तानसेनमा पाल्पाली वस्तु निर्यात गर्नेबारे छलफल

कृष्ण पोखरेल
पाल्पा, जेठ १/पाल्पामा उत्पादन भएका वस्तु, सेवा तथा सरसमानको विश्वव्यापी बजारीकरणको लागि तानसेनमा अन्तक्र्रिया भएको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य भएपछि १६४ राष्ट्रमा नेपाली सरसमान निर्यात गर्न पाउने कानुनी बाटो खुला भएकोले पाल्पाली वस्तु बाहिर पठाउने विषयमा छलफल भएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र पाल्पा उद्योग वाणिज्य संघको सहयोगमा विश्व व्यापार संगठनको स्थानीयकरण तथा स्थानीय वस्तु तथा सेवा पहिचान सम्बन्धी कार्यक्रममा पाल्पाबाट उत्पादित वस्तु तथा सेवाको बारेमा चर्चा गरिएको हो । पाल्पाली ढाका, करुवा, अदुवा, बेसार, कफी, जडिबुटी, कृषि उत्पादन, मह, दूधजन्य पदार्थ छुर्पी तथा दूधका परिकार लगायतका वस्तुहरु उत्पादन गरी बाहिरी मुलुकमा निर्यात गर्न सकिने उद्योगी तथा व्यवसायीहरुले बताए । गुणस्तरीयमा उत्कृष्ट रहेका सरसमान तथा वस्तुहरुको परीक्षण गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याव नहुदा बाहिरी मुलुकमा निर्यात गर्न समस्या रहेको व्यवसायीहरुले बताए । बाहिरी मुलुकमा जिल्ला–जिल्लाबाट सरसमान निर्यात गर्ने हो भने सरकारले सबैभन्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याव स्थापना गर्नुपर्ने, भन्सारमा सहजीकरण गर्नुपर्ने, प्रयाप्त कच्चा सामग्रीको व्यवस्था हुनुपर्ने, कृषि पेशालाई सम्मानित पेशाको दर्जा दिनुपर्ने, भारतीय सरसमानको नेपालमा सहज पहुँच जस्तै नेपाली सरसमानको समान पहुँच भएमात्र नेपाली सरसमानले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने पाल्पाली नागरिकहरुले जोड दिए । पाल्पाली करुवा उद्योगीहरुले कच्चा समान र कामदारको अभावको कारण माग अनुसार उत्पादन हुन नसकेको, ढाका व्यवसायमा कामदारको अभाव र अन्य स्थानमा उत्पादन भएका ढाका पाल्पाली भनेर विक्री हँुदै आएको गुनासो उद्योगीहरुले गरे ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले पाल्पामा उत्पादित वस्तुहरु पनि विश्व बजारमा विक्री हुने गरी गुणस्तरीय रहेको बताए । कार्यक्रममा मन्त्रालयका उपसचिव रामकृष्ण तिवारीले विश्व व्यापार संगठनको परिचय, फाईदा, बेफाइदा, नेपालको अवस्था, नेपाली अर्थतन्त्रमा पारेका प्रभाव लगायतका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत नवराज आचार्यले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव यादवसिंह कार्कीले गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *