तालपोखरामा आन्तरिक पर्यटकहरुको चाप बढ्यो

इमान सिं राना
पाल्पा (रामपुर)कार्तिक १
१/ मिनी फेवातालको रुपमा चर्चा पाएको रामपुर ६ तालपोखरामा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चाप बढ्दै गएको छ । भ्रमणका लागि उपयुक्त मौसम सुरु संगै चाडपर्वका कारण तालपोखरा घुम्न आउने पर्यटकको संख्यामा ह्वातै वृद्वि भएको तालपोखरा संरक्षण समितिले जनाएको छ । केही समय अघि सम्म दैनिक ५० जना भन्दा बढी डुङ्गा सयर गर्न पुग्ने गरेकोमा दशैं सँगै अहिले दैनिक ३ सयको हाराहारीमा घुम्न जाने बाहेक डुङ्गा सयर गर्न पुग्ने गरेको रेखदेखमा खटिदै आएका स्वयम सेवकहरु बताउँछन् । स्वयम सेवकको रुपमा काम गर्दै आएका स्थानीय कमल भण्डारीले दशैं सुरु भए यता दैनिक ३ सय बढीले डुङ्गा चढ्ने गरेको र अवलोकनका लागि पनि सयौं आउने गरेको बताए । उनले भने, ‘रामपुर आउने जो कोही तालपोखरा घुमेर जाने गरेका छन् । दशै तिहारमा रामपुर बाहिर रहेका स्थानीयहरु घर आउने र विद्यालय विदा हुनुका साथै भ्रमणको समय भएका कारणले पनि उपस्थिति बढी भएको हो ।’

स्थानीयको सक्रियतामा धनधान्याञ्चल मार्फत सहयोग जुटाई फेवातालको स्वरुपमा निर्माण गरिएको तालमा घुम्न र मन्दिर दर्शनका लागि गत वर्ष फागुनमा शिवरात्री देखि खुल्ला गरिएको थियो । खाली रहेको खुल्ला चौरमा हाल डुङ्गा चलेको देख्दा घुम्न जानेहरु पनि दंग पर्छन् । कृतिम पोखरीमा डुङ्गा सञ्चालन भएको खबर सुन्ने र फोटो नियाल्नेहरु तालमा पुग्दा आनन्दको अनुभुति भएको बताउँछन् । जागरिको शिलसिलामा दैलेखमा कार्यरत रहेका रामपुर ५ का थानेश्वर न्यौपानेले परिवारको साथमा तालपोखरा पहिलो पटक घुम्न आएको बताउँदै ताल पोखरा रामपुरकै एक मुख्य गन्तव्यको रुपमा रहेको बताए । उनले भने, ‘फोटो र भिडियोमा देख्दा तालपोखरा कति खेर पुगौं भन्ने भएको थियो । प्रत्यक्ष अवलोकन गर्न पाउँदै उत्साहित छु ।’

ताल अवलोकनका लागि पश्चिमको नेपालगञ्ज, पोखरा लगाएत गण्डकीबेशी क्षेत्र सहित देशका विभिन्न स्थानबाट पुग्ने गरेका छन् । साथै क्यानडा लगाएत देशका विदेशी नागरिक समेत पुग्ने गरेको समितिले जनाएको छ । पाल्पाको रामपुर घुम्न र काम विशेषले आउने जो कोही तालपोखरा पुग्ने गरेका छन् । बुधबार रामपुरको अवलोकनका लागि आउने क्रममा तालपोखरा पुगेका पोखराका विमला हिराजनले रामपुर आफुले सोचेको भन्दा पनि ठूलो क्षेत्र रहेको बताईन् । उनले तालपोखरामा रामपुरका स्थानीयहरुको मेहेनत देखेर दंग परेको बताईन् । उनले भनिन्, ‘कास्कीको ताल बाराहीको झल्को दिने गरि निर्माण गरिएको तालमा पानी सफा राख्न सके अझ सुन्दर देखिन्थ्यो की ? जे होस् स्थानीयहरुको प्रयास प्रशंसा योग्य छ ।’

तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले पर्यटकको चाप बढ्नुले तालपोखराको क्षेत्र फराकिलो हुँदै गएको संकेत गरेको बताउँदै संरक्षण समिति पनि यस तर्फ लागि परेको बताए । उनले पर्यटकको चापलाई मध्यनजर गर्दै तालपोखरा संरक्षण समितिले नियमित सरसफाई संगै डुङ्गा चालक थप गरेको बताए । २ जनाले डुङ्गा चलाउँदै आएकोमा अहिले ४ जना चालक सहित थप स्वयम सेवक समेत परिचालन गरिएको देवकोटाले बताए । समितिले पर्यटकको चापलाई मध्यनजर गर्दै डुङ्गाको संख्या थप गर्ने तयारी गरेको छ । रामपुर नगरपालिकाकै प्रमुख पर्यटकिय गन्तव्यको रुपमा परिचित बन्दै गएको तालपोखरा क्षेत्र ४ विघा क्षेत्रफलमा फैलिएको छ । तालपोखरा क्षेत्रमा जलेश्वर महादेवको मन्दिर सहितको ताल र फुलबारी सहितको पार्क समेत रहेको छ । तालमा ३ वटा डुङ्गा संञ्चालनमा रहेका छन् ।

  • 41
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    41
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *