प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी किसान माविलाई

पाल्पा, जेठ ३१/प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी किसान माविले हात पारेको छ । माथागढी गाउँपालिका ४ झडेवामा भएको प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी किसान माविले हात पारेको हो ।

विद्यालयले प्रतियोगितामा ६ वटा स्वर्ण, ४ वटा रजत र ३ कास्य गरी १३ पदक जिती उपाधी हात पारेको हो । प्रतियोगितामा शौभाग्य मावि चिदिपानीले १० पदक हात पारी दोस्रो स्थान हात पार्न सफल भएको छ । विद्यालयले ६ वटा स्वर्ण, १ रजत र ३ कास्य हात पार्दै दोस्रो स्थान हात पार्न सफल भएको हो । दिव्यज्योती मावि कसेनीले ९ वटा पदक जिती तेस्रो हुन सफल भएको छ । विद्यालयले ४ स्वर्ण, ३ रजत, २ कास्य हात पार्दै तेस्रो हुन सफल भएको हो ।

गाउँपालिका भित्र रहेका मावि स्तरीय भलिवल, कपर्दी, सय मिटर दौड,दुई सय मिटर दौड, चार सय मिटर दौड,ज्यावलिङ्ग ७ फुट, हाईजम्प, लम्जम्प र त्रिपलजम्प लगायतका प्रतियोगिता भएका थिए । प्रतियोगितामा जिल्ला स्तरीय छनोटका लागि सामुहिक तर्फ एक /एक समुह र व्यक्तिगत विधा तर्फ २ जना छनोट भएका छन् । माथागढी गाउँपालिकाको आयोजना र किसान मावि झडेवाको व्यवस्पथापनमा भएको प्रतियोगितामा विजयी समुहलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको थियो । विजयी समुहलाई गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष मधुपराजुलीले मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरेका हुन् । पुरस्कार प्रदान गर्दै प्रवक्ता पराजुलीले खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले विशेष योजनाका साथ अगाडि बढेको बताए । उनले स्थानीय स्तरमै दक्ष खेलाडी उत्पादन गरी देशलाई खेलको माध्यमबाट चिनाउन यस्ता खालका प्रतियोगिताले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि तथा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दिपक घिमिरेले जिल्लामा खेल क्षेत्रको विकासका लागि समितिले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । रेफ्री धनपति गैरेले खेलमा इमान्दार, लगनशिल र धैर्यता आवश्यक रहेकोमा जोड दिए । किसान माविका प्रअ तुलबहादुर सारुको अध्यक्षता, शिक्षक गजेन्द्र पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।