निस्दीका किसान कोदो खेती जोगाउँदै : धान रोपाई सकेर कोदो रोप्ने चटारो

खेतमा धान रोपाई सकेर बारीमा घुसुवा बालीको रुपमा कोदो रोप्दै निस्दी १ बाकामलाङ्गका कृषकहरु । यतिबेला निस्दीका किसानहरुलाई कोदो राप्ने चटारो रहेको छ । जिल्लाबाटै कोदो खेती लोप हुँदै जान थालेका बेला निस्दीका अधिकांश किसानहरुले कोदो खेतीलाई निरन्तरता दिएका छन् ।
मुख्य अन्नबालीको रुपमा रहेको कोदो स्वास्थ्यको लागि लाभदायक भएपनि पछिल्लो समय कोदो खेती प्रतिको किसानको आकर्षण घट्दै गएको छ । पाल्पामा दुई हजार ५ सय ३७ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको भएपनि अहिले कमै क्षेत्रमा कोदो खेती गर्ने गरेको पाइन्छ । गाउँघरमा हेपिएको कोदो अहिले सहरबजारतिर खोजीखोजी खाना थालिएको छ । किसानले यसको महत्व थाहा नपाउँदा र काम गर्न अल्छीले खेती गर्न छाडेकाले हिजोआज आफ्नै खेतबारीमा फलाउन सकिने कोदो किनेर खानुपर्ने अवस्था रहेको छ । सडक सञ्जाल विस्तारसँगै तराईबाट पहाडमा चामल, गहुँ लगायत अन्न भित्रिन थालेपछि पोषिलो कोदोप्रतिको आकर्षण घट्दै गएको हो । विगतमा जिल्लाका बल्डेढी, सत्यवती, जुठा, कचल, मित्याल, खानीगाउँ लगायत क्षेत्रका किसानहरुले कोदो खेती गर्दै आएपनि अहिले क्रमशः छोड्दै गएका छन् । स्थानीय तहमा कृषिको वजेट र कार्यक्रम गएकाले त्यसको सम्भाव्यता अध्ययन गरी संरक्षण र जर्गेना गर्ने तर्फ अब सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ  ।

                                                                                –तस्वीर : रामचन्द्र रायमाझी/इमान सिं राना/नवजनचेतना दैनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •