पाल्पा–बुटवल खण्डमा हेभी गाडीले ओभरटेक गर्न नपाउने

रामचन्द्र रायमाझी
पाल्पा, मंसिर १८/पाल्पा–बुटवल सडकखण्ड अन्र्तगतको झुम्सा खोलादेखि चिडियाखोला पुलसम्मको सडकखण्ड दुर्घटनाका दृष्टिले ज्यादै जोखिमयुक्त भएकाले हेवी गाडीहरुका लागि ओभरटेकमा निषेध गरिएको छ ।
यस क्षेत्रमा दुर्घटना न्यूनिकरण गर्नका लागि ‘नो ओभरटेक’ नियम लागू गरिएसँगै बस, ट्रक टिपरले ओभरटेक गर्न नपाउँने भएका छन् । १० किलोमिटर सडक खण्डमा आवत–जावत गर्ने हेभी गाडीहरुले अब ओभरटेक गर्न नपाउने भएका हुन् । ओभरटेकका कारण दिनहुँ दुर्घटना हुने भएकाले त्यसलाई न्युनिकरण गर्न यस्तो नीति अपनाईएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख डम्बर गिरिले जानकारी दिए । यस सडक खण्डमा गएको १० वर्षमा ७० जना भन्दा बढीको दुर्घटनामा परेर ज्यान गएको छ । यस्तै ट्राफिक प्रहरीले गतिको पनि सीमितता तोकेको छ ।

३० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिका दरले गाडी कुदाउन नपाइने भएको हो । ओभरटेक र तीव्र गतिकै कारण दुर्घटना बढेकाले जिल्लाका सुरक्षा निकाय, नागरिक समाज, गाडी व्यवसायी र चालकहरुको सक्रियतामा यस्तो अभियान सञ्चालन गरिएको ट्राफिक प्रमुख गिरीले बताए । उनका अनुसार कार्यालय समयमा राजमार्ग भिडभाड हुने भएकाले टिपर सञ्चालनमा पनि रोक लगाइएको छ । यस सडक खण्डमा विहान ९ बजे देखि १० बजे सम्मका लागि टिपर सञ्चालन गर्न रोक लगाइएको हो । कार्यालय समयमा सवारी साधनको अत्याधिक चाप हुने भएकाले झुम्सा देखि दोभानसम्म परिक्षणका रुपमा टिपर चलाउन नदिने प्रमुख गिरी जानकारी दिए । जिल्लाका विभिन्न स्थानहरुबाट ढुंगा, गिट्टी, बालुवा, कोइला रूपन्देही र नवलपरासीमा रहेका सिमेन्ट उद्योगमा लैजादा बढी भारवहन क्षमताका कारण यस क्षेत्रको सडक भासिनुको साथै खाल्डाखुल्डी भएको पाईन्छ । दिनहुँ जसो यस सडकखण्ड हुँदै चारहजारको संख्यामा सवारी गुड्ने गरेका छन् । यस सडक खण्ड पहिरोका कारणले पनि अत्यन्तै जोखिमपूर्ण मानिन्छ । दश वर्षको अवधिमा यस क्षेत्रमा ५३ वटा सवारीका साधनहरु दुर्घटना भइसकेका छन् । यो सडक खण्ड हुँदै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाका सवारीहरु गुड्छन् । सरकारले यो पहिरोको समस्या हटाई दुर्घटना न्युनिकरण गर्ने विभिन्न प्रयत्न पनि गरेको हो । पहिरोमा ग्रिनरी विकास गर्ने, ढुङ्गाको पर्खाल लगाउने, रक नेट राख्ने लगायतका प्रयास भएका पनि हुन् । तर काम प्रभावकारी नहुँदा पहिरोको समस्या जस्ताको तस्तै रहेको छ । यो सडक उत्तर दक्षिण जोड्ने सडक मात्र होइन काठमाडौं जोड्ने वैकल्पिक सडकका रुपमा समेत प्रयोग भएकाले यसलाई सरकारले प्राथामिकताका साथ कार्यान्वयन तहमा लैजानुपर्ने जिल्लाबासीको माग रहेको छ ।

  • 210
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    210
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *