प्रदेश सरकारको बीस लाख लागतमा गुल्मीमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाइदैं

हाम्रा संवाददाता
गुल्मी, असार ३०/प्रदेश पाँच सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्लामा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने काम भएको छ । प्रदेश सरकारको २० लाख लागतमा अर्जुन डाँडालाई उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी काम अगाडि बढेको हो । जिल्लामा थुप्रै सम्भावना बोकेका धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्रहरु रहेका छन् । ती मध्येको एक हो र्जुन डाँडा ।
सम्भावनायुक्त भएर पनि पर्यटकीय क्षेत्रको रुपमा विकास हुन नसकेको यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी अहिले काम अगाडि बढेको छ । जिल्लाको सदरमुकाम तम्घासदेखि दक्षिणतर्फ रहेको धार्मिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण स्थल अर्जुन डाँडामा पर्यटकीय क्षेत्र बनाउन धमाधम निर्माणकार्य सुरु भएको हो । जिल्लाको सदरमुकामस्थित रेसुङ्गा नगरपालिका ७ तम्घासको काखैमा रहेर पनि यसको प्रचार–प्रसार हुन सकेको छ्रैन । अर्जुन क्षेत्रमा पर्यटकीय क्षेत्र बनाउन प्रदेश पाँच सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रवेशद्वारा, पानीको फोहोरा फाल्ने सहितको पोखरी निर्माण, वनभोज जानेहरुको लागि भवन बनाउने गरी निर्माण कार्य भइरहेको निर्माण समितिका सदस्य टीका पन्थीले बताए । यो सँगै अर्जुन क्षेत्रसम्म पुग्ने बाटोलाई व्यवस्थित गर्ने, पार्कि· स्थल निर्माण गर्ने, मन्दिर क्षेत्रमा अरु थप ४ वटा मन्दिरहरु निर्माण गर्ने, विभिन्न पोखरीहरुको मर्मत गर्ने काम गरिने रेसुङ्गा नगरपालिका ७ का वडाअध्यक्ष मोहनप्रसाद पाण्डेयले बताए । उनका अनुसार यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि स्तरीय सडक बनाउन प्रदेश सरकार, केन्द्र सरकार र नगरपालिकामा लागत स्टेमेट गरेर माग गरिएको बताए ।

यस क्षेत्र सदरमुकाम नजिकै हुँदा समेत यसको धार्मिक र पर्यटकीय महत्वलाई जनता समक्ष ल्याउन नसक्दा ओझेलमा परेको छ । करिव २ हजार मिटर उचाईमा रहेको अर्जुन डाँडा धार्मिक, ऐतिहासिक, पुरातात्विक र जैविक विविधताले भरिपूर्ण छ । वि.सं.१४९३ भन्दा पहिले राजाले राज्य गरेको यस क्षेत्रमा भग्नावशेषहरु थिए भन्ने किवदन्ती रहेको छ । उक्त डाँडामा पाँच पाण्डव मध्येका अर्जुनको आगमनले यस लेकको नाम अर्जुन रहेको भन्ने मान्यता रहेको छ । अर्जुनले यसै गिरीमा बसी गीताको तत्व ज्ञान लिएको, शिवजीले यसै गिरीमा ध्यान गरेको भन्ने किंवदन्ती पराचिन कालदेखि रहि आएको स्थानीय एवं मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष तिलबहालुर थापाले बताए । हाल पुराना ऐतिहासिक मन्दिरहरुलाई मर्मत र पर्यटकीय क्षेत्र बनाउनको निम्ति नयाँ संरचना निर्माण गर्न थालिएपछि अर्जुन क्षेत्रको महत्व बढेर जाने स्थानीयहरु बताउँछन् । अर्जुन डाँडा अवलोेकनका लागि पुगेका स्थानीय एवं तम्घास उदिनढुङ्गाका जयस्वर पन्थीले अर्जुन डाँडाको महिमा ठूलो रहेको बताए । उनले अर्जुन डाँडालाई विभिन्न खण्ड बनाएर वनभोज र अन्य धर्म मान्नेहरुको मान्दिरहरु निर्माण गरेर यहाँ आउने बनाउनु पर्नेमा जोड दिए । अर्जुन क्षेत्रको महत्वलाई अगाडि ल्याए यस क्षेत्रको महत्व र चहलपहल हुने पन्थीले बताए । पहिलो पटक अर्जुन डाँडा पुगेका रेसुङ्गा नगरपालिका १ का रामप्रसाद पन्थीले निकै रमाइलो र पर्यटकीय स्थल रहेकाले एकपटक पुग्नेहरुलाई मनै लोभ्याउने गरेको बताए । उनले जिल्लाकै गौरवको रुपमा रहेको अर्जुन डाँडालाई विकास गर्न सके आन्तरिक तथा बाÞय पर्यटकहरु भित्रिने पन्थीले बताए । धार्मिक मान्यता अनुसार त्यस ठाउँमा सयौं वर्षदेखि पुजाआजा गर्ने प्रचलन रहेको पुरानो मान्यता रहेको छ ।
प्राचिन कालदेखि नै स्थापित अर्जुन भगवती मन्दिर, छत्रस्थान, नगस्थान, सिद्धस्थान, शिवस्थानमा पुजा तथा पाठपारायण हुने प्रचलन रहेको छ । खानेपानी, सडकको समस्या रहेको उक्त क्षेत्रमा ०६४ सालमा मात्र सामान्य सडक पुगेको थियो । मन्दिरमा खानेपानीको समस्या समाधान गर्न केहि आकाशे पानी संकलन गर्न टंकी निर्माण गरिएका छन् । चारैतिर सुन्दर दृश्य देख्न सकिने यस क्षेत्रमा केहि भाग अर्घाखाँचीको सिमानासँग जोडिएको छ । यस क्षेत्रमा हाल नेपाल टेलिभिजन अन्य सञ्चार माध्यमहरुको टावहरु, इन्टरनेट र सञ्चार सामग्रीहरु पनि राखिएको छ । पछिल्लो समय यता केहि आन्तरिक तथा बाÞय पर्यटक
पुग्ने गर्दछन् ।
–पत्रकार अनिल खत्रीबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •