प्रचार–प्रसार हुन नसक्दा गुल्मीको पर्यटकीय क्षेत्र दारेढुङ्गा ओझेलमा

अनिल खत्री
गुल्मी, जेठ ३१/कुनै पनि क्षेत्रको विकास र विस्तार गर्न प्रचार–प्रसार महत्वपूर्ण हुन्छ । प्रचार–प्रसार हुन नसकेकै कारण संभावनायुक्त क्षेत्रहरु ओझेलमा पर्ने गर्दछन् । यस्तै पर्यटकीय क्षेत्रको रुपमा संभावना बोकेको जिल्लाको रेसुङ्गा नगरपालिका १३ भँगारीमा रहेको दारेढुङ्गा यति बेला प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको छ । कुनै बेला बनमाराले ढाकेको यस क्षेत्र निकै रमणीय र मनोमहक दृश्यले भरिपूर्ण रहेको छ, तर पनि प्राप्त व्यवस्थापन र प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको हो ।
०६८ सालमा पर्यटन मन्त्रालयबाट १५ लाख रकम मार्फत निर्माण गरिएका विभिन्न संरचनाहरुले त्यहाँ पुग्ने जो कोहिलाई आनन्दित बनाउँदछ । तत्कालिन समयमा निकै मनमोह दृश्य सहित निर्माण गरिएका पर्यटकिय स्थलमा पुग्नको लागि ०६९ सालमा मोटर बाटो समेत लगिए थियो । तत्कालिन निर्माण समितिका अध्यक्ष रामबहादुर थापाले उक्त स्थलको निर्माण गरेका थिए । जिल्लाको सदरमुकाम तम्घासबाट पूर्व तर्फ झण्डै १० किलो मिटर पक्की सडक र केही कच्ची सडक मार्फत पर्यटकिय स्थल सम्म पुग्न सकिन्छ । पछिल्लो समय उक्त स्थल हुँदै रेसुङ्गासम्म पुग्नको लागि सडक मार्गलाई थप स्तर उन्नतीको काम गरिएपनि अन्य मर्मत तथा संरक्षणको लागि भने कुनै चासो देखाइएको देखिदैन । दारेढुङ्गा (भँगारी भवने डाँडा) पिक्निक पर्यटकीय स्थलमा बस्नको निम्ती विभिन्न प्रकारका विश्राम स्थल सहितका छाताहरु, बनभोज जानेहरुका लागि पकाउने स्थलहरुसँगै अन्य धेरै मनमोहक दृश्य सहितका स्थलहरु रहेका छन् । यस क्षेत्रबाट जिल्लाका विभिन्न स्थानहरुसँगैछिमेकी जिल्ला अर्घाखाँची, पाल्पा लगायतका विभिन्न पर्यटकीय स्थलहरु समेत देख्न सकिन्छ ।

निर्माण भएको झण्डै ८ वर्ष वितिसक्दा पनि प्रचुर मात्रामा प्रचार–प्रसार नहुँदा पर्यटकीय गन्तव्य क्षेत्र ओझेलमा छ । पर्यटकीय स्थल निर्माणको लागि तत्कालिन पर्यटन मन्त्रालयका लोकबहादुर खत्रीले धेरै पहल गरेको स्थानीय वासी बताउँछन् । यस क्षेत्र पिक्निक स्र्पोटको लागि नगरबाट केही आर्थिक रकम छुट्टाएर आन्तरीक तथा बाÞय पर्यटक भित्राउन होटलसहित व्यवस्थापन गर्ने सोच रहेको रेसुङ्गा नगरपालिका १३ का वडा अध्यक्ष खुमबहादुर खत्रीले बताए । उनका अनुसार नगरपालिकाले नजिकै होमस्टे सहित पर्यटकीय गनतव्य क्षेत्रलाई अगाडि बढाउने योजनाका साथ अगाडि बढेको जानकारी दिए । यस अघि नगरपालिकाबाट कुनैपनि बजेट नछुट्टाएको र वडाबाटमात्रै यसको संरक्षण भएकाले ओझेलमा परेको अध्यक्ष खत्रीले बताए । अहिले वडा कार्यालयको पहलमा त्यस क्षेत्रमा रङ्गरोगन गरी व्यवस्थित तारवार गर्न लागिएको वडा अध्यक्ष खत्रीले बताए । शनिबार र विदाको समय पारेर केही छिटफुट रुपमा उक्त स्थान पुग्ने गरेपनि धेरैलाई त्यस स्थलको विषयमा जानकारी हुन नसकेको त्यहाँ पुगेका इस्मा गाउँपालिकाका नविन अर्यालले बताए ।

यस क्षेत्रको विकास गर्न सके नगर सरकारले राम्रो आम्दानी गर्न सक्ने अर्यालको भनाई छ । पिक्निक स्र्पोटका रुपमा समेत प्रख्यात रहेको दारेढुङ्गाको अवलोक गर्न पुगेका रेसुङ्गा नगरपालिका भाँडगाउँका सुरज कुँवरले यसक्षेत्र निकै मनमोहक रहेकाले प्रचार–प्रसार र व्यवस्थित बनाउनु पर्नेमा जोड दिए । उनले यहाँको बारेमा धेरैलाई जानकारी समेत नभएकाले प्रचार –प्रसारमा ध्यान दिन आग्रह गरे । जिल्लाको गौरवका रुपमा रहेको रेसुङ्गा क्षेत्रको काखमा पर्ने उक्त पर्यटकीय स्थलको संरक्षण र रेखदेखको अभाव खड्किएको कुँवरको भनाई छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •