नारी साहित्य प्रतिष्ठानद्वारा पाल्पामा स्रष्टा र सिर्जना

पाल्पा,असोज १३/जिल्लामा हुने साहित्यिक कार्यक्रममा प्राय जसो सहभागी र अतिथिहरुबाटै सिर्जना वाचन हुने गर्दछन् । कहिले एकल वाचन, कहिले संयुक्त रुपमा खुला सिर्जनावाचन हुँदै आएका छन् । नेपाली साहित्यको श्रीवृद्धिका जिल्लामा रहेका साहित्यक संघसंस्थाहरुले आ–आफ्नै तरिकाले साहित्यक गतिविधिहरु सञ्चालन गर्दै आएको पाइन्छ । नारीहरुको सक्रियतामा स्थापना भएको नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाले भने आईतबार एउटा अलग्गै साहित्यिक कार्यक्रम स्रष्टा र सिर्जनाको आयोजना ग¥यो । सम्भवत जिल्लामा पहिलो पटक आयोजित यो कार्यक्रमबाट प्रतिष्ठानले आफ्नो पहिचानलाई थप मजवुद बनाएको छ । पर्यटकीय नगरी तानसेनमा भएको स्रष्टा र सिर्जना कार्यक्रममा विभिन्न जिल्लाका छ जना साहित्यकारहरुले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।
प्रतिष्ठानले साहित्य तथा संस्कृतिको संरक्षणका लागि श्रृंखलावद्ध रुपमा साहित्यकार तथा श्रष्टाहरुलाई छनौट गरी स्रष्टा र सिर्जना कार्यक्रमलाई अगाडि बढाउने प्रयास गरेको प्रतिष्ठानकी अध्यक्ष मन गहिरेले बताईन् । कार्यक्रममा पाल्पाली साहित्यकारहरु टंक पन्त, लक्षिमा ज्ञवाली, जनक कार्की,जानका नेपाल, काठमाडौंकी साहित्यकार,सुशिला ढकाल,म्याग्दीका साहित्यकार लोकनाथ भूषाल ‘घायलश्री’ ले देशप्रतिको चिन्ता, मानवीय संवेदना तथा जीवनका भोगाइ,ग्रामीण क्षेत्रको यर्थात् लगायतका विषयलाई सिर्जनामार्फत व्यक्त गरेका थिए । उनीहरुले देशको पीडा, विदेसिनुपर्ने युवाहरूको कथा, आमाको ममता, प्रकृतिको सुन्दरता जस्ता विषयका कविता बढी सुनाए ।

कार्यक्रममा प्रमुख अतिथि तथा तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले स्रष्टा र सिर्जना जिल्लामै नौलो कार्यक्रम रहेको बताईन् । प्रतिष्ठानले साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै उनले आगामी दिनमा नगर सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा लुम्विनी वाङ्गमय प्रतिष्ठानका अध्यक्ष सालिकराम पौड्यल, वरिष्ठ साहित्यकार चोलेश्वर शर्मा लगायतले प्रतिष्ठानले आयोजना गरेको स्रष्टा र सिर्जना कार्यक्रमको प्रसंसा गरे । सोही अवसरमा प्रतिष्ठानका लागि स्र्गीय हरि, पवित्रा, लोक, अम्विका काफ्लेको स्मृतिमा मनकुमारी काफ्लेले साहित्यक पुरस्कार स्थापनाका लागि ५० हजार अक्षयको स्थापना गरिदिएकी छन् । उक्त रकम अक्षयकोषदाताको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सुचिव झपेन्द्र गहिरेले प्रतिष्ठानकी अध्यक्ष मन गहिरेलाई हस्तान्तरण गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गहिरेको अध्यक्षता, सदस्य सरिता रेग्मीको स्वागत, मञ्जु कोइराला र चेतना थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।