पाल्पाली अग्रज नारी साहित्यकार

पुस्करराज रेग्मी/राजेन्द्रगोपाल सिंह

पवनकुमारी देवी श्रेष्ठ (प्रथम नारी उपन्यासकार)
पुष्पलता श्रेष्ठ (नेपाल भाषा : नारी साहित्यकार)
प्रकाश प्रधानाङ्ग (नेपाल भाषा : प्रथम नारी नाटककार)

पवनकुमारी देवी श्रेष्ठ :
पाल्पा, तानसेन मेहल्धारा निवासी शेषनारायण श्रेष्ठ र मुनीन्द्रकुमारी देवी श्रेष्ठकी माहिली छोरी पवनकुमारी देवीको जन्म वि.सं. १९६९ साल श्रावण १७ गते भएको हो । सत्र वर्षको उमेरमा उनको विवाह नवलपरासीका जुलुमबहादुर श्रेष्ठसँग भएको थियो । जुलुमबहादुर श्रेष्ठ मालपोत कार्यालयका डिठ्ठा र आर्युवेदिक होमियोप्याथिक विषयमा नामुद चिकित्सक समेत थिए । उनलाई औपचारिक शिक्षा नदिएता पनि आफ्ना दाजुभाईको किताब लुकिछिपी पढ्दै, अक्षर चिन्दै गएपछि लेखपढ गर्न सक्ने भइसकेकी थिइन् ।
पवनजुलुमको घरमा हरेक साँझ भजन किर्तन हुन्थ्यो । उनले सानैदेखि गीत लेखिन् भजन लेखिन् अनि भाका हालेर गाउथिन् र अरुलाई पनि गाउँन सिकाउँथिन् । तबला पनि बजाउथिन् । गाउँले चेलीबेटी, दिदीबहिनीहरुलाई समेत कखरा चिनाउथिन् । घर–घरमा गएर पढ्न सिकाउथिन् । घरायसी एवं सामाजिक झैं–झगडाहरुलाई पुरुषले सरह अगुवाई गर्दै मिलाउँथिन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले दीन दुःखीलाई आफुले लगाएको कोट नै फुकालेर दिएको प्रसंग हामी धेरैले सुनेकाछौं । पवनकुमारी देवी सानैदेखि मायालु, दयालु, परोपकारी महिला थिइन् उनले कुनै महिलाले दुःख देखाए भने आफुले लगाएको कपडानै खोलेर दिन्थिन् । उनी तन, मन, धन, बचन सबैले सेवा गर्थिन् । कसैलाई शुभकामना दिनुपर्दा होस् या कसैकहाँ समवेदना प्रकट गर्दा होस् उनले हातले लेखेर नै दिन्थिन् । अर्काको हितमा समर्पित उनले निःशुल्क सुडेनी सेवा पनि दिएकी थिइन् ।
बाल्यवस्था देखिनै कखरा चिनाउँदै हिडेकी उनी किशोरवस्थामानै गाउँको गुरुमा हुँदै वयस्क अवस्थामा त शैक्षिक अभियान्तानै भएकी थिइन् । चेलीवेटी शिक्षा र नारी संचेतिकरणमा आफ्नो जिन्दगी खर्च गरेकी उनले आफ्नै जग्गा प्रदान गरेर परासीमा वि.सं. २०१९ सालमा पवनकन्या प्राथमिक विद्यालय खोलेकी थिइन् । हाल यो पवन माध्यमिक विद्यालयको रुपमा ख्याती प्राप्त भइसकेको छ । भजन, गीत, कथा, कविता, निवन्ध, उपन्यास लेखनमा रुचि राख्ने उनले आफुले स्थापना गरेको विद्यालयमा साहित्यिक कार्यक्रमहरु आयोजना गर्थिन् । उनले थुप्रै फुटकर सिर्जना गरिन् तर संग्रह हुन् भने सकेन । उनले उपन्यास प्रतिज्ञा (२०१७) प्रकाशन गरिन् उनी नेपाली भूमीमा बसेर उपन्यास लेख्ने पहिलो नारी साहित्यकार हुन पुगिन् । उनले भजन संग्रह विन्दु भजनमाला (२०४६) प्रकाशनमा ल्याइन् । समाजसेवी शिक्षासेवी साहित्यकार पवनकुमारी देवीको योगदान गहन अध्ययन र खोजी नीति हुनु जरुरी छ । भाषाकला संस्कृतिको खानी पाल्पामा जन्मेकी चेली पवनकुमारीले परासीमा आफ्नो कर्म गर्दै व्यक्तित्व र कृतित्व मार्फत नेपाली शिक्षा र साहित्यको आकाशमा कहिल्यै नअस्ताउने तारा बन्दै वि.सं. २०४७ साल असार ६ गते परमात्मामा विलिन भएर गइन् ।
पुष्पलता श्रेष्ठ :
पाल्पा, तानसेन, सिल्खानटोल निवासी पिता बुद्धिलाल जोशी र माता शुभलक्ष्मी जोशीको जेठी छोरी पुष्पलता श्रेष्ठको जन्म वि.सं. १९९४ सालमा भएको हो । आइ.ए. सम्मको शिक्षा प्राप्त गरेकी उनले घर व्यवहार धानी हिसाव किताब समेत राख्ने भएकोले उनलाई बाबुले पुष्प छोरा हो भनेर भन्थे । वि.सं. २०१३–२०२२ सम्म मोहन कन्या मा.वि. मा शिक्षण गरेकी पुष्पलताको विवाह वि.स. २०१५ सालमा तत्कालीन राजदरबारका संवाद सचिव नग्रेन्द्रप्रसाद श्रेष्ठसँग भएको थियो ।
वि.सं. २००७ सालको जनआन्दोलनको जुलुसमा समेत सहभागी भएकी पुष्पलताले वि.सं. २०१६ सालमा नेपाल भाषा विकास समितिबाट आयोजना गरिएको नेपाल भाषा साहित्य सम्मेलनमा कथा बाचनमा प्रथम पुरस्कार प्राप्त गरेकी थिइन् । कथा विद्याबाट नै साहित्य सिर्जनामा पाइला चालेकी पुष्पलताका किग : (पूजाको चामल, कथा संग्रह) र मेघदूत (खण्डकाव्य) प्रकाशित भएका छन् । कथा संग्रह किग : भित्र दशवटा कथाहरु संग्रहित छन् भने सच्चा साथी, निर्दाेषी, ठेस, महुँ, डढेको भात, एकसरो कुरा उनका फुटकर कथाहरु हुन् । उनले निबन्ध पनि लेखिकी छिन् । आदर्श गृहणी शीर्षकको उनको निबन्ध नारी, शिक्षा र चेतनामा केन्द्रित छ । अनुवाद साहित्यमा पनि उनको लगाव थियो । सितु, झी, धर्मोदय लगायतका पत्रिकाहरुमा सिर्जनाहरु छापएकी पुष्पलताले तत्कालीन राजा वीरेन्द्रबाट शुभराज्यभिषेक पदक
(२०३२) प्राप्त गरेकी थिइन् । उनका साहित्यिक योगदानको लेखाजोखा हुनु आवश्यक छ । युवावस्थादेखि नै नेपाली र नेवारी भाषा साहित्यिको विकासमा कलम चलाउँदा चलाउँदै ४८ वर्षको उमेरमा अल्पायुमै वि.सं. २०४२ मंसिर २९ गतेका दिन नेपाल भाषा नारी साहित्यकार पुष्पलता श्रेष्ठको देहावसन भयो ।
प्रकाश प्रधानाङ्ग :
पाल्पा, तानसेन, असनटोल निवासी पिता देवीप्रसाद प्रधान र माता लक्ष्मी प्रधानकी सुपुत्री प्रकाश प्रधानाङ्गको जन्म वि.सं. १९९४ साल राम नवमीको दिन भएको हो । आई.एड. उत्तीर्ण गरी वि.सं. २०१३–२०१८ सम्म मोहन कन्या मा.वि. तानसेन र त्यसपछि तारिणी प्राथमिक विद्यालय काठमाडौंमा शिक्षण पेशामा सम्लग्न प्रधानाङ्गका मस्याङ्ग या, कलाकार, लुफिं, अपवाद, प्रतिज्ञा, आत्मप्रकाश, लगायतका कृतीहरु प्रकाशित भइसकेका छन् भने विभिन्न पत्रपत्रिका एवं संगालोहरुमा नेपाली र नेवारी भाषामा लेखरचनाहरु प्रकाशित भइ नै रहेका छन् । उनलाई नेपाल भाषाको प्रथम नारी नाटककार पनि मानिएको छ । ६ जना दाजुहरु जन्मिसकेपछि उनको जन्म भएकोले छोरी जन्मेको खुसीयालीमा घर नै उज्यालो भएकोले उनको नाम प्रकाश राखिएको हो । माहिला बा, पाल्पाका शिक्षाका पिता अयोध्या प्रसाद प्रधानले प्रकाश, पुष्पलता लगायतका केटा केटीहरुलाई कलम र कापी दिएर पढ्न सिकाएका थिए । पाल्पामा नेपाली भाषा साहित्य सम्मेलन भएपछि नेपाल भाषा विकास समिति खुल्यो । मयुराप्रसाद प्रधान अध्यक्ष, जगतबहादुर जोशी सचिव भएको त्यस समितिमा प्रकाश प्रधाना· कोषाध्यक्ष भइन् । प्रकाशद्वारा लेखिएको कलाकार नाटक मञ्चन भयो । मुनीन्द्रप्रसाद प्रधान, बाबुकाजी शाक्य, यशपाल शाक्य, वनारसी प्रधान, सविता श्रेष्ठ, वेटी बज्राचार्य, मृगेन्द्रप्रधान, भगवती साहिलाहरुले अभिनय गरेका थिए । मस्तिष्कमा भावना जागृत हनासाथ लेख्न बसिहाल्ने उनले प्रायजसो विहान तीन बजे उठेर मुख कुल्ला गरेर, आँखामा पानी छ्यापेर कलम कापी समातेर लेख्न बसिहाल्थिन् । उनले विशेष कक्षा १–३ सम्म नेपाल भाषा पढाइन् र वर्णमाला भाग १ र २ पनि लेखिन् । प्रकाश प्रधानाङ्ग अहिले ८२ वर्षको जेष्ठ जीवनमा पनि नेवारी र नेपाली भाषाको अध्ययन र लेखनमा आफुलाई अर्हनिश समर्पित गराउँदै आएकी छिन् । समय सन्दर्भ परिस्थिति अनुसार थुप्रै नारी वेदना खपेर पनि साहित्यको माध्यमबाट नारी स्वतन्त्रता र सशक्तिकरणको लागि आवाज उठाइरहने प्रकाश बारे थप अध्ययन अनुसन्धान हुनु जरुरी छ ।
पवनकुमारी देवी श्रेष्ठ, पुष्पलता श्रेष्ठ र प्रकाश प्रधानाङ्ग तीनै जना पश्चिम नेपालको पाल्पामा उदाएका नेपाली साहित्यकाशमा उज्ज्वल तीन ताराहरु हुन् । तीनैजना पाल्पाली अग्रज नारीहरु नेपाली वाङ्मयको श्रीवृद्धिका लागि पाल्पाली साहित्यजगतका इतिहास हुन् । इतिहासलाई अध्ययन गरेर शोध खोज सोंच र अठोटका साथ अघि बढिएमा मात्र पाल्पामा नारी साहित्यकारहरुको योगदानलाई पहिल्याउन सकिन्छ । पवनकुमारी देवी ७८ वर्षसम्म बाँचेर शिक्षा तथा साहित्यको सेवा गरिन् । जो सदाउदाहरणीय अमर भएर रहेको छ । पुष्पलता श्रेष्ठ ४८ वर्षकै वयस्क जीवन मै स्वर्गीय भइन् । जसले गर्दा नेपाल भाषा साहित्यमा अपूरणीय क्षति हुन् पुग्यो । प्रकाश प्रधानाङ्गले अहिले ८२ वर्षको जेष्ठजीवन यापन गर्दैछिन् । प्रधानाङ्गको बाँकी जीवन नेपाली र नेवारी भाषा साहित्यको सिर्जनामय बनिरहोस् । सतायु सहित सुदीर्घजीवनको शुभकामना ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *