नगर सरकारको अभियान, घर–घरमा निःशुल्क स्वास्थ्य परीक्षण

कृष्ण पोखरेल
पाल्पा, पुस १४/६० वर्ष उमेर माथिका जेष्ठ नागरिक, सुत्केरी महिला तथा नवजात शिशु र फरक क्षमता भएका नागरिकहरुलाई तानसेन नगरपालिकाले निःशुल्क रुपमा घर–घरमा पुगेर स्वास्थ्य सेवा दिने भएको छ ।
अस्पतालसम्म जान नसकेका जेष्ठ नागरिक, सुत्केरी र फरक क्षमताका व्यक्तिहरुलाई संविधानमै उल्लेख गरिएको मौलिक अधिकार अन्तर्गत तानसेन नगर सरकारले यो अभियान शुरु गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गरी घर–घरमा सिंहदरबार भन्ने सरकारको नारालाई सार्थक बनाउन घर–घरमा पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागेको नगरपालिकाले जनाएको छ । नगर सरकारले पहिलो चरणमा नगरका ग्रामीण भेगका वडाहरुलाई लक्षित गरी स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने भएको हो । कार्यक्रममा पौष १६ गतेदेखि तानसेन नगरपालिका वडा १३ बौघागुम्वाको छेर्लुङ्गबाट निःशुल्क रुपमा घर–घरमा स्वास्थ्य सेवा प्रदान गर्न लागिएको नगरप्रमुख अशोककुमार शाहीले बताए । मेडिकल अधिकृत सहितको ३ वटा टोलीले छेर्लुङ्गका जेष्ठ नागरिक २ सय ७० जना, सुत्केरी ५० जना र ३३ जना फरक क्षमताका व्यक्तिहरुका घरमै पुगेर स्वास्थ्य परीक्षण र औषधी वितरण गरिने नगर प्रमुख शाहीले जानकारी दिए ।

गत वर्षदेखि घर–घरमा निःशुल्क स्वास्थ परिक्षण कार्यक्रम लागुगर्ने साेंच बनाएपनि तानसेन नगर सरकारले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागु गरेको हो । घर–घरमा पुगेर नगरपालिकाबाट खटिएको स्वास्थ्य टोलीले विशेषज्ञ सेवा सहित विभिन्न किसिमका स्वास्थ्य परीक्षण सहित मधुमेह रोगको रगत र आँखा परीक्षण निःशुल्क रुपमा गरिने प्रमुख प्रशासकीय अधिकृत किर्तनराज पौडेलले बताए । स्वास्थ्य परीक्षण टोलीमा जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज र मिशन अस्पतालबाट एक÷एक जना मेडिकल अधिकृत, नर्स, अनमी अहेव, ग्रामीण स्वास्थ्य कार्यकर्ता गरी एक टोलीमा ५ जना जनशक्ति सहितकोे ३ टोली नगरवासीको घर घरमा पुगेर निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने तानसेन नगरका स्वास्थ संयोजक श्रीबहादुर रानाले बताए । स्वास्थ्य परीक्षणको क्रममा देखिएका जटिल विरामीहरुलाई अन्य अस्पतालमा रिफर गरी सहज रुपमा उपचारको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । टोलीले प्रत्येक पन्ध्र/पन्ध्र दिनमा नागरिकको घरमा पुगेर उपचार सेवा दिनेछ ।

महिलाहरुको लागि नगरपालिकाले निःशुल्क रुपमा पाठेघर मुखको क्यान्सर परीक्षणका लागि वडा वडा तहमा शिविर सञ्चालन गर्दै आएको र स्वास्थ्य बीमाको शिर्षकमा नगरपालिकाले ५० लाख रुपैयाँ खर्च गर्न उपप्रमुख लक्ष्मीदेवी पाठकले बताइन् । यसैगरि आर्युवेदिक अस्पतालले पनि नगरको वडा १, २ र ६ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उपप्रमुख पाठकले बताइन् । चालु आर्थिक वर्ष भित्र १ हजार २ सय ६८ नवसुत्केरी, ३ हजार ८ सय ३० जेष्ठ नागरिक, ५ सय ३ फरक क्षमता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने छ । घर–घरमा निःशुल्क स्वास्थ्य कार्यक्रमको लागि चालु आ.व.मा १६ लाख ४० हजार रकम विनियोजन गरिएको र आवश्यकता अनुसार रकम बढाउँदै लैजाने नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्वास्थ्य कार्यक्रमका लागि १ करोड रकम विनियोजन गरेको जनाएको छ । कार्यक्रमको सञ्चालन तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आचार्यले
गरेका थिए ।

  • 145
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    145
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *