न्यायिक समितिबारे नागरिक बेखबर

रमेश विश्वकर्मा
गुल्मी, जेठ १०/सरकारले स्थानीय तहमा हुने झै–झगडा, वादविवादहरु हल गर्नका लागि न्यायिक समिति गठन गरेको छ । स्थानीय तहहरुमा उपप्रमुख तथा उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति मार्फत स्थानीय नागरिकहरुको पक्षमा न्यायिक कार्य सम्पादन समेत भइरहेका छन् । तर केही स्थानीय तहमा भने समितिहरु निष्क्रियको अवस्थामा नै पुगेका छन् । न्यायिक समितिहरु नै निष्क्रिय हुँदा कतिपय स्थानीय तहमा न्यायिक समितिले गर्ने न्याय निरुपणका बारे स्थानीय नै बेखबर रहेका छन् ।
गुल्मी जिल्लामा पनि न्यायिक समितिबारे स्थानीय नागरिक बेखबर रहेको पाइएको छ । त्रिभुवन विश्व विद्यालय काठमाडौंबाट स्थलगत अध्ययनका लागि जिल्ला आएको समूहले गरेको अध्ययनमा न्यायिक समितिका विषयमा स्थानीयवासी नै बेखबर रहेको पाइएको हो । रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा गरिएको अध्ययन अनुसार अझै पनि घरपरिवार भित्र हुने गरेका झै–झगडा, विवाद र मुद्दा मामिला कि अदालत जाने कि त परिवारभित्रै गुम्साएर राख्ने गरेको अध्ययन समूहले बताएको छ । स्थानीय तहमा न्यायिक समिति छ भन्ने कुराको प्रचारप्रसार हुन नसक्दा स्थानीयहरु त्यहाँको पहँुचसम्म पुग्न सकेका छैनन् । अध्ययन पछि जिल्ला प्रशासन कार्यालयमा भएको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले कानुनी सल्लाहकार, दक्षता एवं अनुभवको अभावका कारण न्यायिक सम्पादनमा समस्या हुने गरेको भेटिएको बताएका छन् ।

अध्ययनले वैदेशिक रोजगारका कारण सम्बन्ध विच्छेदका घटना बढेको, सरकारले लक्षित वर्ग छुट्टाएर विभिन्न कार्यक्रमहरु वितरण गरेको भएपनि प्रभावकारी नदेखिएको, समाजमा मादक पदार्थ सेवनबाट धेरै प्रकारका हिंसाहरु निम्तिएको, पितृसत्तात्मक सोंच व्याप्त रहेको अध्ययनले देखाएको छ । त्यस्तै नागरीकहरुमा गुणस्तरीय शिक्षा आवश्यक रहेको, विस्तारै जनचेतना वृद्धि हुँदै गएको कार्यक्रममा जानकारी गराईएको थियो । अध्ययन समूहले विभिन्न १२ वटा विषयमा छुट्टाछुट्टै अध्ययन गरेको थियो ।
स्थानीय सरकारले लगाएको कर, न्यायिक समिति, महिलाहरुको आर्थिक साक्षरता, राजनैतिक सहभागिता, जलवायु परिवर्त लागयतका अध्ययनका विषयवस्तुहरु रहेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला समन्व्य समितिका समन्व्य अधिकारी पर्लाद पोखरेल, नागरिक समाजका पदमप्रसाद पाण्डेय, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि सञ्चारकर्मी लगायतको उल्लेखीय सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •