बजेट नआउँदा मुझुङ्ग स्वास्थ्य चौकी चार वर्षदेखि अलपत्र

रामचन्द्र रायमाझी
पाल्पा, भदौ २/बजेट नआउँदा मुझुङ्ग स्वास्थ्य चौकी चार वषदेखि अलपत्र परेको छ । रैनादेवी छहरा गाउँपालिका ५ मा रहेको मुझङ्ग स्वास्थ्य चौकी तत्कालिन समयमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट बजेट विनियोजन भई काम सुरु भएको चार वर्ष बितिसक्दा समेत बजेट नआउँदा भवन अलपत्र परेको हो ।
पछिल्लो पटक शान्ति मन्त्रालय खारेज भएपछि मुझुङ्ग जस्तै जिल्लाका दर्जनौ निर्माणाधीन संरचना भत्किने अवस्थामा पुगेका छन् । २०७२ सालमा शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट क्रमागत योजनामा परेको भएपनि बजेट नआउँदा भवन अलपत्र परेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । संघीय सरकार मार्फत सञ्चालन भएको योजना भएकाले अपुरो योजनालाई तत्काल सञ्चालन गरी जनताको स्वास्थ्य सेवामा सहजता ल्याईदिन संघीय सरकारलाई अध्यक्ष कार्कीले आग्रह गरे ।

तत्कालिन समयमा शान्ति मन्त्रालयबाट ५१ लाख रकम विनियोजन भई डिवी कन्स्ट्रक्सन कम्पनी मार्फत काम सुरु भएको थियो । भवनको ७० प्रतिशत काम भएपनि लामो समय वित्दा समेत निर्माण कार्य नहुँदा अधिकांश संरचनाहरु जिर्ण बन्दै गएका छन् । स्वास्थ्य संस्थाको भवन निर्माण कार्य पुरा हुन नसक्दा पानी चुहिने, पुरानो र जिर्ण कोठाबाट सेवा प्रवाह गर्नु परेको वडा अध्यक्ष हुमानसिं कार्कीले बताए । उनले भने ‘अन्य प्रयोजनका लागि बनाइएको भवनबाट स्वास्थ्य सेवा दिनु परेकाले सेवा प्रवाहमा समस्या भएको छ ।’ समयमै भवन निर्माण नहुँदा उपचारका लागि आएका विरामीहरुको स्वास्थ्य उपचार साथै औषधीको भण्डारमा समेत कठिन भएको स्वास्थ्य संस्थाका प्रमुख विशेश्वरनाथ गोसाईले गुनासो गरे । उनले भने ‘एउटा कोठाबाट विरामीहरुको सम्पूर्ण काम गर्नुको साथै कहिले काही परिवार नियोजनका विषयमा परामर्श लिन आउने सेवाग्राहीहरुका लागि असजिलो भएको छ ।’ स्वास्थ्य चौकीमा दैनिक १५–२० जना विरामीहरु आउने गरे पनि एकै ठाउँबाट सेवा दिनु परेको हेल्थ असिटेन्स दुर्गा रावलले बताइन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको वजेटबाट निर्मित भवनको निर्माण व्यवसायीले काम गरी म्याद थप गरेपनि मन्त्रालयले वजेट निकासा गर्न पहल नगरेको र स्थानीय सरकारले यस विषयमा जानकारी गराएको गाउँपालिकाका प्रवत्ता विष्णु पोखरेलले बताए । भवन पूरा नहुँदा निर्माणधीन भवन खण्डहरमा परिणत हँुदै जाने अर्कोतर्फ जनता आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन सक्ने देखिन्छ । मुलुक संघीय संरचना अनुसार तीन तहको सरकार निर्माण भएपनि भौतिक पूर्वाधार निर्माण गर्न तर्फ संघीय सरकारले पहल नगरेको कारण करोडौको लगानी बालुवामा पानी जस्तै भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •