पाल्पामा लाग्ने सत्यवती मेला मंसिर ५ गतेदेखि हुने

कृष्ण पोखरेल
पाल्पा, मंसिर १/जिल्लाको तिनाउँ गाउँपालिका वडा ४ सत्यवतीमा यही मंसिर ५ गतेदेखि ७ गतेसम्म चिच्चाएर बर माग्ने मेला लाग्ने भएको छ ।
यो वर्षको महाजोगमा सत्यवती बज्यैको दर्शन गरौं, आफुले चाहेको मनोकामना पूरा गरांै भन्ने मूल अभियानका साथ ३ दिने सत्यवती बज्यै महोत्सव हुन लागेको हो ।
सत्यवती तालमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको अवसरमा सत्यवती मेला लाग्दै आएको छ । परम्पराकालदेखि सत्यवती तालमा कार्तिक पूर्णिमामा चिच्चाएर बर माग्ने प्रचलन रहदै आएको छ । मेला व्यवस्थापन समितिले शुक्रबार तानसेनमा पत्रकार सम्मेलन गरी यस वर्ष महाँजोग परेको विशेष सत्यवती पुजा हुने भएको सबै भक्तजनहरुलाई दर्शनका लागि आमन्त्रण गरेको छ ।

सत्यवती बज्यैले कान नसुन्ने भएकोले चिच्चाएर बदरदान माग्नु परेको बुढापाकाको भनाई रहेको छ । सत्यवती बज्यैसंग चिच्चाएर मागेको बरदान पूरा हुने भन्दै निकै टाढा–टाढाबाट भक्तजनहरु मन्दिरमा आउने गरेका छन् । सत्यवती बज्यैसंग रातिमा चिच्चाएर बदरदान माग्ने प्रचलनलाई आजकल दिउँसोमा पनि माग्ने चलन गरिएको छ । सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनहरुले तालको वरीपरी घुम्दै चिच्चाएर बरदान माग्ने गर्दछन् । सत्यवती मन्दिरमा चिच्चाएर बरदान माग्नका लागि पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत बाग्लुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्र बाट भक्तजनको ओईरो नै लाग्ने गरेको छ ।

प्रत्येक वर्ष करीव ५० हजारभन्दा बढी भक्तजनहरुले सत्यवती बज्यैको दर्शन गर्दै आएको भएपनि यस वर्ष तिर्थयात्रीको गणना गरिने तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । गत वर्ष भक्तजनहरुको भेटी संकलनबाट करीव ५ लाख १८ हजार ६ सय रुपैयाँ संकलन भएकोमा गाउँपालिकालाई ३० प्रतिशत सहयोग गरेको र बाँकी रकम मन्दिर व्यवस्थापन, तालको सरसफाई, खानेपानी व्यवस्थापन, विद्युतीकरण, बाटो सरसफाईमा खर्च गरिएको वडा अध्यक्ष दानबहादुर गाँहाले बताए । सत्यवती क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थानको रुपमा विकास गर्न गुरुयोजना निर्माणमा लागेको जसका लागि गाउँपालिकाबाट पाँचलाख र मन्दिर व्यवस्थापन समिति बाट पाँच लाख गरी १० लाख रुपैयाँ संकलनमा लागेको समितिका सचिव लालबहादुर दर्लामीले बताए ।

सत्यवती बज्यै महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र पाल्पाले स्थानीय तहमा बासको विशेष सामग्री उत्पादन, स्थानीय खाना, कला संस्कृतिको विशेष तालिम, भक्तजनका लागि आवश्यक सरसमान जुटाउन स्थानीय तहमा सहयोग गर्दै आएको निर्देशक रामबहादुर राउतले बताए । मंसिर ५ गतेदेखि नै सत्यवती बज्यैको मन्दिरमा पुजा शुरु गर्ने, सांस्कृतिक महोत्सव सञ्चालन गर्ने, मंसिर ६ गते पुजाको साथै सांस्कृतिक कार्यक्रमसंगै खाना महोत्सव र मंसिर ७ गते गाउँपालिकाबाट पञ्चेबाजा सहितको विशेष पुजा गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुनबहादुर गाहाले जानकारी दिए । सत्यवती बज्यै पुजा तथा मेला महोत्सवको बारेमा पत्रकारहरुले राखेका जिज्ञासाहरुको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगर, वडा अध्यक्ष दानबहादुर गाहा, स्वास्थ्य सीपमूलक शैक्षिक संस्थाका निर्देशक रामबहादुर राउत, अध्यक्ष सुनविर गाहा र सचिव लालबहादुर दर्लामीले जवाफ दिएका थिए ।

  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *