जेष्ठ नागरिक समाजका अमूल्य सम्पति हुन् : अध्यक्ष थापा

पाल्पा, जेठ ३/माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जेष्ठ नागरिक समाजका अमूल्य सम्पत्ति भएको बताएका छन् । शुक्रबार माथागढी गाउँपालिका ३ कसेनीमा जेष्ठ नागरिक सम्मान तथा परिचय पत्र वितरण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले जेष्ठ नागरिकहरुको समाज र राष्ट्रमा महत्वपूर्ण योगदान रहेकाले उनीहरु समाजका अमूल्य सम्पत्ति भएको बताएका हुन् । उनले ज्येष्ठ नागरिक समाजको गहना र सम्पत्ति भएकाले उनीहरूको सीप, दक्षता, समाजमा हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले जेष्ठ नागरिकहरुको लागि गाउँपालिकाले घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुको साथै निःशुल्क स्वास्थ्य बीमा समेत गरिदिएको बताए । उनले भने समाजमा जेष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन नआएकाले उनीहरुको सम्मानको लागि गाउँपालिकाले विशेष पहल गर्दै आएको जानकारी दिए । समाजमा जसले आफ्ना वृद्धवृद्धा बुबा आमाहरुलाई हेला गर्छन् उनीहरुलाई गाउँपालिकाले प्रदान गर्दै आएको सेवाबाट समेत बञ्चित गरिने अध्यक्ष थापाले बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपककुमार नेपालीले जेष्ठ नागरिकहरुलाई सरकारले उचित व्यवस्था गर्न नसकेको उल्लेख गर्दै पछिल्लो समयमा स्थानीय सरकारले सक्दो प्रयास गरिरहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका वडा प्रतिनिधि टीकाराम राना, नेकपाका वडा प्रतिनिधि मानबहादुर जिसी, कार्यपालिका सदस्य तारा रसाईली लगायतले आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रलाई समर्पित गरिसकेका जेष्ठ नागरिकहरुलाई समाजमा सम्मानपूर्वक बाँच्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा वडा ३ को वडा कार्यालयले वडा भित्र रहेका ३८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुको साथै परिचय पत्र वितरण गरेको हो । जेष्ठ नागरिक सम्मान तथा परिचय पत्र वितरण कार्यक्रमका संयोजक रामबहादुर थापाको अध्यक्षता सुकमाया परिवारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *