दुई सय १४ जना विरामीले लिए छाला सम्बन्धी निःशुल्क सेवा

पाल्पा, असार १/बगनासकाली गाउँपालिका ९ चापपानीमा छाला रोग सम्बन्धी विरामीहरुले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना, चापपानी स्वास्थ्य चौकीको व्यवस्थापन र लुम्बिनी मेडिकल कलेज प्रवासको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा २ सय १४ जना विरामीहरुले सेवा लिएका हुन् ।

शिविरको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । शिविरको उद्घाटन गर्दै अध्यक्ष बस्यालले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको बताए । उनले विरामीहरुको सेवालाई मध्यनजर गर्दै गाउँपालिका भित्रका सबै स्वास्थ्य चौकीहरुमा बर्थिङ्ग सेन्टर र ल्याव सेवा सञ्चालनमा ल्याइने बताए । अध्यक्ष बस्यालले आर्थिक अभावका कारण कोही पनि उपचारबाट बञ्चित हुन नपर्ने भन्दै यदि कोही आर्थिक अभावमा उपचारबाट बञ्चित भए गाउँपालिकामा सम्पर्क राख्न आग्रह गरे । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले स्वास्थ्य मानिसको अत्यन्तै सवेदनशील रहेकाले स्वास्थ्य प्रति हेलचक्रयाई नगर्न सेवाग्राहीहरुलाई आग्रह गरिन् । गापाका स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीले समुदायमा लुकेर रहेका कुष्ठ रोगको पहिचनाका लागि सबै खाले छालाका रोगीहरुलाई बोलाएर उनीहरुको स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको बताए ।

शिविरमा १ सय ३५ जना महिला र ७९ जना पुरुष गरी २ सय १४ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । विरामीहरुलाई निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । शिविरमा छाला रोग विशेषज्ञ शर्मिला त्रिपाटीले कुष्ठ रोग लागेका कुनै पनि विरामी नभेटिएको र छाला रोगमा फंगलका रोगहरु बढी देखिएकाले सरसफाईमा ध्यान दिन विरामीहरुलाई आग्रह गरिन् । कार्यक्रममा वडा अध्यक्ष ठानेश्वर तिमिल्सेनाको अध्यक्षता, स्वास्थ्य उपसंयोजक ठानेश्वर बस्यालको सञ्चालनमा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •