‘जीवनको बाँकी समय समाज सेवा र साहित्यमा : शर्मा’

पाल्पामा धेरै समयदेखि स्वास्थ्य क्षेत्रमा लागेका रुक्मागत शर्मा, गत सातादेखि एकाएक साहित्य क्षेत्रमा पनि चर्चाको शिखरमा पुगे । शर्माको कृति ‘खोसिएको खुसी’ कविता संग्रह विमोचित भएपछि चर्चित शर्मासंग नवजनचेतना दैनिकका संवाददाता रामचन्द्र रायमाझीले सम–समायिक विषयमा गरेका कुराकानी प्रस्तुत गरिएको छ ।


तपाईलाई कसरी चिन्ने, साहित्यकार कि स्वास्थ्यकर्मी ?
– लामो समय स्वास्थ्य सेवाको क्षेत्रमै समर्पित छु । त्यसैले पनि म स्वास्थकर्मी नै हुँ । सानै उमेरदेखि नै साहित्यमै रुची भएकाले पनि म कविता, मुक्तक गजल, कथाहरु लेख्दै आए । म आफुलाई साहित्यकार भन्दा पनि साहित्यकार बन्ने चहाना भएको मान्छु, । त्यसकारण साहित्य श्रृजना गर्ने साहित्यकारका साथै पेशाले स्वास्थ्यकर्मी नै भनेर चिन्दा हुन्छ ।
तपाईको पे्ररणाको स्रोत नि ?
– मलाई विश्वास गरेर आउनु हुने विरामीहरुको दुःख पीडा, साथीभाईहरुले पोख्ने गरेका वेदना, व्यथा, समाजमा घटेका विकृति विसङ्गती, शारीरिक र मानसिक रुपमा थकाईको महशुस हुँदा जीवन के हो त ? भन्ने प्रश्नले पिरोल्छ, भावनात्मक रुपमा ओत प्रोत भएर भावना छचल्किन्छन् । त्यसैले कविता कोर्न मन लाग्छ ।

साहित्य के हो ?
मानिसको अन्तरमनमा रहेका कथा व्यथा, मन्थनलाई उतार्ने माध्यम साहित्य हो ।

स्वास्थ्य र साहित्यमा के फरक पाउनु भएको छ ?
– स्वास्थ्य र साहित्य मानव जीवनका अभिङ्ग अङ्ग हुन् ।

साहित्यमा अहिले काम भन्दा नाम कमाउनेको होडबाजी छ, होइन ?
– राम्रो कुरा गर्नु भो । पछिल्लो समयमा यस्तै भइरहेको छ । यस क्षेत्रमा प्रवेश गर्ने केही त्यस्ता व्यक्तिहरुले उश्रृङ्खल रचनाहरु गरेर साहित्यलाई ओझेलमा पार्ने प्रयास गरिरहेका छन् । यो दुःख कुरा हो ।

साहित्य यात्रा कहिलेदेखि शुरु गर्नु भयो ?
– १६ वर्ष देखि कविता, गजल, कथा निवन्धहरु लेख्थे । विद्यार्थीकालमै विद्यालय र जिल्लास्तरीय सम्मका कविता, गजल, कथा, हाजिरीजवाफ प्रतियोगिताहरुमा भाग लिँदा सधँै उत्कृष्ठ हुन्थे । त्यसैको प्रभावबाट पहिलो पटक ‘झ्याल र बार्दलीको उनको र मेरो कथा’ नामक कविताबाट शुरु गरेको हु ।’

‘खोसिएको खुसी’ तपाईको कस्तो कविता संग्रह हो ?
– टुक्रे ढाँचामा प्रकाशित कविता संग्रह हो । कविता संग्रहमा अधिकांश कविताहरु प्रेमको मर्म, स्वच्छन्द यौवनको चाहना, अतृप्त यौवन कुण्ठा, प्रकट, किशोर अवस्थाको छट्पटीदेखि राजनीतिक, सामाजिक, पर्यटकीय क्षेत्रमा देखिएका विकृतिका विषयका ४ सय २३ वटा कविता समावेश गरेको छु ।

तपाई समाजिक व्यक्तित्व पनि हो, योगदान के छ ?
– तपाईले भने जस्तै म स्वास्थ्य, साहित्य क्षेत्रमा मात्रै होइन अन्य सामाजिक, धार्मिक, राजनीतिक क्षेत्रमा पनि मेरो योगदान रहेको छ । एक हप्ता अघि मात्र मैले आफ्नो ५० औँ जन्मोत्सवको अवसरमा दमकडा माविका दृष्टिविहिन विद्यार्थीका लागि ५० हजार, भुसलडाडाँमा निमार्णधीन वृद्धाश्रामको लागि ५० हजार, तानसेनस्थित बसन्त गुठी र बडिज्ञानटोल गुठीमा २५/२५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छु, भने सिर्जनशील अपाङ्ग केन्द्र काजीपौवाका ५३ जना व्यक्तिहरुलाई भित्ते घडी र नाडी घडी प्रदान गरेको छु ।

अन्तमाः तपाईको विचार ?
– मानिस आफ्नो लागि नभई समाज र राष्ट्रको हितका लागि बाँच्न सिक्नुपर्दछ । मेरो भर्खरै प्रकाशित ‘खोसिएको खुसी’ कविता संग्रह बजारमा आएको छ । जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह दिनुभएमा अवश्य पनि आगामी दिनमा थप कृतिहरु प्रकाशनमा टेवा मिल्ने छ । निकट भविष्यमै लघु कथा संग्रह ल्याउदै छु । अब बाँकी जीवन स्वास्थ्य, सामाजिक र साहित्य क्षेत्रमा बिताउने छु ।

  • 298
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    298
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *