बालबालिकाको सहभागिताको लागि बालक्लव गठन आवश्यक

इमानसिं राना
पाल्पा (रामपुर), जेठ २७/रामपुर नगरपालिका भित्रका बालबालिकाहरुले बालक्लवहरुलाई सक्रिय बनाउन उपयुक्त किसिमको नीति तथा कार्यक्रम निर्माण गर्न जनप्रतिनिधीहरुलाई आग्रह गरेका छन् ।
विगतमा भएका क्लवहरु उपयुक्त कार्यक्रम र भूमिका विहीन हुँदा निस्क्रिय रहेकाले बालबालिकाको आवश्यकता पहिचान र सहभागिताको लागि बालक्लव गठन र पुन सञ्चालन गर्नु आवश्यक रहेको बताएका हुन् । दुई दिने बालमैत्री स्थानीय शासन अभिमूखीकरण गोष्ठीको समापनममा सहभागी विद्यालयका बालबालिकाहरुले बालमैत्री नगरको योजना निर्माणका लागि बालबालिकाको राय लिने क्रममा बालक्लवलाई सशक्त बनाउनुपर्ने धारणा राखेका हुन् । रामतुलसी माध्यमिक विद्यालयका सन्दिप बयम्बुले बालबालिकाको चाहना बुझ्नका लागि नगर बालभेला गर्नुपर्ने बताए । उनले भने, ‘नगरका टोलटोलमा भएका बालक्लवलाई सूचिकृत गर्ने र क्लव नभएका स्थानमा गठन गरी सबै बालबालिकाहरु क्लवमा आवद्ध गर्नु आवश्यक छ ।’ साथै बयाम्बुले बालदिवसमा मात्र नभई अन्य दिनमा पनि प्रतिभा प्रस्फुटनका कार्यक्रम गर्नुपर्ने बताए । विद्यार्थी विपिन घिमिरेले पनि बालबालिकाहरु मोवाइलमै खेल्ने बाहिर ननिस्कदा स्वास्थ्यसंगै सामाजिक विकासमा समस्या भएको भन्दै त्यसको लागि उपयुक्त खेल्ने स्थानको व्यवस्था गर्नुपर्ने बताए । अञ्जली थापाले विगतमा बालक्लव गठन भएपनि निगरानी निरन्तर नहुँदा समस्या भएको बताइन् ।

पूजा विकले बालविवाह विरुद्ध जनचेतना जगाउन, बाल प्रतिभा प्रस्फुटनको वातावरण सिर्जना गर्न बाल क्लवलाई विकसित गर्नुपर्ने धारणा राखिन  । सन्तोष श्रेष्ठले आफ्नै घरपरिवारमा अरुको छोराछोरीसंग तुलना गरेर यातना दिएका कारण विद्यालय छोड्ने प्रवृति बढेको बताए । साथै गोष्ठीमा विद्यार्थीहरु करुणा थापा, प्रिती अर्याल, रजिना ढकाल, रञ्जिता श्रेष्ठ, सविना अधिकारी, सविता कंडेल, सन्देश ढेंगा मगर लगायतले समाजका योजना तथा कार्यक्रममा बालबालिकाहरुलाई सहभागी बनाउनुपर्ने बताएका थिए । रामपुर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत कार्यालयका प्रमुख तथा प्रशासन कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा बालबालिकाले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा माध्यमिक तहमा अध्ययनरत २५ जना बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा बालमैत्री स्थानीय शासन नगर समिति गठन गरेको छ । नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बालबालिकाको अधिकार सुनिश्चितताको लागि नगरपालिका प्रतिवद्ध भएर लाग्ने बताइन् । गोष्ठीमा बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डे र रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बालमैत्री स्थानीय शासनको अवधारणा, सूचक, कार्यान्वयन प्रक्रिया र नीति निर्माणको बारेमा जानकारी दिएका थिए । गोष्ठी रामपुर नगरपालिकाका महिला विकास सहायक पुजा परियारको सञ्चालनमा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *