पढाईलाई छेकेन उमेरले

४५ वर्षको उमेरमा कक्षा ११ को परीक्षा दिदै गाह

रामचन्द्र रायमाझी
पाल्पा, जेठ २/अध्ययन गर्न उमेर बाधक हुँदैन । ईच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाई हासिल गर्न सकिन्छ । धेरैको बाध्यता हुने गर्छ आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन नसकी सानो तिनो भएपनि जागिरमा लाग्ने । जागिरमा लाग्दा उमेरले नेटो काटिसकेको हुन्छ । तर मनमा पढ्ने थोको हुँदाहुँदै पनि उमेर बाधक बनिदिन्छ । उमेरले नेटो काटिसक्यो अब पढेर पो के गर्न सकिन्छ ? धेरैले यस्तै भन्ने पनि गर्छन् । तर कतिपय व्यक्ति यस्ता पनि हुन्छन्, जो न काम गरेर थाक्छन् न त अध्ययन गरेर नै थाक्छन् । बरु जिन्दगीमा पूरा गर्न नसकेका अधुरा ईच्छाहरु थोरै धेरै पैसा कमाएर पूरा गर्ने ध्याउन्नमा जुट्छन् । तिनै मध्येका एक हुन्, तिनाउ गाउँपालिका १ कचलका ४५ वर्षीय कुलबहादुर गाहा मगर । २०४९ सालमा एसएलसी पास गरेका गाहा बाँकी उच्च शिक्षा पढ्न काठमाडौं गएका थिए ।

सामान्य परिवारमा जन्मिएका उनी काठमाडौं जस्तो मंहगो शहरमा बस्न नसकेपछि कलेजबाट टान्सर्फर लिएर पुनः पाल्पा फर्किए । त्रिभुवन बहुमुखी क्याम्पस कक्षा ११ मा भर्ना भएका गाहालाई परीक्षा दिन पुनः काठमाडौं जानुपर्ने प्रक्रियागत झन्झटिलो हुनुको साथै आर्थिक संकट आइप¥यो । जसका कारण उनले पढाईलाई निरन्तरता दिन सकेनन् । आर्थिक अभावकै कारण गाहाको जिन्दगीमा उच्च शिक्षा हासिल गर्ने धोको पूरा हुन सकेन । २०५५ सालमा स्थानीय देवीश्वरी प्रावि दरबन्दीमा अध्यापन गराउन सुरु गरे । जागिरबाट थोरै धेरै कमाउन सफल भएका गाहाका दुई छोरी र एक छोरा रहेका छन् । उनका एक छोरीले स्नातक तह, अर्की छोरीले कक्षा ११ र छोराले कक्षा १२ मा अध्ययन गर्दै आएका छन् । तर पनि उनमा उच्च शिक्षा पढ्ने धोको मरेको छैन । विभिन्न परिस्थितिले बाल्यकालमै पढाई छुटे पनि उनको अध्ययन प्रतिको लगाव यथावतै थियो । एसएससीपछि रोकिएको पढाईलाई निरन्तरता दिने चाहानाकै बीच गाहा २०७५ मा स्थानीय ज्ञानोदय माविमा भर्ना भए । उनले अहिले कक्षा ११ को परीक्षा दिइरहेका छन् ।

तानसेन बुहुमुखी क्याम्पसको सेन्टरबाट कक्षा ११ को परीक्षा दिईरहेका गाहामा बाल्यपनको जस्तै जोस् र जागर देखिन्छ । उनको पढाईलाई न उमेरले छेक्यो, न त यो उमेरमा समाजले के भन्ला भन्ने चिन्ताले नै पिरल्यो । उनी भन्छन् ‘छोराछोरी उमेरका विद्यार्थीसँगै परीक्षा दिन पाउँदा खुसीको महशुस भएको छ ।’ पढाई नै सम्पति रहेछ गाहा भन्छन् । भर्खर शिक्षा आयोगले लिएको प्रावि तर्फको आन्तरिक परीक्षामा समेत सफल भएका उनी थपस्तर वृद्धिका लागि पनि पढाई आवश्यक रहेको बताउँछन् । अभाव, गरिबीका कारण एसएलसीपछि अघि बढाउन नसकेको पढाई गाहा जसरी पनि पूरा गर्ने ध्याउन्नमा छन् । अब उनको बाँकी जीवनको एउटै लक्ष्य छ, पढाई पूरा गर्ने । जीवनको मध्य भागमा आएर उच्च शिक्षाको सपना पूरा गर्ने उनी मात्र होइन सोही स्थानका ३४ वर्षीय भद्रबहादुर सुनारी र रिब्दीकोट ८ फेककी ३३ वर्षीया लक्ष्मी खड्का पनि बाल्यकालमा पूरा गर्न नसकेका सपना पूरा गर्न लागि परेका छन् ।

आर्थिक अभावकै कारण एसएलसी पछिको पढाई अघि बढाउन नसकेका सुनारी र खड्का पनि गाहासँगै अहिले कक्षा ११ को परीक्षा दिईरहेका छन् । तिनाउमा रहेको जनज्योती प्राविमा अध्यापन दुवै जनाले ज्ञानोदय माविमै भर्ना भई कक्षा ११ को परीक्षा दिइरहेका हुन् । यो उमेरमा पढ्नलाई अप्ठ्यारो लागेन भन्ने प्रश्नमा उनीहरु भन्छन्, ‘पढ्नलाई के को लाज ?’ उमेर छँदा पढ्न नपाएकोमा उनीहरुलाई पछुतो छ । त्यो समयमा पढ्न पाएको भए कस्तो हुन्थ्यो ? अहिले उनीहरु भन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *