बगनासकालीमा नमूना मतदान

कृष्ण पोखरेल
पाल्पा, विद्यालयको आगन । चारैतर्फ सुरक्षाकर्मी । महिला र पुरुषको फरक–फरक लाईन । गाउँ वरिपरिका मानिसहरु हस्याङ–फस्याङ गर्दै विद्यालय तर्फ जादै थिए । युवा, महिला पुरुष बृद्धबृद्धाहरु पनि आ–आफ्नै सुरले विद्यालयतर्फ जादैं थिए । विद्यालय परिषरमा पुगेका सबैको हाजिरी अनिवार्य गराईयो । पाल्पा बगनासकाली गाउँपालिका वडा नं १ चिर्तुङ्गधारा ग्राम्य माविमा देखिएको नमूना मतदानको दृश्य हो । सहभागी सबैलाई विद्यालयका बेञ्चहरुमा राखियो र यही असार १४ हुने स्थानीय तह निर्वाचनमा भोट हाल्ने तरिका, सदर र बदर मत बारे आयोगका उपसचिव चन्द्र सिवाकोटी, बगनासकाली गाउँपालिकाका निर्वाचन अधिकृत तिलक पौडेल र जिल्ला निर्वाचन कार्यालयकी प्रमुख धर्मा अर्यालले जानकारी गराए । मतदान अधिकृतको रुपमा बगनास गाउँपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्यालले नमूना मतदान शुरु भएको घोषणा गरे । महिला पुरुष, अपाङ्ग, असक्त वृद्धावृद्धाहरुले फरक–फरक लाईनबाट नमूना मतदान गरे । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. १ चिर्तुङ्गधारामा गरिएको नमूना मतदानमा ३२ प्रतिशत मतदाताको अनुपस्थिती देखियो । १ सय १९ जना मतदाताको नामदर्ता भएपनि ७९ वटा मात्र मत खस्यो । ३२ प्रतिशत मतदाता नमूना मतदानमै सहभागी भएन । सो विषयमा नत दलका प्रतिनिधीहरुले चासो देखाए । नत निर्वाचनमा खटिएका कर्मचारीहरुले ध्यान दिए । ७९ वटा मतमा ९ वटा मतमा मतदान अधिकृतको नै हस्ताक्षर नै नभएका भेटिए । ९ वटा मतपत्रमा मतदाताले सही रुपमा मत संकेत गरेको भएपनि मतदान अधिकृतको हस्ताक्षर नभएकोले बदर हुन पुग्यो । मतदाताले मत संकेतमा मात्र ध्यान दिएको तर प्राविधिक कुरामा ध्यान नदिएको पाईएको छ । नमूना मतदानमा केही मतपत्रमा अगाडि निर्वाचन चिन्हमा मात्र मत संकेत गरेको केही मतदाताले पछिल्तिरका निर्वाचन चिन्हमा मात्र मत संकेत गरेका थिए । केही मतदाताले ठाडो लाईनमा मात्र मत संकेत गरेका थिए । मतदताले ठाडो लाईनमा मात्र गरेको मतसंकेत बदर भएको थियो । पहिलो चरणको निर्वाचनमा अत्याधिक मत बदर भएपछि जिल्ला निर्वाचन कार्यालय पाल्पाले मतदाता शिक्षाको रुपमा गाउँ–गाउँमा नमूना मतदान कार्यक्रम गर्दै आएको छ । नमूना मतदानमा वास्तविक मतदान कै झल्को दिने गरी व्यवस्थापन गरिएको थियो । पहिलो स्थानमा मतदाता परिचय पत्र रुजु गर्ने, सोही अनुसारको मतदान लिष्टमा नामा रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर भएको मतपत्र लिने, निर्वाचन आयोगले तोकेको स्थानमा पुगी गोप्य तरिकाले मत संकेत गर्ने, मतपेटिकामा मतपत्र हाली बाहिरिने व्यवस्था मिलाईएको थियो । नमूना मतदानमा झोला मोवाईल लिएर व्यक्तिहरुलाई मतदानको दिन मत संकेत गर्दा झोला, मोवाईल समेत लैजान नपाईने गरी सुरक्षार्कीहरुले मतदातालाई सचेत गराएका थिए ।
जिल्ला निर्वाचन कार्यालयले यस अघि सदरमुकाम तानसेन र पश्चिम रैनादेवी छहरा गाउँपालिका नमूना मतदान कार्यक्रम गरेको थियो । मतदाताले दिएको मत बदर नहोस्, सही रुपमा मत संकेत गरेपनि मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र बदर, विभिन्न प्रकृतिबाट हुने मत बदरको बारेमा मतदातालाई सचेत बनाउन नमूना मतदान कार्यक्रम गरिएको बगनासकाली गाउँपालिकाका निर्वाचन अधिकृत तिलक पौडेलले बताए । नमूना मतदानमा प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम, प्रहरी उपरीक्षक हरिराज वाग्लेले समेत नमूना मतदानको अवलोकन गरी असार १४ गते हुने मतदान स्थलको बारेमा जानकारी लिएका थिए । मतदानमा सहभागीहरुले घर–घर छरछिमेकमा गई मतदान गर्न सिकाउन मत बदर नहोस् भनी यो कार्यक्रम गरिएको गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पाल्पामा संविधान सभा निर्वाचन २०७० मा २ हजार ९ सय ६७ मत बदर भएको थियो ।

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *