तानसेनमा बढे पर्यटक, बढेन बसाई

सुशिल नेपाल
पाल्पा, तनहुँ जिल्लाको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणका क्रममा पाल्पा सदरमुकाम तानसेन आएकी शिक्षिका राधा घिमिरेले २ घण्टामात्र यहाँ बिताईन् । २ सय ७५ जना विद्यार्थीका साथ यहाँ आएकी उनले २ घण्टाको समयमा श्रीनगर, भगवती मन्दिर, नारायण मन्दिर, पाल्पा दरवार संग्राहालय, टुँडिखेलमा रहेको करुवा लगायतका स्थानको अवलोकन गरिन् । तानसेनको प्राकृतिक सुन्दरताका बारेमा सुनेकी तर आउन नपाएकी उनलाई यहाँको सुन्दरता र हावापानीले आकर्षित ग¥यो । तर घुम्न र हेर्न लायक स्थान न्यून हुँदा उनी र विद्यालयको समूहले केही घण्टामै तानसेन छाडे । ‘यहाँको स्वच्छ हावापानी, शितल मौसम, रमणीय बजारसंगै धार्मिक एवं पर्यटकीय क्षेत्र रमाईलो लाग्यो’ उनले भनिन् ‘तर हेर्न र घुम्न लायक स्थानहरु नजिकनजिक र न्यून हुँदा एक दिनपनि तानसेनमा बिताउन पाएनौँ ।’ ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना डोटीबाट भ्रमणमा आएका दिलिप साउद सहित २३ जना कर्मचारी पनि केही घण्टाको बसाईपछि तानसेनबाट फर्किए । ‘श्रीनगर, टुँडिखेल, दरवार अवलोकन ग¥यौँ,’ साउदले भने,– ‘तानसेन प्राकृतिक सुन्दरताले धनी भएपनि पर्यटकहरु भुलाउँने स्थानहरु प्रसस्त नहुँदा आजै फर्किन थाल्यौ ।’ तनहुँबाट आएकी घिमिरे र डोटीबाट आएका साउदको समूह मात्र होइन । पछिल्लो एक महिनामा तानसेनमा सयौं भ्रमण समूह आए । ति पर्यटकहरु तानसेनमा एक दिन वा एक रातभन्दा बढी बसेनन् । साँझ आएका पर्यटकहरु बिहान फर्किए त बिहान आएका पर्यटकहरु केही घण्टाको अवलोकन पश्चात तानसेन छाडे । विशेषगरी विद्यालय, समूह तथा सहकारीबाट अध्ययन अवलोकनका लागि तानसेन आउने पर्यटकले अहिले पनि यहाँ चहलपहल छ । श्रीनगर, पाल्पा दरवार, भगवती मन्दिर, शित्तलपाटी, टुँडिखेल, नारायणस्थान लगायतका स्थानमा पर्यटकको चहलपहल छ । तानसेन बजार बाहिर भैरवस्थान मन्दिर, रानीमहलमा पनि पर्यटकको चहलपहल बढेको छ । तर उनीहरुको एक रातको बसाई पनि तानसेनमा छैन । होटल व्यवसायी भन्छन् ‘पर्यटनको क्षेत्रमा बेलाबेलामा जति ठूला–ठूला कुरा हुने गरेपनि पाल्पाका पर्यटकहरु भुल्ने ठाउँ नै छैनन् । त्यसकारण यहाँको होटल व्यवसाय फस्टाउन सकिरहेको छैन् ।’ यहाँको पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर अघि नबढ्दासम्म विकास नहुने व्यवसायीको भनाई छ ।
पर्यटकका यस्ता गुनासो :
तानसेनको बारेमा पर्यटकहरुले जे जस्तो सुनेका हुन्छन् त्यो यहाँ आएपछि भने पाउँदैनन् । ‘तानसेन आफैमा प्राकृतिक सुन्दरताले परिपूर्ण भएपनि यहाँको पर्यटकीय तथा धार्मिक स्थलहरु व्यवस्थित रहेनछन्,’ दमौलीबाट आएकी राधा घिमिरेले भनिन् ‘घुम्न त घुम्यौँ तर त्यसको ऐतिहासिकताको बारेमा न कतै बोर्डमा लेखेको पायौँ, न त कतैबाट जानकारी नै पायौँ ।’ श्रीनगरमा बनेको भ्यू–टावरमा चढने मन भएपनि भुँई चर्केको देखेर नचढी फर्केको उनले बताइन् । तानसेन पुरानो शहर हो भनेर सुनेपनि शहर आधुनिक बन्दै गएको, सवारी पार्किङ गर्ने उपयुक्त स्थान नभएकोले टुँडिखलेमा सवारी पार्किङ गरेर विभिन्न स्थानहरु घुम्नुपरेको लगायतका गुनासो गरिन् ।
विडम्वनाको कुरा :
पाल्पाले पर्यटनको नारा बोकेपनि पर्यटनको क्षेत्रमा उल्लेखनीय कामहरु हुन नसकेको होटल व्यवसायी राजु महर्जन बताउँछन् । ‘पाल्पामा पर्यटक भुलाउने स्थाननै छैनन्’– ‘पर्यटकले यहाँका पर्यटकीय तथा धार्मिक स्थानहरुको सूचना लिन नसक्नु, पर्यटकलाई गाईड लाइन नहुनु जस्ता कारण पर्यटकहरु पाल्पा भुल्दैनन् ।’जिल्लामा पर्यटनको क्षेत्रमा कुरा बढी र काम कम हुँदा विकास हुन नसकेको उनको धारणा छ । भगवती गुठी संरक्षण समितिका अध्यक्ष राजेश्वर उदय जिल्लामा कति पर्यटक आए भन्ने रेकर्ड नहुँनु विडम्बना रहेको बताउँछन् । ‘यहाँ आउने पर्यटकको रेकर्ड कुनै निकायसंग छैन त्यो विडम्वनाको कुरा हो,’ उनी भन्छन्– ‘रेकर्ड राख्नका लागि जिम्मेवार निकाय भैदिएको भए जिल्लाको पर्यटक प्रबद्र्धनमा सहयोग पुग्ने थियो ।’ धार्मिक तथा पर्यटकीय स्थलको जानकारी लिने स्थान नहुँदा तानसेन आउने पर्यटकहरु देशमै प्रसिद्ध रानीमहल र भैरवस्थानसम्म नपुगी फर्किन्छन् । भ्रमणमा आउने विभिन्न जिल्लाका स्वदेशी पर्यटकहरु बसमा आउँछन् । रानीमहलसम्म बस पुग्दैन् । हिँडदै तथा अन्य सवारी रिर्जव गरेर जानका लागि पर्यटकलाई गाईड छैन । भैरवस्थान धार्मिक स्थल हो । यातायातको सुविधा भएपनि पर्यटकलाई गाईड नहुँदा भैरवस्थान पनि भ्रमणका क्रममा आउने पर्यटकहरु कमै मात्रामा पुग्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *