पहल गरिदिन आग्रह गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनेरी देवबहादुर थापा मश्राङ्गी, शेयर सदस्य सुवेदार दिपक भट्ट र आदर्श भुपु सैनिक संस्थाका सल्लाहाकार सुवेदार केशरबहादुर खाँण लगायतले बोल्दै हजारौं भूपू सैनिकहरुको बसोबास रहेको रामपुरमा पेन्सनको सहजताको लागि एसविआई बैंकको शाखा स्थापन गरिदिन अनुरोध गरेका थिए । कार्यक्रममा सेयर सञ्चालक समितिका संयोजक क्याप्टेन बलबहादुर जिसीले १ सय २९ जना सेयर सदस्यहरुको सहयोगमा ५ लाख ५१ हजार ७ सय ५७ रुपैयाँको लागतमा कोर्ट निर्माण भएको बताएका थिए । आदर्श भूपू सैनिक संस्थाका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रम उपाध्यक्ष सीता प्रधानको स्वागत र सचिव अनेरी नायव सुवेदार पूर्णबहादुर रानाको सञ्चालनमा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *