बगनासकालीको चिर्तुङ्गधारा पूर्ण सरसफाई वडा घोषणा

पाल्पा, असार २७/जिल्लाको बगनासकाली गाउँपालिका १ चिर्तुधारालाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको छ । सामाजिक स्रोत विकास केन्द्र नेपाल पाल्पाको प्राविधिक सहयोग र गाउँपालिकाको आर्थिक सहयोगमा पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको हो ।
अभियानको एक कार्यक्रमका बीच प्रतिनिधी सभाका सदस्य तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेलेले वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरेका हुन् । वडा घोषणा गर्दै सांसद पाण्डेले पूर्ण सरसफाई विकासकै एउटा सूचक भएको बताएका छन् । उनले सरसफाईका गतिविधिलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सरकार स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउने गरी अगाडि बढेको जानकारी दिए । सांसद पाण्डेले स्वास्थ्य र सरसफाई मानव जीवनका लागि अति आवश्यक रहेकाले घोषणालाई व्यवहारमा उतार्नु सबैलाई आग्रह गरे । जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले वडा पूर्ण सरसफाईयुक्त घोषणा हुनुले यस क्षेत्रका नागरिक स्वस्थ रहने बताए । उनले नागरिक स्वास्थ रहे मात्र समृद्धि हुन सक्ने विश्वास व्यक्त गरे । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले बगनासकालीलाई पूर्ण सरसफाईयुक्त बनाउने अभियानमा यसले उर्जा थपेको बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले अन्यअभियान जस्तै पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउने अभियानमा समेत सम्पूर्ण वडावासीको सहयोग आवश्यक पर्ने बताउदै २ वर्ष भित्रमा पूर्णसरसफाईयुक्त गाउँपालिका घोषणा गर्ने प्रयास रहेको बताए । वडा अध्यक्ष सोमबहादुर झेडीले सरसफाईका गतिविधि सञ्चालन गरी घोषणा गर्न सहयोग गरेको भन्दै समाजिक स्रोत विकास केन्द्र नेपाल पाल्पा र वडावासीलाई धन्यवाद दिए ।
कार्यक्रममा गाउँपालिका प्रवक्ता लक्ष्मी अधिकारी, ३ का वडा अध्यक्ष टिकाबहादुर थापा, स्थानीय बालमैत्री शासनका फोकल पर्सन मनोज आर्चाय, राजनैतिक दलका प्रतिनिधी, पत्रकार लगायतले पूर्ण सरसफाई घोषणालाई सबैले कार्यन्वयन गर्नुपर्नेमा जोड दिए । पूर्ण सरसफाईयुक्त घोषणा हुने गाउँपालिकाको यो तेस्रो वडा हो । यसअघि वडा नम्वर ३ र २ लाई पूर्ण सरसफाईयुक्त घोषणा गरी सकिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *