दोस्रो रामपुर महोत्सवको तयारी ९० प्रतिशत सकियो

इमानसिं राना
पाल्पा (रामपुर)
पाल्पाको दोस्रो व्यापारिक केन्द्र रामपुरमा शुक्रबार देखि सुरु हुन लागेको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार’ भन्ने नाराका साथ रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाको आयोजनामा हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ । महोत्सव हुन गैरहेको रामतुलसी माध्यमिक विद्यालयको खेल मैदानमा संघले पत्रकार सम्मेलन गरी मेलाको अन्तिम तयारीको बारेमा जानकारी दिएको छ । मेलाको तयारीका बारेमा जानकारी दिदै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मेलाको लागि आवश्यक आन्तरिक तयारी सकिएको र मेला स्थलमा पनि ९० प्रतिशत बढी काम सम्पन्न भएको जानकारी दिए । उनले भने, ‘ मेला परिसरको ९० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम आज सकिदै छ ।’ ढकालले स्टल निर्माणका काम सम्पन्न भएको र मञ्च सजावाटका काम बाँकी रहेको बताए । कृषि, उद्योगको प्रवद्र्धन, कला संस्कृति, ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको संरक्षण गरी पहिचान कायम राख्नु,संघको संस्थागत दिगोपन संगै भवन निर्माणको लागि सहयोग जुटाउन मेलाको आयोजना गरिएको हो ।
मेलामा स्थानीय उत्पादन, प्रतिष्ठित उद्योग बाट उत्पादित स्तरिय वस्तु सहितको ३ सय १० भन्दा बढी स्थलहरु रहने छ । ढकालले दर्शकहरुको सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र सुरक्षा गार्डको व्यवस्था गरिएको बताए । महोत्सवको आकर्षणको रुपमा पर्यटकिय गन्तव्यको रुपमा रहेको तालपोखरामा बोटिङ्ग, प्यारागलाईडिङ्ग, हेलिकप्टर बाट मनोरम दृश्य अवलोकन, फोटो पर्दशनी, चिडिया घर, राष्ट्रिय स्तरमा चर्चित क्लव र भारतका क्लवहरुको सहभागीता सहितको इन्डो नेपाल भलिबल, दोस्रो रामपुर डान्स आईडल, कलाकारहरुको प्रस्तुति सहित बालउद्यान रहनेछ । मेलाको शुक्रबार नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ११ बजे समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै समुद्घाटनको अवसरमा गण्डकी बेसी क्षेत्रको संस्कृति झल्काउने झाँकी प्रदर्शन सहित प्यारागलाईडिङ्गको परिक्षण उदान सहित आकाश बाट पुष्प वृष्टी गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनको अवसरमा संघका मनोनित सदस्यहरुलाई शपथ ग्रहण गराईएको थियो । कार्यक्रममा महोत्सवको संरक्षकको रुपमा रहेको रामपुर नगरपालिका नगरप्रमुख रमणबहादुर थापाले मेलालाई सभ्य र भव्य रुपमा सफल पार्न सम्पूर्ण सरोकारवालाहरु खट्नु आवशयक रहेको बताए । पत्रकार सम्मेलन प्रचार प्रसार उपसमितिका संयोजक छवि खनालले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । रामपुर र चापाकोट क्षेत्रमा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको पत्रकार सम्मेलन संघका वाणिज्य उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको स्वागत र वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईको सञ्चालनमा भएको थियो ।

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *