निस्दीमा कुलोबाट २६ किलोवाट विद्युत उत्पादन, गाउँनै झिलीमिली भएपछि स्थानीयहरु हर्षित

इमानसिं राना
पाल्पा (रामपुर), माघ २८/गाउँका अधिकांश वस्तीमा केही समय अघि सोलार बत्ती निकै भित्रियो । टुकीको उज्यालोमा बस्दै आएका स्थानीयहरुलाई सोलार वरदान सावित नै बन्न पुग्यो । इलेक्ट्रोनिक सामग्रीहरुको प्रयोगसंगै पछिल्लो समय सोलारले मात्रै विद्युत शक्तिको आपूर्ति नहुने भएपछि स्थानीय तहहरु यतिबेला कसरी हुन्छ ठूला विद्युत लाईन पु¥याउने र सौर्य विद्युतका लागि ठूला परियोजना सञ्चालन गर्ने भन्नेमा लागि परेका छन् ।
पाल्पाको पूर्वी भेग निस्दी गाउँपालिका १ का स्थानीयहरुले भने सिंचाईको लागि ल्याईएको कुलोबाटै विद्युत उत्पादन गरी गाउँनै झिलिमिली पारेका छन् । तत्काललाई ठूला आयोजनाका प्रसारण लाईनको सम्भावना नदेखेपछि स्थानीयहरुले डमरा भोटाहा सिंचाई आयोजनको कुलोबाटै २६ किलोवाट विद्युत उत्पादन गरेका हुन् । नवलपुर र पाल्पाको सीमानामा रहेको बौडीखोला र पाल्पाको बाकाखोलाको पानीबाट सञ्चालनमा आएको सिंचाई आयोजनालाई कुनै प्रभाव नपर्ने गरी विद्युत उत्पादन गरिएको हो । कुलोको पानीलाई १ सय ३० मिटर उचाईबाट खसालेर बौडीखोला दोस्रो लघु जलविद्युत सञ्चालनमा आएको हो । केही समय अघि सम्पन्न लघु जलविद्यतबाट निस्दी १ को डमरा, भोटाहा, अर्मलाङ्ग र पूर्वमलाङ्गका १ सय ८२ घर प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । लघु जलविद्युत सञ्चालन भएसंगै बालबालिकालाई पढाउन, विद्युतिय उपकरण सञ्चालन गर्न सहज भएको स्थानीयहरुले बताएका छन् । वडा १ डमराकी महिला सीता कार्कीले विद्युत उत्पादनसंगै दैनिक क्रियाकलापमा सहजता भएको बताइन् । ७२ वर्षिय वृद्ध भीमबहादुर अधिकारीले सोलार राखे पनि घाम नलाग्दाको समयमा अध्याँरोमा बस्नुपर्ने बाध्यता रहेकोमा विजुली आएपछि सदावहार उज्यालोमा बस्न पाएको बताए । बुद्धि विकास प्राथमिक विद्यालयका शिक्षक चिन्तामणी पाण्डेले बालबालिकालाई रातको उज्यालोमा पढ्न र विद्यालयमा इलेक्ट्रोनिक शैक्षिक सामग्री सञ्चालन गर्न निकै सजिलो भएको उल्लेख गरे । जलविद्युत आयोजनाको धौलागिरी सामुदायिक स्रोत केन्द्रको सहजीकरणमा सिनर्जी डेभेलपमेण्ट कन्सल्टेन्सीले ४ वर्ष अघि सर्वे गरेको थियो । निर्माण सुरु वैकल्पिक ऊर्जा मार्फत गत वर्षदेखि भएको थियो । स्थानीयको जनश्रमदान र नगद ३१ लाख, साविक गाविस र स्थानिय तहको २६ लाख र वैकल्पिक उर्जाको ६२ लाख ४० हजार गरी झण्डै १ करोड १९ ला ४० हजारभन्दा बढीको लागतमा बौडीखोला दोस्रो लघु जलविद्युत आयोजनाका अध्यक्ष चन्द्रबहादुर रानाले बताए ।
लघु जलविद्युतको पहुँचमा सिङ्गो वडा : 
बौडीखोला दोस्रो लघु जलविद्युत आयोजना सम्पन्नसंगै निस्दी १ को सम्पूर्ण बस्ती विद्युतको पहुँचमा पुगेको छ । वडाभित्र रहेका खोलाको पानीबाट २ वटा लघुविद्युत र ३ वटा पेल्ट्रिक सेट सञ्चालनमा ल्याई ४६ किलोवाट विद्युत उत्पादन भएसंगै वडाका बस्ती विद्युतको पहुँचमा पुगेको हो । केही समय अघिसम्म १ वटा लघु जलविद्युत र ३ वटा पोल्ट्रिक सेटबाट २० किलोवाट विद्युत उत्पादन गर्दै आएकोमा गाउँपालिका मै ठूलो २६ किलोवाटको बौडीखोला दोस्रो लघु जलविद्युत आयोजना सम्पन्नपछि वडाका बस्तीहरु विद्युतको पहुँचमा पुगेको हो । वडाको ५ सय ९९ घर मध्ये साविक बाकामलाङ्गको वडा ७ को ५० घर बाहेक ५ सय ४९ घरमा विद्युत पुगिसकेको छ । बाँकी ५० घरको लागि पनि विद्युत पुग्ने भएपनि स्थानीयले सक्रियता नदेखाउँदा विद्युत पुग्न नसकेको वडा कार्यालयले जनाएको छ ।
निस्दी गाउँपालिका १ का वडा अध्यक्ष पूर्णबहादुर खाँणले पछिल्लो बौडीखोला दोस्रो लघु जलविद्युत आयोजनाले १ सय ८२ घर परिवारलाई समेतेसंगै ५ सय ४९ घरमा विद्युत पहुँच पुगेको बताए । उनले भने, ‘छुटेका ५० घरलाई पनि बौडीखोला दोस्रो लघु जल विद्युतको डिपिआर निर्माणको क्रममा समावेश गरेपनि स्थानीयहरु आफै समावेश हुन नचाहेको बताए । हामी ५० घरलाई आयोजनामा समावेश गरेर वडालाई विद्युत पहुँचमा ल्याउने प्रयासमा छौं ।’ यस अघि बौडी खोला लघु जलविद्युतबाट १३, पोखरी पोल्ट्रिक सेट बाट २ किलोवाट, चारघरे पेल्ट्रिक सेटबाट २ किलोवाट र लेखमलाङ पेल्ट्रिक सेटबाट ३ किलोवाट विद्युत उत्पादन भएको थियो ।

  • 638
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    638
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *