दोस्रो रामपुर महोत्सवको आय व्याय सार्वजनिक, २६ लाख रुपैयाँ बचत

इमान सिं राना
पाल्पा(रामपुर), जेठ २/
रामपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाबाट २६ लाख बढी रकम बचत गर्न सफल भएको छ । गत पुस २७ देखि माघ ८ गते सम्म बेझाँडमा भएको मेलामा संघले २६ लाख २७ हजार ८ सय २ रुपैयाँ बचत गर्न सफल भएको हो । स्थानीय उत्पादन प्रवद्र्धन, कला संस्कृति, ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको संरक्षण गरी रामपुर सहित गण्डकी बेशी क्षेत्रको पहिचान कायम राख्ने र संघको भवन निर्माणको लागि सहयोग जुटाउने उद्देश्यका साथ भएको मेलामा १० करोड बढीको कारोबार संगै १ लाख ५० हजार बढी दर्शक भित्रयाउन संघ सफल भएको थियो ।

मेलाको उद्योग वाणिज्य संघले विहिबार झण्डै ४ महिना पछि आम्दानी खर्च सर्वजनिक गरेको छ ।
कार्यसमितिको नियमित बैठक पछि पत्रकारहरुको सहभागीतामा खर्च सार्वजनिक गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले आम्दानी तथा खर्च विवरण समय मै सार्वजनिक गर्ने भनिए पनि संघ,संस्था र दाताहरुले घोषणा गरेको सहयोग रकम आउन ढिलाई हुँदा समयमै घोषणा गर्न नसकिएको बताए । उनले १ करोड, १० लाख ८९ हजार ६ सय ५० रुपैयाँ आम्दानी भएकोमा ८४ लाख ६१ हजार ८ सय ४८ खर्च भएको जानकारी दिए । उनले कुल खर्च कटाएर संघले २६ लाख २७ हजार ८ सय २ रुपैयाँ बचत जानकारी दिए ।

बचत भएको रकम मध्ये संघले भवन निर्माणको लागि रकम छुट्याएर, केही व्यवसायिक हित कोषमा राख्ने र अन्य रकम पर्यटन प्रर्वद्धन, सांस्कृतिक सम्पदाको संरक्षण तथा सामाजिक कार्यमा खर्च गरिने संघले जनाएको छ । रामतुलसी माध्यमिक विद्यालयको खेल मैदानमा भएको मेलामा बालउद्यान, स्थानिय कृषि उत्पादन, अटोमोबाईल्स, होटेल सहितका २ सय ५० बढी स्थलहरु रहेको थियो । रामपुर उद्योग वाणिज्य संघका सभाहलमा सम्पन्न खर्च सार्वजनिक कार्यक्रम अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षता, प्रेस सल्लाहाकार छवि खनालको स्वागत, उद्योग उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको धन्यवाद र महासचिव खिम बहादुर केसीको सञ्चालनमा भएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *