पाल्पाका अस्पतालमा औषधीको अभाव

विक्रम थापा
पाल्पा : भारतले गरेको अघोषित नाकाबन्दीबाट मुलुकमा यतिखेर औषधीहरुको अभाव खड्किरहेको अवस्थामा पाल्पाका अस्पतालहरुमा पनि त्यसको प्रभाव परेको छ । जिल्लामा नेपाली औषधीभन्दा भारत तथा बंगलादेशबाट आयात हुने औषधीहरुको अभाव हुन थालेको हो ।
विरामीहरुले दैनिकरुपमा सेवन गर्ने औषधी, सिरिन्ज, संक्रमण विरुद्ध दिइने औषधी, दम रोगीको ग्याँस औषधी, रुघाखोकीको औषधी, एमोक्सिलिन, अक्सेटोसिन, आँखाका विरामीहरुका लागि चाहिने आइड्रप, मलम जस्ता औषधीहरुको अभाव देखिन थालेको हो । विरामीले खोजेको औषधीहरु र संक्रमण विरुद्ध दिइने
(एन्टिवाइटिक) औषधीहरुको अभाव हुन थालेको औषधी व्यवसायी संघ पाल्पा अध्यक्ष तथा सानु मेडिकल हलका संचालक रामलाल श्रेष्ठले बताए । उनले यातायातको सहजता नभएकाले मेडिकलहरुमा विरामीहरुको चाप घट्दै गएको बताउँदै आफूहरुसँग भएका औषधीहरुबाट विरामीहरुलाई उपचार गराइरहेको जानकारी दिए । यस्तै संघका सचिव समिरमान सिंहले औषधीको अभाव विस्तारै बढ्न थालेको बताउँदै अहिलेसम्म जेनतेन चलिरहेको बताए । उनले बाहिरबाट थोरै परिमाणमा आउने गरेको बताए ।
सुनौली तथा अन्य ठाउँहरुबाट औषधी ल्याएर निर्वाह चलाई राखेको लुम्बिनी मेडिकल कलेज प्रभासका फार्मेसी कोर्डिनेटर मिलराज नेपालले बताए । उनले जीवन रक्षाका औषधीहरु र सलाइनहरु एकदमै घट्दो अवस्थामा रहेको बताउँदै कुनै पनि बेला औषधीको अभाव हुनसक्ने बताए । यस्तै युनाइटेड मिसन अस्पताल पाल्पामा पनि केही औषधीहरुको अभाव हुन थालेको अस्पतालले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले भने आफूहरुसँग तीन महिनासम्म पुग्ने औषधी स्टोरमा मौजदात रहेको बताएका छन् । वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले यस वर्ष स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महा शाखाले औषधी खरिद नगरेकाले जिल्लामा केही औषधीको मात्रा कम भएको बताए । अन्य जिल्लाको तुलनामा पाल्पामा औषधीको अभाव कम भएको बताउँदै उनले गत वर्ष केन्द्रबाट आएको औषधीले जिल्लाका स्वास्थ्य चौकीहरुलाई वितरण गरिरहेको जानकारी दिए । तर इन्धनको अभावले कतिपय स्वास्थ्य चौकीहरुमा औषधी पु¥याउन समस्या भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत घिमिरेले बताए । सरकारले निशुल्क दिने ७० प्रकारका औषधीमध्ये जिल्लामा सीटामोल, भिटामीन कम्पेल्क्स, जीवनजल, आइरन ट्याव्लेट, टिवी रोगको औषधी, कुष्ठ, परिवार नियोजन र बालबालिकाले लगाउने खोपको मौज्दात केही रहेपनि एन्टीभाईटीकलगायतका औषधीको अभाव रहेको नासु मोहराज सापकोटाले बताए ।
उनले जिल्लामा औषधी अभाव हुन नदिन जिल्लाबाट ४२ लाखको टेन्डर आह्वान भएको र बुटवलबाट पनि औषधीको नियमित आपूर्ति भइरहेको बताए । जिल्ला स्वास्थ्य कार्यालयमा अहिले कोटिूम दुई लाख, बालभिटा ५ लाख ८८ हजार, आइरन ६० हजार, जीवनजल ५ हजार, भिटामिन बी कम्प्लेक्स ६५ हजार, प्यारासिटामोल ६ लाख ट्याब्लेट, सिटामोल बच्चाको झोल ३ सय बोतल, सिप्रो ७५ हजार, एजिथ्रोमाइसिन एन्टिवाइटिक एक हजार र टिनीराजोल १० हजार स्टक रहेको कार्यालयले जनाएको छ ।

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *