दशैंपछि कार्यालय खुलेसँगै गुल्मीमा सेवाग्राहीको चाँप

गुल्मी, असोज २९/दशैंको बेला बन्द रहेका कार्यालयहरु खुलेसँगै कार्यालयहरुमा सेवाग्राहीको चाँप सुरु भएको छ । कार्यालयमा खुलेसँगै सोमबार र मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा विभिन्न सेवा लिनेहरुको चाप बढेको हो ।
दशैं सकिएपछि र तिहार आउन बाँकी रहेको सयमा जिल्ला प्रशासन कार्यालयमा भिडभाड बढने गर्दछ । दशैंमा पाँच दिनसम्म मात्रै सरकारी कार्यालय बन्द रहेका थिए । दशैंको सप्तमीबाट बन्द रहेका कार्यालयहरु दशैंपछि असोज २३ गते बिहीबारदेखि खुलेतापनि बिचमा २ दिन विदा भएसँगै दशैंको पूर्णिमासम्म दशैंको रौनक नसकिएकाले सेवाग्राहीहरु कार्यालयमा आएका थिएनन् । दशैं सकिए लगत्तै सोमबारबाट प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढेको छ । अन्य कार्यालयहरुमा भन्दा यो बेला नागरिता र राहदानी (एमआरपी) बनाउनेहरुको चाप बढ्ने गरेको छ ।
चाडपर्वको बेला धेरैको विदा भएकाले यो समयमा नागरिता लिनेहरुको भिडभाड बढ्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यही समयलाई सदुपयोग गरेर नागरिता, राहदानी (एमआरपी) लगायत बनाउन आउने भएकाले अन्य समयमा भन्दा बढी चाप हुने गरेको प्रजिअ पौडेलले बताए । सेवाग्राहीको चापलाई व्यवस्थित बनाउन नागरिक सहायता कक्ष पनि प्रशासनमा राखिएको छ  । सेवाग्राहीको चापलाई व्यवस्थित बनाउन र छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले व्यवस्था मिलाइएको प्रजिअ पौडेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले नागरिता २० जनाले प्रतिलिपी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धब पन्थीले बताए । दशैंपछि कार्यालय खुलेपछि पहिलो दिन ७५ जनाले नयाँ नागरिकता ३५ जनाले नागरिकताको प्रतिलिपी यसैगरि मंगलबार १ सयभन्दा बढीले नागरिकता बनाउन सेवाग्राही आएको पन्थीले बताए । नागरिकता लिनेहरुसँगै राहदानी (एमआरपी) बनाउनेहरुको संख्यामा पनि वृद्धि भएको छ । सामान्य समयमा २५ जनाले राहदानी (एमआरपी) लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । दशैंपछि भने सोमबार मात्रै ५९ जनाले राहदानी (एमआरपी)को लागि फारम पेश गरेको जिल्ला प्रशासन कार्यालल गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । काठमाडौंबाट राहदानी बनाउनको ४६ जनाले सिफारिस लगेको प्रशासकीय अधिकृत पाण्डेको भनाई छ । राहदानी (एमआरपी) बनाउनेहरुले एकै दिनमा २ लाख ८० हजार राजस्व जम्मा भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । अन्य समयमा भन्दा दशैं तिहारको बिचमा प्रशासनमा सबै सेवा लिनेहरुको संख्यमा वृद्धि भएको पाण्डेयले बताए ।                    –अनिल खत्रीबाट