पाल्पाका स्थानीयतह, सडक निर्माणमा ४२ करोड ६३ लाख

रामचन्द्र रायमाझी,
पाल्पा,
गाउँ या शहर धुलाम्मे छन्, अहिले जताततै डोजरमयी वातावरण छ । स्थानीय सरकारहरुले आ–आफ्ना कार्ययोजनाहरु बनाएर काम गर्नेक्रममा बाटो निर्माणमा सबै भन्दा बढी प्राथमिकता दिइएका छन् । जिल्लाका आठ गाउँपालिका र दुई नगरपालिकाका सरकारहरुले विकासको मेरुदण्ड ठानिने सडकलाई पहिलो प्राथमिकतामा दिएका छन् । गाउँ गाउँमा सडक निर्माण तथा मर्मतको काम अहिले धमाधम भइरहेका छन् । पहाडी क्षेत्र र भौगोलिक विकटताले गर्दा पनि ग्रामीण वस्तीलाई सुगम र यातायातको सहज पहुँचका लागि स्थानीय सरकारले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम थालिएको उनीहरुको भनाई छ । निर्वाचित जनप्रतिनिधीले, सडकको स्तरउन्नति तर्फभन्दा नयाँ ट्रयाक खोल्नतर्फ धेरै बजेट विनियोजन गरेका छन् । युवाहरुको श्रम र सीपलाई स्वदेशमै उपयोग गर्ने मूख्य माध्यम कृषि व्यवसाय हो । गाउँमा किसानहरु व्यवसाय उन्मूख भएका छन् । उनीहरुले उत्पादन गरेको कृषि उपज बजार सम्म पु¥याउनका लागि र सहज रुपमा आवत जावतका लागि पनि सडकलाई मूख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । अध्यक्ष थापाका अनुसार, गाउँपालिकाले सडकका लागि चार करोड ५० लाख रकम विनियोजन गरेको छ । प्रदेश कै जेठो नगरपालिका तानसेन नगरपालिकाले चालुवर्ष स्थानीय तहहरुमा सडक सञ्जाले जोड्नुपर्ने भएकाले सडक वर्षका रुपमा काम अगाडी बढाएको नगर प्रमुख अशोककुमार शाहीले बताए । प्रमुख शाहीका अनुसार नगरपालिकाले चालुवर्ष, १० करोड रुपैयाँ रकम सडक क्षेत्रलाई विनियोजन गरेको छ । जिल्लाको दोस्रो व्यापरिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिकाले ६ करोड रकम विनियोजन गरेको नगर प्रमुख रमण थापाले बताए । सडकको ट्रयाक खोलेर स्तरउन्नतिका लागि गाउँपालिकाले मात्र नभई वडा कार्यालयहरुले समेत मुख्य प्राथमिकतामा राखेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले बताए । वडा कार्यालयले पनि धेरै रकम सडकमै विनियोजन गरेको छ । वडाको वजेटले मात्र नभ्याउने भएकोले गाउँपालिकाले ३ करोड ६ लाख ३५ हजार रुपैयाँ विनियोजन गरेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । बजेट तथा नीति कार्यक्रम निर्माण, कार्यान्वयनका लागि पूर्ण अधिकार सहित सबै स्थानीय तहमा प्राविधिकहरुको व्यवस्था भएमा विगतमा कम बजेटले सडक निर्माण गर्दा रकम अपुग भएकोले यसपटक सबैको माग सडक निर्माण भएको बगनासकाली गाउँपालिकाको अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । अध्यक्ष बस्यालका अनुसार गाउँपालिकाले सडकका लागि ३ करोड भन्दा बढी रकम विनियोजन गरेको छ । शुरुमा पूर्वधार निर्माणमा लागि सडक सञ्जालले जोड्नुपर्ने भएकाले गाउँपालिकामा पहिलो प्रथामिकता सडकलाई दिएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । अध्यक्ष घर्तीका अनुसार सडकका लागि यस वर्ष ३ करोड ६३ लाख ९३ हजार रुपैयाँ रकम छुट्टाएर काम थालिएको छ । गाउँपालिकामा विगतमा सडक सञ्जालले जोड्न नसकेका स्थानहरुमा यसवर्ष सडक पु¥याउने उद्देश्यले सडकमा ४ करोड रकम विनियोजन गरेको रैनादेवी गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । त्यस्तै गरि रम्भा गाउँपालिकाले सडक क्षेत्रलाई २ करोड ६८ लाख रकम छुट्एको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए । रिब्दीकोट गाउँपालिकाले पनि सडकलाई नै प्रथामिकतामा राखेर काम गरेको अध्यक्ष नारायणबहादुर जिसीले बताए । अध्यक्ष जिसीका अनुसार गाउँपालिकाले २ करोड २५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । निस्दी गाउँपालिकाले पनि सडक क्षेत्रलाई नै प्राथमिकता दिएर काम गरेको छ । सडक क्षेत्रमा ३ करोड ५० लाख रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । दुइ दशक भन्दा धेरै समयपछि स्थानीय तहमा जनप्रतिनिधि वहाल भएपछि निर्वाचनका समयमा आफुले गरेको प्रतिवद्धता बमोजिम अध्यक्षहरुले ५० हजार रुपैयाँदेखि २ करोड रुपैयाँसम्मका एउटै सडक योजनाका लागि रकम विनियोजन गरेको सम्बद्ध गाउँपालिकाका प्राविधिकहरु बताउछन् । जिल्ला भित्रका बासटारी – झडेवा, हार्थोक –छहरा, आर्यभञ्ज्या·– रामपुर यी तीन वटा मुख्य सडकहरु जिल्ला विकास समिति निर्माण गरेर स्तरउन्नति गरी कालोपत्रे समेत गरिसकेको छ । तिनै सडकलाई गाउँबस्तीसम्म जोडिनका लागि स्थानीयतहले चालुवर्षमा ४२ करोड ६३ लाख २८ हजार भन्दा बढी रकम विनियोजन गरेका छन् । जिल्लाको सबै स्थानीय तहसम्म सडक सञ्जालले जोडिएको छ । पछिल्लो समयमा ट्रयाक खोलिएका सडकहरुमा वर्षायाम शुरु हुनासाथ सवारीका साधनहरु ठप्प हुने गर्दछन् । तिनै सडकहरुमा बाह्रै महिना सवारीका साधन सञ्चालन गर्न सकिने गरी स्तरउन्नतीको पनि काम भएको गाउँपालिका अध्यक्षहरुले बताउँछन् । पूर्वाधार निर्माणका क्रममा प्राविधिकले नाँपजाँच गरेर त्यसैको आधारमा रकम विनियोजन गर्नुपर्ने हो । तर प्राविधिकको नाँपजाँच विना नै सडक निर्माणका लागि धेरै बजेटहरु विनियोजन भएका छन् । जसले गर्दा कार्यान्वयनमा समस्या परेको प्राविधिकहरु बताउछन् । केही गाउँपालिकाका अध्यक्षहरुले सडक निर्माणका योजनाहरु मध्ये ठूला योजना आफु खुसी सञ्चालन गरेको पाइन्छ ।

  • 84
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    84
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *