बगनासकालीको सिखरेमा ५० औं अखण्ड हरि कृर्तन हुँदै

पाल्पा, असोज २९/जिल्लाको बगनासकाली गाउँपालिका ९ सिखरेमा ५० औं अखण्ड हरि कृर्तन हुने भएको छ । सिखरे भगवती मन्दिर संरक्षण समितिले हरेक वर्ष सञ्चालन गर्दै आएको अहोरात्र अखण्ड हरि कृर्तन यही कार्तिक २ गते हुने भएको हो । भगवती मन्दिर संरक्षण समितिले धार्मिक, साँस्कृतिक संरक्षणका लागि विगतका वर्षमा जस्तै यस वर्ष पनि अहोरात्र अखण्ड हरि कृर्तन गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

पश्चिमी संस्कृतिका कारण नेपाली समाजमा मौलिक धार्मिक, संस्कृतिहरु हराउँदै जान थालेकाले त्यसको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न विगत ५० वर्ष अघिदेखि हरेक वर्षको कार्तिक महिनाको पहिलो शनिबार अहोरात्र अखण्ड हरि कृर्तन गर्दै आएको मन्दिर संरक्षण समितिका संयोजक यमलाल तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार मन्दिरमा कुनै पनि जीवहरुको बली दिदैंन । २०२७ सालमा मन्दिर स्थापना हरि कृर्तन, विभिन्न देवी देवताहरुको पूजा पाठ, चण्डी पाठ, न्वागी पर्व जस्ता धार्मिक कार्यक्रमहरु गरिदै आएको संयोजक तिमिल्सेनाले जानकारी दिए । मौलिक भजन हराउँदै जान थालेकाले त्यसको संरक्षणका लागि हरेक वर्ष २४ घण्टा अखण्ड हरि कृर्तन गाउँदै आएको उनले बताए । पत्रकार सम्मेलनमा वडा अध्यक्ष थानेश्वर तिमिल्सेनाले मन्दिर संरक्षण समितिले लोप हुन लागेको मौलिक भजनलाई निरन्तर दिदै आएकोमा समितिको प्रशंसा गरे । उनले स्थानीयस्तरको कला संस्कृति संरक्षणको दायित्व स्थानीय सरकारको पनि रहेकाले त्यसका लागि वडा कार्यालय र गाउँपालिकाले पनि सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्ष तिमिल्सेनाले गत वर्ष मन्दिरका लागि वडा कार्यालय मार्फत ६० हजार रकम विनियोजन गरेको बताए । उनले भने ‘स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निर्माण गरी धार्मिक, साँस्कृतिक संरक्षणका लागि योजना अगाडि बढाइएको र छिट्टै नै गाउँपालिका भित्र साँस्कृतिक पाठशाला निर्माण गरिने छ ।’ तानसेन नगरपालिका १० का वडा अध्यक्ष लोचनप्रसाद तिमिल्सेनाले समितिले मौलिक संस्कृति संरक्षणमा देखाएको सक्रियतालाई अन्य समुदाय र संघ संस्थाहरुले पनि अनुशरण गर्नुपर्नेमा जोड दिए । उनले आफु यहाँबाट बसाईसराई गरी बाहिर गएपनि यस क्षेत्रको धार्मिक, साँस्कृतिक र पर्यटन क्षेत्रको विकासका लागि आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व सभापति भगवान भण्डारीले भजन कृर्तनको संरक्षण गर्दै पर्यटकीय क्षेत्रसँग जोड्नुपर्ने बताए । उनले पश्चिमी संस्कृतिका कारण नेपाली मौलिक संस्कृतिहरु हराउँदै जान थालेकाले त्यसको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय क्षेत्रसँग जोड्न सके यस क्षेत्रको विकासले गति लिने धारणा व्यक्त गरे । कार्यक्रम मन्दिर संरक्षण समितिका संयोजक यमलाल तिमिल्सेनाको अध्यक्षता, सह–सयोजक ज्ञानराज तिमिल्सेनाको स्वागत, भोजराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।