ननिदाएको रात

केशु मगर

‘केशु, अझैसम्म नसुत्नुभाको हजुर ?’ करिब चार महिनापछि आएको उसको म्यासेजले झस्किए । खुशीले होला, च्याटबक्सले रातो रङसँगै उसको म्यासेजको भव्य स्वागत गर्यो । म भने छक्क परे । किनभने मेरो नाम किटान गरेरै उसले म्यासेज पठाएकी थिइ ।
‘हाई, के छ खबर ? सन्चै होला है ?’ आफ्नै प्रश्न राखे मैले । उसको जवाफ दिन आवश्यक ठानिन । म ‘तिमी भनौ या तपाई भनौ’ भन्ने सम्बोधनहरुको ढुाबिच च्यापिए । ‘म सन्चै छु । अनि हजुरलाई कस्तो छ ?’ फेरि म्यासेन्जरको घन्टी बज्यो । ‘ठीकै छु ।’ मैले छोटो म्यासेज घचेटें । खासमा मलाई उसँग धेरै बोल्नु थिएन । एक चोटी दिल टुटेपछि स्वार्थ हेर्ने बानी बसिसकेको थियो मलाई । अब उसँग कुरा गरेर मलाई कुनै फाइदा पनि त मिल्दनथ्यो । ‘ओहो ¤ आजकल त पूरा रातीराती अन बस्नुहुदोरैछ त । के छ हं तेस्तो ? भन्नुस् न हौ भन्न मिल्छ भने ।’ यसपटक भने उसले व्यङ्ग्यको झटारो हानिन् । उसको व्यङ्ग्यको तिर मेरो मनमै लाग्यो । मन चसक्क दुख्यो । फेरि आफैलाई सम्हाले । रिप्लाई गर्नुको साटो नजर स्कृनको टुप्पोतिर चढाए ।

सामसुङ्ग जेटु मोबाइलको फ्रन्ट क्यामेराको ठ्याक्कै तलपट्टि नजर अड्याए । आखालाई अझै ठूलो पार्दै हेरे । समय रातको ११ बजेर ४९ मिनेट हुँदै थियो । सायद मपनि करिब चार महिनापछि यति अबेरसम्म अन बस्दै थिए । ‘कतै तिमीले फेरि पहिले जस्तै बोलाउँछौ कि भनेर अन बसेको हुन्छु आजकल । खासमा आजपनि तिमीलाई नै कुरेर बसेको थिए ।’ यस्तै जवाफ लेखिसकेको थिए । फेरि पठाउन मन लागेन । एक चोटी टाढा भैसकेको मान्छेलाई फेरि नजिक ल्याएर मन दुखाउन चाहिन । अनि सबै म्यासेज क्लियर गरे । ‘नाई त्यस्तो केहीपनि होइन । यदि भाको नै भएपनि मैले झुट कहिले बोल्थे र तपाईसँग ।’ अहिलेभने तपाईं सम्बोधन गरेर रिप्लाई गरे । म्यासेज सिन हुने बित्तिकै उसले दुइटा रिसाएको संकेत दिने इमो पठाई ।

‘अब मपनि तपाई भए है हजुरको लागि । ठीकै छ । नबोल्नुस् । हामी त टाढाको न प¥यौ ।’ फेरि स्याड इमो सहितको रिप्लाई पठाई उसले । सायद उ रिसिई । मैले तत्काल रिप्लाई दिन सकिन । हुन पनि म पहिले तिमी भन्थे उसलाई । ‘हजुरले तिमी भनेर भन्नुहँुदा म हजुरको आफ्नै नजिकको मान्छे भैसकेकी रहेछु भनेर आभाष गर्छु ।’ उ यस्तै भन्थी  । मैले पनि उसलाई आफ्नै नजिकको मानिसकेको थिए । ‘त्यसो भए म के भनु त ? तपाईं आफै भन्नुस् त ।’ मैलेपनि आफ्नो जित छोडिन । तपाई नै भनिदिए । तिमी भन्नलाई अब म उसको मनमा थिइन । तर मेरो मनमा उनी सधै बसिरही । कहिल्यै निस्केर गैइनन् । ‘भयो के भयो । नबोल्नुस् ।’ अझै उसको रिस घटेन  । उसको रिसको आगोलाई मेरो प्रेमले शान्त पार्नुपर्छ भन्ने सोंचे र लेखे  । ‘सरी ल ¤ अब तिमी नै भन्छु ।’ ‘सरी भनेर मलाई टाढाको नबनाउनुस् । तर अबदेखि यो तपाईं रहजुर नल्याउनुस् मसँग । हस ?’ उसले आँखा झिम्क्याएको इमो सहित रिप्लाई गरी । ‘हस !’ आज्ञाकारी छात्र झै मैले छोटो जवाफ फर्काए । मलाई थाहा थियो, उसको रिसको विशिष्ट तापधारण क्षमता एकदमै कम थियो । त्यसैले उनी छिट्टै रिसाउथिन् । फेरि छिट्टै फकिन्थिन् । र आज म एकदमै खुशी थिए, किनभने उसको त्यो स्वभावमा कुनै परिवर्तन थिएन । ‘मलाई किन सम्झिनु भएन यत्रो महिना ? मेरो याद आएन हजुरलाई ?’ उसको यस्तो म्यासेजले म अक्क न वाक्क भए । आज किन उसले चार महिनापछि यस्तो कुरा गरी, बुझ्नै सकिन । दिमागमा कौतुहल्ताको ठूलो ताल जम्यो । त्यही ताल माथि उसलाई गर्ने मेरो प्रेम तैरिन थाल्यो । म थोरै भावुक बने । ‘आउथ्यो नि तिम्रो याद जतिखेरै पनि । अझैपनि म सम्झिरहन्छु । तिमीलाई चाहीँ मेरो याद आएन ?’ आशु जोडिएको इमो सहित रिप्लाई गरे । ‘मपनि त सम्झिरहन्थे हजुरलाई सधँै । हजुरले एकपटक बोलाउनुभए हुन्थ्यो जस्तो लाग्थ्यो ।

त्यस दिनपछि त मलाई हजुरलाई बोलाउने आट नै आएन । हजुरले बोलाउनु भएन ।’ सायद उ भावुक बन्दै थिइ । यत्ती रिप्लाई पठाउन उसले धेरै समय लिई । ‘तेसो भए एउटा कुरा भनु ?’ मैले झट्ट रिप्लाई फर्काए । ‘एउटा किन ? हजार भन्नुस् न हजुर ।’ बुलेटकै गतिमा उसले रिप्लाई फर्काई । ‘त्यसो भए हामी फेरि एक बनौं न है ¤ यदि हामी एकले अर्कोलाई सम्झिरहन्छौ भने । दुइतिर दुई जनाले मन दुखाएर बस्नुभन्दा फेरि मिलेर अगाडि बढौ न ¤’ बडो हिम्मत जुटाए र टाइप गरे ।
टाइप गरिसकेपछि पठाउ या नपठाउ भन्ने प्रश्नले फेरि च्यापिए । अन्तमा मनले पठाउ भन्ने निर्देशन दियो । हातको बुढी औलाले निर्धक्कसाथ आफ्नो जिम्मेवारी पूरा ग¥यो र सेन्डको एरो चिन्ह दबायो । म्यासेज सिन भयो । तर रिप्लाई आएन । त्यस्तो म्यासेज पठाएर गल्ती गरे कि जस्तो लाग्यो । चित्त दुखाए कि झै लाग्यो । ग्लानीले अनुहार खुम्चिएर सानो भयो । मन डरायो । कुनै ठूलै रोगले थलिएको बिरामीले आफ्नो रिपोर्ट कुरेको बेलाजस्तै म छट्पटिए । मुटु यसरी धड्कियो कि मानौ म एसएलसी परीक्षाको रिजल्ट कुर्दै थिए र एक्जाम नराम्ररी बिग्रिएको थियो । म्यासेज पठाएको पन्ध्र मिनेट भयो । अझै रिप्लाई आएन । हेर्दाहेर्दै उसलाई एक्टिभ फाइभ मिनेट एगो देखायो । अब भने म ढुक्क भए, उसको रिप्लाई आउँदैन भनेर । आँखामा भरिएको आशुलाई चिम्म गरेर खसाले । अनि मोबाइललाई छातीमा दुई हातले छोपेर बसे । फेसबुकको ‘पिपुल यु मे नो’ मा बारम्बार उ देखा परेकी थिइ । चन्द्रगिरी हिल्सको लभ साइनमा बसेर खिचेको फोटो उसको प्रोफाइल पिक्चर थियो । सुरुमा मैले खासै वास्ता गरेको थिइन । पन्ध्र दिनसम्म ‘पिपुल यु मे नो’ मा आएर मेरो नजरलाई स्टप सिग्नल दिएपछि, एकदिन म रोकिएको थिए । त्यसदिन नै उसको प्रोफाइल चेक गरेर केही महत्वपूर्ण कुराहरु पत्ता लगाएको थिए ।

उ ब्याच्लर पढिरहेकी थिइ । घर स्याङ्जा र हाल बुटवल । चन्द्रगिरीको लभ साइनमा बसेर खिचेको प्रोफाइल पिक्चरको क्याप्सन ‘यसरी नै सधँै बस्न मन छ तिम्रो मुटुमा’ भन्ने थियो Þयासट्यागमा लेट अपलोड लेखिएको थियो । साहित्यप्रति रुचि राख्ने उसको र मेरो बिच करिब सयभन्दा बढी म्यूचुअल फ्रेन्ड थिए । जुलाई पन्ध्रमा जन्मदिन पर्ने उसको मुख्य रुचि नै साहित्य थियो । अन्य रुचीमा गाउने नाँच्ने अनि नयाँ ठाउँ घुम्न मन पराउथिन् । केटा नै भएपनि म कमै केटी साथीहरुलाई रिक्वेस्ट पठाउथे । तर घर, हाल बसेको ठाउँ, म्युचुअल फ्रेन्ड, उसको रुचि बारे बुझेपछि उसलाई फ्रेन्ड रिवेस्ट पठाउँदा कुनै अप्ठ्यारो पर्दैन जस्तो लागेको थियो । र मैले ‘बिनिता’ नामको आइडीमा रिवेस्ट पठाएको थिए । रिक्वेस्ट आफैले पठाएपनि मलाई कुनै चासो भने थिएन । उसले भने रिवेस्ट पठाएको पाँच मिनेट भित्रै एसेप्ट गरेकी थिइ । मैले ‘थ्यान्क यू फर असेप्ट मी’ भनेर नलेख्दै ‘थ्यान्क यु फर एड मी’ भनेर उसैले पठाएकी थिइ । त्यसपछि भने मेरो चासो बढेको थियो । सुरुका दिनहरुमा बोलचाल पातलो हुन्थ्यो । हामी दुबैजना कम बोल्थ्यौ । बिस्तारै बोलचाल बाक्लियो । उसको म्यासेज कुर्न च्याटमा आँखाहरु थाक्न छोड्यो । औलाहरु मोबाइलको किप्याडमा र नजर च्याटमा झुण्डिरहन थाल्यो । फेसबुक एउटा बाहना हुन्थ्यो, खासमा उसलाइ भेट्ने चाहना हुन्थ्यो । यसरी कुरा लम्बिदै गएपछि हामी दुबैलाई लाग्यो, हामी प्रेममा छौ । ‘हजुरसँग एउटा कुरा सोधु ?’ उसले एकदिन सोधेकी थिइ । ‘भन्नुस् न । एउटा किन ? मनमा भएजती भन्नुस् न है ।’ मैल जिस्काएको थिए । ‘हजुरले मलाई तिमी भन्नुस् न है मलाई ।’ उसले अनुरोध गरेकी थिइ । ‘किन ?’ च्याटबाटै मैले सोधेको थिए । ‘हजुरले तपाईं भन्दा, म हजुरको टाढाको हँु कि जस्तो लाग्छ ।’ ‘त्यसो भए सधैँ सधैँको लागि मेरो नजिककै भैदिनुस् न । अनि म तिमी भन्छु ल ।’ मलाई जिस्किन गज्जब लागिरहेको थियो । ‘हजुरको नजिकैको मान्छे त अरु कोही नै पो छ कि ?’ उसले अविश्वासको प्रस्ताव पेश गरेकी थिइ । ‘तिमी बाहेक कोही छैन मेरो ।’ मैले सत्य जवाफ दिएको थिए । हुनपनि आजसम्म मलाई बुझ्ने कोहि आएका थिएनन् । ‘मेरो पनि ।’ दुइटा पानको धब्बा समेत उसले पठाएकी थिइ । बदलामा मैले चार÷पाँच वटा पठाएको थिए । त्यसपछि मैले नम्बर मागेको थिए । उसले मेरो मागेकी थिइ । हामीले नम्बर साटेका थियौ । हामी फेसबुकबाटै साथी बनेका थियौ र साथीबाटै हुनेवाला जीवनसाथी पनि । मेरो लागि उसको बोलीमात्रै यस्तो थियो, जुन सुनेर कान कहिल्यै पाक्दैनथ्यो । मेरो कथाहरुको पहिलो पाठक उनी हुन्थिन् । उसले लेखेको कविताहरुले सबैभन्दा पहिले मलाई छुन्थ्यो । उसको स्टाटस फोटोहरुमा पहिलो लभ रियक्ट मेरै हुन्थ्यो । मेरोमा पहिलो कमेन्ट उसले गर्थी । उ चञ्चले केटी थिइ । सानै कुरामा रिसाउथिन् । र सानै कुराले फकान्थिन् । रिसाएको बेला उसको स्वर दबिन्थ्यो । म त्यही स्वर सुन्न लालयित हुन्थे । मलाई उसलाई रिस उठाउन मज्जा लाग्थ्यो । म उसलाई सताईरहन्थे । उपनि मलाई सताइरहन्थिन् । म अन्तरमूखी स्वाभवको मान्छे थिए । तर उसको संगतले मेरो व्यवहारमा अन्तर आइसकेको थियो । बाबा लाहुरे थियो उसको । खर्चमा कुनै कन्जुस्याइँ गर्दिनथी । दाईहरु सबै लाहुरे थिए । मेरो अवस्था भने ठ्याक्कै विपरीत थियो । डकर्मी काम नै बाबाको आम्दानीको मुख्य श्रोत थियो । बाबा कै भरमा हामी तीन भाई र दुई बहिनी पढिरहेका थियौ । मैले अझैसम्म जागिर गर्न सकिराको थिइन । म लोकसेवाको तयारीमा थिए । घरको आर्थिक अवस्था फरक भएपनि उसको र मेरो मन एउटै थियो ।

हाम्रो विचार एउटै हुन्थ्यो । म उसलाई भेट्न बुटवल गैरहन्थे । हामी कतिपटक हिलपार्क गयौ । कतिपटक फुलबारी गयौ । पहिले जिन्दगी सादा लाग्थ्यो । उसलाई भेटेपछि जिन्दगी रंगीन बन्दै गएको थियो । म साथमा भएपछि उसको मुहारमा पनि खुशीहरु आफै फुल्थे । जे होस्, हामी एकाअर्काको लागि बनेका थियौ । उपनि मलाई भेट्न तानसेन आइरहन्थी । हामी कतिपटक श्रीनगर गयौ, यकिन छैन । श्रीनगरको उकालो सिढीमा कतिपटक उसलाई उसको हात समाएर चढ्यौ याकिन छैन । कुनै लेखाजोखा छैन । हामी बेला बेला रानीमहल जान्थ्यौ । केहि छिनकै लागि भएपनि म राजा बन्थे । उनी रानी बन्थिन् । हामी हाम्रै कल्पना चुर्लुम्म डुबिरहन्थ्यौ । हामीले एउटा रंगीन सपना देखेका थियौ । सुन्दर भाविष्य साचेका थियौ । मीठो कल्पना गरेका थियौ । उ मलाई बेहद माया गर्थी । मपनि आफुलाई भन्दा बढी उनैलाई प्रेम गर्थे । हामी यस्तै सोच्थ्यौ, विश्वासको एउटा सानो झुपडी होस्, एकलाई अर्काको साथ, एउटा छोरा र छोरी अनि खुशी नै खुशीहरु । हामीले करिव एक वसन्त पार गरेका थियौ मायाको । हामी विश्वासको टायर हालेर सम्बन्धलाई अगाडि बढाईरहेका थियौ । हाम्रो सम्बन्धको हामी, दुई टायर जसरी नै थियौ । ‘केशु, अब हाम्रो सम्बन्धा योभन्दा अगाडि जान सक्दैन ।’ दुःखद कुरा थिएन त्यो । उसले त अनौठो कुरा गरिरहेकी थिई । सम्बन्धको बाँया टायर पन्चर हुने अवस्थामा थियो सायद । म धेरै बोल्न सकिन । किनभने मेरो लागि कहिल्यै नसोचिएको वाक्य थियो । ‘किन ?’ मैले यत्ती मात्रै भनेको थिए । सायद हामीले देखेको सपना विश्वासको थिएन । सिसाको थियो जुन फुट्नै आटेको थियो । ‘मसँग कुनै कारण छैन । तर अब हामी छुट्टिनु बै बेस हुन्छ ।’ निर्धक्क भएर उसले भनेकी थिइ । सायद मलाई चोखो माया गरेकी भए, उसले यस्तो कुरा नै गर्दैनथी । मलाई जवाफ दिन आएन । उसले फोन काटिदिएकी थिइ । यता मेरो मन टुक्रिएको थियो । उसले सँगसँगै हाम्रो सम्बन्ध काटिदिईन् । हामीले बिना कारण प्रेम गरेका थियौ, र बिनाकारण नै हाम्रो सम्बन्ध टुक्रिएको थियो । त्यसपछि फेरि उसँग कुरा भएन । कुरा गर्ने चाहना भएर पनि मन अघि सरेन ।

मनबाट भने उनी कहिल्यै हटिनन् । मनबाट नहट्ने मान्छेलाई फेसबुकबाट हटाउन मानेन र हटाइन । तर कुरा फेसबुकमा कुरा गरेनौं । उसको नम्बर मनभरी सेभ थिए । मनमा सेभ भएको नम्बर कन्ट्याक्ट लिस्टबाट हटाउन मानेन र हटाइन । तर फोनमा कहिल्यै कुरा गरेनौं । यसरी कुरा नहुँदा नहुँदै हामी दुवैले चार महिना कटाएका थियौ । छातीको मोबाइल तर्सियो । फोन भाइब्रेसनमा थियो । हत्तपत्त उसको म्यासेज हेरे । ‘केशु, धेरै रातीसम्म अनिदो नबस्नुस् । बिरामी भइन्छ ।’ मैले अपेक्षा गरेको उत्तर थिएन यो । सायद उ मसँग प्रेमबारे कुरा गर्न चाहन्नथी । फेरि एकचोटी पलाउन लागेको मेरो प्रेमको मुना भाचियो । धेरै सोंच्न सकिन । धेरै कुरा टाइप गरिसकेको थिए । फेरि सबै क्लियर गरिदिए । र लेखे, ‘अनि तिमी चाहिँ नसुत्ने ? अनिदो बसेपछि तिमीपनि त बिरामी हुन्छौ नि ।’ ‘नाई, मेरो हजबेन्ड अब अन आउने बेला भएको छ । म उहाँलाई नै कुरिराखेकी हुँ ।’ उसको म्यासेज पढेपछि मन भारी भयो । उसको त्यो ‘हजबेन्ड’ शब्दमा यति वजन थियो कि, म थिचिए । आँखाहरु गह्रौं भए । आँखाको डिलबाट आशुहरु पोखिए । औलाहरुमा ब्रेक लाग्यो । उसलाई रिप्लाई दिन सकिन । ‘उहाँ अमेरिकामा हुनुहुन्छ नि त । तीन महिना भयो जानुभाको ।’ फेरि उसैले म्यासेज गरी । ‘ए मलाई निद्रा लाग्यो । म सुते ल ।’ बल्लबल्ल यति म्यासेज लेखे र सेण्ड गरे । सेण्डगर्ने बित्तिकै डाटा अफ गरेर बसे । तर खासमा मलाई निद्रा लागेको थिएन । त्यो रात म रातभरी अनिदो बसे ।

  • 369
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    369
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *