बाँझो जग्गामा कृषकको आकर्षण, चार सय ५० रोपनी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी

कृष्ण पोखरेल
पाल्पा, जेठ २८/पछिल्लो समयमा रोजगारीको लागि विदेशिने क्रम बढ्दो छ । स्वदेशमा रोजगारीको अवसर नभएपछि ठूलो ंसंख्यामा युवा जनशक्ति विदेश पलायनले भएका जग्गा जमिन बाँझो हुनुको साथै त्यत्तिकै खेर गईरहेको अवस्थामा तानसेनका केही व्यक्तिहरुले भने बाँझो जमिनको सदुपयोग गरेका छन् । उनीहरु बाँझो जग्गालाई भाडामा लिएर व्यवसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षण भएका हुन् ।

बाँझो जग्गा भाडामा लिएर तानसेन ७ प्रभासमा टमाटर खेती गरेका कृषक महेश्वर पन्त ।

तानसेन नगरपालिका भित्र ४५ जना कृषकहरुले करीव ४ सय ५० रोपनी जग्गा भाडामा लिएर व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । ग्रामीण क्षेत्रमा जग्गा बाझो राखी शहरमा बसाई सराई बढ्दै गएको समयमा तानसेन नगरपालिका कृषकहरुले जग्गा भाडामा लिएर नमूना तरकारी खेती गरेका छन् । तानसेन नगरपालिकाको अर्गली, मदनपोखरा, दमकडा, काजीपौवा, प्रभास लामिडाँडा, बराङ्गदी, सेतीपोखरी, धरमपानी, चवनवारी, बौघागुम्वा लगायतका क्षेत्रमा कृषकहरुले जग्गा भाडामा लिई व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । गत वर्षसम्म तानसेन प्रभासको पूर्वी भागको जग्गा बाँझो थियो । त्यही बाँझो जमिनमा अहिले लटरम्म टमाटर काक्रा फलेका छन् । कृषक धुव्र भण्डारी, महेश्वर पन्त लगायतको समूहले तानसेन नगरपालिका ७ प्रभासमा ४० रोपनी बाँझो जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गरेका छन् । समूहले पहिलो सिजनामा टमाटर, काक्रा र तितेकरेला जस्ता तरकारी लगाएका छन् । समूहले पहिलो सिजनमै ५० हजार रुपैयाँको टमाटर विक्रि गरिसकेको छ । उनीहरुले २५ रोपनी जग्गामा टमारटर, १० रोपनीमा काक्रा र ५ रोपनीमा तितेकरेला लगाएका छन् । वार्षिक प्रति रोपनी ४ हजारको दरले १ लाख ६० हजार भाडा तिर्ने गरी जग्गा धनीसँग समूहले ५ वर्षे सम्झौता गरेको हो । शहर बजारमा घर घडेरी विक्रीको लागि जमिनको खण्डिकरण भईरहेको समयमा व्यवसायिक तरकारी खेतीले उत्पादनमा वृद्धिसंगै जमिन टुक्रिनबाट बचेको समूहका अगुवा पन्तले बताए । समूहले दैनिक रुपमा १८ जना कामदारलाई रोजगारी दिदै आएको छ ।

उनीहरुले लगाएको तरकारी खेती देखेर प्रभास वरपरका कृषकहरुले पनि तरकारी खेती शुरु गरेका छन् । वर्षमा १ वाली मात्र उत्पादन गर्दै आएका कृषकहरुले बारी बाँझो नराखी तरकारी लगाएका हुन् । आगामी वर्षदेखि १ सय रोपनी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्ने योजना रहेको समूहका आर्के अगुवा कृषक धु्रव भण्डारीले बताए । तानसेन नगरपालिका १४ अर्गलीका लेखनाथ न्यौपानेको सम्पत्तिको नाममा एउटा घडेरी मात्र छ तर उनले ३० रोपनी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । न्यौपानेले वार्षिक रुपमा जग्गा भाडा वापत ९० हजार बुझाउँदै आएको बताउँछन् । ७ वर्ष मलेसियामा काम गरी फर्किएका न्यौपानेले ३ वर्षदेखि जग्गा भाडामा लिएर तानसेनको अर्गलीमा तरकारी खेती गर्दै आएका हुन् । त्यस्तै तानसेन नगरपालिका ८ का नरबहादुर सार्की, विष्णुबहादुर सुनार र सोमबहादुर सुनारले संयुक्त रुपमा ५० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । उनीहरुले ५० रोपनी जग्गाको वार्षिक २ लाख ४० हजार रुपैयाँ भाडा तिर्ने गरेका छन् ।

तानसेन नगरपालिका १४ अर्गलीका निर्मल रानाले पनि १५ रोपनी जग्गा वार्षिक ६० हजार भाडा तिरेर तरकारी खेती गर्दै आएका छन् । तानसेन नगरपालिका ७ का दिपकबहादुर रायमाझीले १४ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । तानसेन नगरपालिका भित्र सबैभन्दा बढी दमकडामा १५ जना कृषकहरुले जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएको पाइन्छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले जग्गा भाडामा लिई तरकारी खेती गर्दै आएका कृषकहरुलाई प्रोत्साहन गर्नको लागि सहयोग गरेको छ । जग्गा भाडामा लिएका कृषकहरुको तरकारी उत्पादनको आधारमा जग्गाको क्षेत्रफल नाँपजाँच गरी भाडाको ५० प्रतिशत रकम सहयोग गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेले बताए । यसवर्ष जग्गा भाँडामा लिई तरकारी खेती गर्दै आएका कृषकहरुका लागि ६ लाख रकम छुट्याइएको थियो । यो अभियानले जग्गा बाँझिने क्रम घटेको छ । केही रुपमा भएपनि जमिन खण्डीकरण हुनबाट बचेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *