तानसेनका टोल–टोलमा मालश्री : स्व.होनीमायाको विरासत जोगाउँदै रामबहादुर गन्धर्व

रामचन्द्र रायमाझी

पाल्पा, असोज २७/
‘जय देवी भैरवी गोरखानाथ, दर्शन दिए है नवदुर्गा भवानी’

‘कति सुत्यौ हे नन्दालाल, उठपति कृष्ण तिमी स्नान गरी जाऊ रे…’

घटस्थापनाका दिनदेखि तानसेनका चोक–चोकमा बिहानै सुनिने यी मालश्री र विवाहस गीतका भाकाहरु हुन् । तानसेन नगरपालिका ६ का ६७ वर्षका रामबहादुर गन्धर्व हातमा सारंगी लिएर भाकाहरु गुनगुनाउँदै बिहान तीन बजे घरबाट निस्कन्छन् । कतिपय स्थानीयहरुले सुतिरहेको अवस्थामा निन्द्रा खल्बलिएको भन्दै झिजो मान्ने गर्छन् भने, कतिपयले उनका गीतका भाकाहरु सुन्नका लागि घरका छतबाट नियालिरहेका हुन्छ । वास्तवमा उनी कला संस्कृतिको संरक्षणका लागि भन्दै मालश्री र विवाहसका भाकाहरु सारंगी को धुनमा गुनगुन्याउँदै तानसेनका चोक–चोकमा पुग्छन् । बडादशैं आएको झल्को दिने यी भाकाहरु पछिल्लो समयमा हराउँदै गएपछि तानसेनका केही कलाकारहरुको आग्रहमा गन्धर्वले गीत गाउँदै हिडेको हाँस्यकलाकार किरण चित्रकारले बताए ।

विगत दुई वर्ष अघिदेखि बडादशंैका बेला सार·ीको धुनमा गुञ्जिने मालश्री गीत सुन्न नपाएका तानसेनवासीहरुले यस वर्ष भने सुन्न पाएका छन् । विगतमा घटस्थापनादेखि अष्टमीसम्म राति एक बजेबाट बिहान मिरमिरे उज्यालो नहुँदासम्म मालश्री र विवाहस गाउने रामबहादुरका सहयात्री होनीमाया गन्धर्वको निधनपछि यस्ता भाकाहरु सुन्न छोडिएको चित्रकार बताउँछन् । तानसेनका चोक–चोकमा नवदुर्गाभरि मालश्री र विवाहस गाउँदै हिड्ने होनीमायाको २०७३ मा निधन भएपछि यस्ता भाकाहरु हराउन थालेका हुन् । मालश्री गीतहरुले दशैं आएको आभास दिलाउने भएपनि पछिल्लो समय नेपाली समाजमा यी गीतका भाकाहरु नयाँ पुस्तामा हस्तान्तरण नहुँदा मालश्री र विवाहस भाकाहरु हराउँदै गएको प्रति तानसेनका पुराना पुस्ताहरुले दुःख पोख्छन् ।

हाम्रो संस्कृति र हाम्रो परम्परालाई लोप हुन नदिनका लागि चोक–चोकमा मालश्री र विवाहसका भाकाहरु गाउँदै हिडेको रामबहादुर गन्धर्व बताउँछन् । उनी भन्छन्, कलासंस्कृति सबैको गहना भएकाले यसको संरक्षणका लागि सबैले सहयोग गर्नुपर्छ ।’ नेपाली समाजमा दशैंको समयमा यो धुन बजाउने गरेकाले दशैं धुन पनि भनिन्छ । प्रविधिको विकास सँगसँगै मालश्री धुनका लागि आधुनिक बाजागाजाको विकास भएकाले मालश्री हराउन थालेको स्थानीय दिनेश गन्धर्व बताउँछन् । उनी भन्छन्, ‘परम्परागत रुपमा गाउँदै आएका यस्ता भाकाहरु लोप हुन थालेकाले यसको जगेर्ना गर्न टोल–टोलमा गएर गाउन थालेका छौं ।’

रामबहादुर गन्धर्वसँगै दिनेश गन्धर्व, राजकुमार गन्धर्व र शालिकराम गन्धर्व पनि कलासंस्कृति जर्गेना गर्न लागिपरेका छन् । प्राकृतिक र धार्मिक सांस्कृतिक महत्व नै मालश्रीको विशेषता हो । जमरा राख्ने, नित्यनाथको पूजाआराधना गर्ने र वाद्यवादनहरुको पूजा गर्ने जस्ता गतिविधिहरुमा मालश्री अनिवार्य रुपमा गाइन्छ । मालश्रीको धुन जहाँसम्म सुनिन्छ त्यहाँसम्म भूत, प्रेत वा किरा फट्यांग्राले समेत केही नोक्सान नपु¥याउने जनविश्वास रहेको छ । जुन पछिल्लो समयमा संकटमा परेको छ । बिहान ३ बजेदेखि घरको ढोकामा गएर मन्द धुनमा मालश्री गीत बजाइने गर्दा नवदुर्गा प्रशन्न हुने विश्वास समेत रहेको छ । यसको महत्व नयाँ पुस्तामा फैलाउन नसक्दा मालश्री संकटमा परेको छ ।

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *