देशका लागि काँग्रेस एक हुनुपर्छ : देउवा

हाम्रा संवाददाता
बुटवल, मंसिर ७/नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकढिक्का भएर अगाडि नबढे देश संकटमा पर्ने बताएका छन् । सभापति देउवाले सरकार अधिनायकवाद तिर लम्किरहेकाले आफुहरु एक भएर अघि नबढे मुलुक संकटमा पर्ने बताए । काँग्रेसले मंसिर अन्तिम साता काठमाडौँमा हुने महासमिति बैठकमा प्रस्तुत गर्ने राजनैतिक प्रस्ताव तयार गर्न सुरु गरेको प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रमलाई बिहीबार भैरहवामा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । उनले पार्टीलाई एकढिक्का बनाई अन्र्तघात रोक्नु पर्नेमा जोड दिए ।

काँग्रेसका नेता तथा कार्यकर्ताले आफैँ भित्र अन्र्तघात मात्रै गर्ने गरेको भन्दै सभापति देउवाले ‘अब पार्टी यसरी चल्दैन, पार्टी एकढिक्का बनाउँदै अन्र्तघात रोकि ओली सरकारको कडा विरोध गर्नुपर्ने बताए । ओली सरकार अधिनायकवाद तर्फ अगाडि बढेको दाबी गर्दै उनले पार्टीले संसद र बाहिर दुबैतर्फबाट सरकारको सशक्त विरोध गर्नुपर्ने धारणा व्यक्त गरे । पार्टीका कार्यकर्ताले आफ्नो विरोध गरेको तर ओली सरकारले गरेका गलत कार्यविरुद्ध कुनै आवाज नउठाएको पनि सभापति देउवाले गुनासो गरे । उनले पार्टीका केही नेताहरु सरकारको गलत कदम विरुद्ध नबोल्दा सरकार थप अधिनायकवाद तर्फ लम्किएको बताए ।’

मुलुकमा हत्या बलात्कार जस्ता घटना दिन प्रतिदिन बढ्दै छ । निर्मला हत्याकाण्डको दोषीलाई सरकारले बचाउँन खोजिरहेको छ, तर पनि हाम्रा नेताहरु सरकारको गलत कदम प्रति बोल्न सकेका छैनन् । अहिले मेरो विरुद्ध बोल्न सजिलो छ तर ओली विरुद्ध हाम्रो पार्टीको नेता किन बोल्दैनन् ? देउवाले प्रश्न गरे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको समेत बताए । उनले देशलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको दाबी गरे । भैरहवामा आयोजित प्रदेश नम्वर ५ को प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा प्रदेशका पार्टी केन्द्रिय सदस्य, आमन्त्रित केन्द्रिय सदस्य, पार्टी जिल्ला सभापति, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्य, महासमिति सदस्य, क्षेत्रीय सभापति, भातृ संघ एवं शुभेच्छुक संस्थाका प्रदेशस्तरीय सभापति, पार्टीबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *