पाल्पाको निस्दीमा विषादी च्याउ खाँदा एकै घरका चारको मृत्यु ,मृत्यु हुनेको संख्या ६ पुग्यो

रामचन्द्र रायमाझी
पाल्पा, जेठ ३१/जिल्लाको निस्दी गाउँपालिका–३,सार्कीडाँडामा जेठ २४ गते जंगली च्याउ खाएर बिरामी परेकामध्ये एकै घरका चार जनाको मृत्यु भएको छ । जंगलबाट ल्याइएको विषादी च्याउको कारण सार्कीडाँडाका ईन्द्र सिह ठकुरीका छोरीहरु ९ वर्षकी निर्मला ,४ वर्षकी विष्णु, १४ वर्षकी निरुता, १२ वर्षकी निशा सिह ठकुरीको ज्यान गएको हो । च्याउको पहिचान नै नगरी जंगली च्याउको सेवन गर्दा एकै घरका चार जनाले ज्यान गुमाउनु परेको छ ,अन्य दुई जनाको पनि ज्यान गएको छ । ज्यान जानेमा सोही स्थानका ८ वर्षका सुमन सिंह ठकुरी र ४५ वर्षका पूर्णबहादुर खाम्चा रहेका छन् । जंगलबाट ल्याइएको च्याउ सोही स्थानका चार घरका ११ जनाले खाएका थिए । विषादी च्याउ खाँदा उक्त परिवारका ११ जना विरामी परेका हुन, जस मध्ये छ जनाको मृत्यु भएको हो ।

विरामी मध्ये २९ वर्षकी दनमाया सिंह ठकुरी, ईन्द्र सिंहको श्रीमती ३० वर्षकी धनकुमारी ठकुरी, ३६ वर्षकी चनकुमारी खाम्चा मगर, १५ वर्षकी विमला खाम्चाको काठमाडौं टिचिङ्ग अस्पतालमा उपचार भइरहेको र ८० वर्षका प्रेमबहादुर ठकुरीको डिस्चार्ज भईसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उपचारत विरामीहरुको अवस्था भने मध्यम रहेको अस्पतालले जनाएको छ । मृत्यु भएकी निर्मलाको मध्यविन्दु अस्पतालबाट भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै यस अघि नै ज्यान गएको हो, भने विष्णुको मध्यविन्दु अस्पतालमै उपचारको क्रममा गत आइतबार मृत्यु भएको थियो ।

झिरुवास, सार्कीडाँडाकी १४ वर्षीया निरुतासिंह ठकुरीको उपचारको क्रममा बुधबार राति काठमाडौंमा मृत्यु भएको हो । त्यस्तै मृत्यु भएका सुमन, निशा, पूर्णबहादुरको शुक्रबार विहान टिचिङ्ग अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ । बिरामी परेका उनीलाई मध्यविन्दु अस्पताल नवपुर, चितवन हुँदै उपचारका लागि काठमाडौं लगिएको थियो । एकै गाउँका ६ जनाको मृत्यु भएपछि सार्कीडाडाँ यतिवेला शोकमा रहेको छ । च्याउ खाएर विरामी भएका उनीहरुमा वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उपचारका लागि कावासोती अस्पतालमा पु¥याइएको थियो ।

हेर्नुहोस् मृतक र विरामीहरुको विवरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *