धुलोका कारण श्वास प्रश्वासमा संक्रमण बढ्दो

इमानसिं राना
पाल्पा (रामपुर),  रामपुर अस्पतालमा हिजोआज दैनिक १५ जना भन्दा बढी बिरामी श्वास प्रश्वासका समस्या लिएर पुग्ने गरेका छन् ।
यता रामपुर बेझाँड बजारको श्रेष्ठ मेडिकलमा पनि दैनिक ४० जना भन्दा बढी श्वास सम्बन्धी रोगको उपचारका लागि पुग्छन् । यि दुई स्वास्थ्य संस्थामा मात्र होइन जिल्ला तथा देश भरको समस्या यस्तै छ । लामो समयको खडेरीसंगै सुख्खा मौसम र उत्पन्न धूलोका कारण श्वास प्रश्वासका बिरामीको संख्या बढेको हो । विगतमा भन्दा यसवर्ष लामो समय खडेरी रहेकाले समस्या बढेको हो । खडेरीले उत्पन्न धुलोबाट रुघाखोकी, बालबालिकामा निमोनिया, वयस्कहरुमा घाँटीको एलर्जी, थाईराईड बढ्ने, छाती दुख्ने, वृद्धहरु तथा महिलाहरुमा दम लगायतका समस्या देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । साथै आँखामा पनि समस्या देखिने गरेको छ । पाल्पाका सरकारी अस्पताल, स्वास्थ्यचौकी तथा स्थानीय मेडिकलमा धेरै श्वास प्रश्वासका बिरामी आउँने गरेका छन् । रामपुर अस्पतालमा आउँने बिरामी मध्ये २५ जनाको परिक्षण गर्दा १५ जनासम्म श्वास प्रश्वासका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । मोटरसाईकलमा यात्रा गर्ने मध्ये दैनिक तीन जनासम्म श्वास फेर्न अप्ठ्यारो भएर आउँने गरेको छ । श्रेष्ठ मेडिकल हलका सञ्चालक राजकुमार श्रेष्ठले पनि विगतका वर्षहरुमा भन्दा यस वर्ष बढी संक्रमण देखिएको बताए । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञावलीले गत वर्ष भन्दा यसवर्ष मौसम प्रतिकुल देखिएकाले समस्या बढी देखिएको बताए । उनले मौसम परिवर्तनसंगै सुख्खा मौसम एकै पटक हुनाले सबै ठाउँमा बढी समस्या थप देखिएको बताए । रामपुर अस्पतालका प्रमुख डाक्टर कथितराज घिमिरेले सडक लगायतका पूर्वाधार अझै व्यवस्थित नभएकाले बढी धुलो उत्पन्न भएकाले श्वास प्रश्वास सम्बन्धी समस्या अधिक देखिएको बताए । उनले धुलोबाट बच्न सर्वप्रथम आफै सजक आग्रह गर्दै, यात्रा गर्दा मास्कको प्रयोग गर्ने, यात्रा सकिएपछि सफा पानीले आँखा तथा मुख सफा गर्ने, गरेमा केही हदसम्म धुलोबाट उत्पन्न समस्या न्यूनिकरण गर्न सकिने बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *